काठमाडौँ । कोभिड–१९ को संक्रमण मंगलबार एकै दिन ९० जनामा देखिएको छ । यो हालसम्म एकैदिन सबैभन्दा बढिमा देखिएको संक्रमण हो । यसअघि एकैदिन ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एकै दिन १५ जिल्लाका ९० जनामा देखिएसँगै संक्रमितको सख्या ७७२ पुगेको जानकारी दिए । सोमबार मात्रै ७९ जनामा संक्रमण देखिएको थियो । महोत्तरीमा दुई, जुम्लामा दुई, बारामा तीन, रौतहटमा २२, सिराहामा पाँँच, धनुषामा एक, बाँकेमा आठ, रुपन्देहीमा एक, अर्धाखाचीमा दुई, गुल्मीमा दुई, कैलाली र अछाममा एक एक, स्याङ्जामा दुई, सुर्खेतमा १२ र कपिलवस्तुमा २६ जनामा देखिएको बताए ।
मंगलबार संक्रमित भेटिएसँगै ४६ जिल्लामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म ७७२ संक्रमितमा ६८८ पुरुष र ८४ महिला छन् । हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एकरएक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
गुल्मीमा भने गाउँपालिका अध्यक्षलाई नै कोरोना संक्रमण देखिएको छ । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफुलाई कोरोना लागेको स्वघोषणा गरेका छन् । धुर्काेट गाउँपालिका अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी गराएका हुन् । छिमेकी गाउँमा समेत कोरोना संक्रमण देखिएपछि धुर्काेट गाउँपालिकाको जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालकको कोरोना चेकजाँच गर्दा आफ्नो कोरोना पोजेटिभ देखिएको र आफू सो समयमा गाउँपालिकाभन्दा बाहिर सदरमुकाम मात्रै गएको र आफ्नो गाउँपालिका निक्कै जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिका अध्यक्षमा नै कोभिड–१९ संक्रमण देखिएपछि गुल्मीका सबै स्थानीय तहका प्रमुख र तिनका सवारी चालक होम क्वारेन्टाइनमा बसेका छन् । जिल्ला स्थित राजनीतिक दलका प्रमुख पनि होम क्वारेन्टाइनमै छन् । संक्रमित पोखरेलसँगै गुल्मीका १० वटा स्थानीय तहका प्रमुख र २ वटा स्थानीय तहका उपप्रमुखहरु आइतवार समन्वय समितिले आह्वान गरेको बैठकमा सहभागी भएका थिए । समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले सबैको पीसीआर परिक्षण तयारी भइरहेकाले त्यसको रिर्पोट नआउँदासम्म होम क्वारेन्टाइनमै बस्न सबै जनप्रतिनिधिलाई आग्रह गरिएको बताए ।
प्रतिक्रिया