अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले दुई करोड बढी अमेरिकी नागरिक कोरोना संक्रमित हुनसक्ने आशंका गरेको छ ।
स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोना भाइरस संक्रमण भइसकेको हुनसक्ने अनुमान गरेका हुन् ।
संक्रमित र अस्पताल भर्ना हुनेहरूको संख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो कुरा बाहिर आएको हो । अमेरिकामा संसारकै सबैभन्दा बढी २४ लाख जनामा संक्रमण देखिएको छ।
त्यहाँ हालसम्म एक लाख २२ हजार ३ सय ७० जनाको ज्यान गइसकेको छ। केही दिनदेखि केही दक्षिणी र पश्चिमी राज्यहरूले सर्वाधिक संक्रमण भएको विवरण सार्वजनिक गरिरहेका छन्।
वाशिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेको छ। तर ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो संख्या १ लाख ४६ हजार मात्र हुने उसको भनाइ छ।
‘अहिलेका लागि हाम्रो सबैभन्दा उत्कृष्ट अनुमान भनेको जति संक्रमणहरू थाहा भएका छन् वास्तवमा ती हरेक संक्रमणमा अन्य १० संक्रमण छन्,’ सीडीसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले संवाददाताहरूलाई भने। त्यसको कारण लक्षण देखिएकाहरूमा मात्र परीक्षण हुनु र अन्यमा नहुनु भएको उनले बताए।
उनले भने, ‘हामीले अपनाएको विधिका आधारमा मार्च, अप्रिल र मे महिनामा हामीले सम्भवतः महामारीको १० प्रतिशत मात्र पहिचान गर्न सक्यौँ होला।’
उनले पाँचदेखि आठ प्रतिशतसम्म जनसंख्या भाइरसको सम्पर्कमा आइसकेको भन्दै अमेरिकीहरूलाई सामाजिक दूरी कामय गर्न, मास्क लगाउन र हात धुन आग्रह समेत गरे। (बीबीसी)
प्रतिक्रिया