मस्जिदमा चटयाङ पर्दा तेह्रको मृत्यु

ढाका : बंगलादेशको उत्तरपूर्वी सरस्वतीपुर गाउँमा स्थानीयले तयार गरेको एक मस्जिदमा स्थानीय व्यक्तिहरू रमजानको प्रार्थना गरिरहेका बेला चटयाङ पर्दा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको र १५ घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति परेको चटयाङका कारण मर्नेमा उक्त मस्जिदका इमाम पनि परेको बताइएको छ । उक्त समयमा सुनामगन्ज जिल्लाको उक्त गाउँका ३५ व्यक्ति प्रार्थना गरिरहेको बताइएको छ । स्थानीय प्रहरी प्रमुख बायस आलमले इमामसहित १३ व्यक्तिको घटनास्थलमै मृत्यु भएको र केही व्यक्तिको शरीर तथा अनुहार जलेको देखिएको जानकारी दिए । उनले अन्य १५ व्यक्ति घाइते भएको र ६ व्यक्तिलाई अस्पताल भर्ना गरिएको पनि बताए । सरस्वती नदीमा बाढी आउँदा स्थानीय व्यक्तिहरूले राम्रो मस्जिदमा जाननसक्दा स्थानीय छाप्रोको एक कोठालाई प्रार्थनास्थलमा परिणत गरेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया