कञ्चनपुर । भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको संक्रमण देखिएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ।
औलोको संक्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत जाँच गरिने भएको हो।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई ज्वरो आएमा कोरोना भाइरसको जाँचसँगै औलो रोगको जाँच अनिवार्यरूपमा गर्नुपर्ने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयलाई आग्रह गरेका छन्।
‘समयमै रोगको पहिचान गरी उपचार गरेर मृत्युबाट जोगाउन औलोको परीक्षण गर्न आग्रह गरेका छौँ,’ उनले भने, ‘भारतबाट नेपाल आउने व्यक्तिमा औलो रोगको सङ्क्रमण देखिएको छ, आयातित औलो रोगीको अनुपात आधाभन्दा बढी भएको हुनाले हाल क्वारेन्टाइनमा बसिरहेका व्यक्तिमा अनिवार्यरूपमा औलो जाँच गरिनुपर्ने देखिएको छ।ु
उनका अनुसार क्वारेन्टाइनमा बसेका डडेल्धुरा जिल्लाका एक बासिन्दामा अत्यन्त कडा खालको पि फाल्सीपारम औलो र कञ्चनपुर जिल्लाको देखतभूली र लालझाडीमा गरी तीन व्यक्तिमा पि भाइभेक्स औलोको संक्रमण देखा परेको छ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले लालझाडीको भानु मावि र देखतभूलीका गरी भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका तीन जनामा औलोको संक्रमण देखा परेकोमा तत्कालै परीक्षणपश्चात औषधि निःशुल्करूपमा उपलब्ध गराइएको बताए।
स्वास्थ्य कार्यालय कञ्चनपुरले क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना भाइरसको आरडिटी परीक्षणसँगै छुट्टै कीटको माध्यमबाट औलोको संक्रमण भए नभएकोबारे परीक्षण गर्ने व्यवस्थासमेत गरेको छ।
प्रतिक्रिया