कस्तो मस्कट


काठमाडौं, ७ फागुन । खेलकुद प्रतियोगिताको पहिचानका रूपमा रहने ‘मस्कट’ले  आयोजनास्थलको दुर्लभ जनावरलाई समेट्नुपर्छ भन्छन्, जानकार । तर, छैटाँै राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट भने विवादास्पद देखिएको छ । केही साताअघि सार्वजनिक गरिएको उक्त मस्कटको टाउको जनावरको छ भने बाँकी शरीर
सबै मान्छेको ।
‘अहिले प्रतियोगिता को मस्कट केको भनेर छुट्याउन सकिँदैन, ’वरिष्ठ फाइन आर्टिस्ट रमेश खनाल भन्छन्, ‘टाउको जनावरको, बाँकी मान्छेको भाग राखेर के देखाउन खोजेको हो ?’  खनाल मस्कटमा जनावरको क्यारेक्टर नै नदेखिएको बताउँछन् ।
यति मात्र होइन, मस्कटको टाउकामा बाह्रसिङ्गे प्रयोग भएको प्रति टिप्पणी गर्दै उनी भन्छन्,
‘सुदूर पश्चिममा त कृष्णसार पो दुर्लभ मानिन्छ ।’
यता मस्कट डिजाइनर उदयराज राजभण्डारी अन्तर्राष्ट्रिय सन्दर्भमा मस्कट भनेको कार्टुनजस्तै भएको बताउँछन् । उनले त्यस्तो मस्कट जनावरको स्वरूपसँगै रमाइलो दिनेखालको हुने बताए ।
‘मस्कट खासमा समारोहमा रमाइलो गर्ने खालको हुनुपर्छ ।’  ४९ वर्षीय अप्लाइड आर्टिस्ट राजभण्डारीले भने, ‘खेलाडी र जनावरको अङ्गलाई मिसाएर
मैले कार्टुनका रूपमा मस्कट बनाएको हुँ ।’
लोगोका लागि भएको छनोट प्रतियोगितामा दोस्रो भएका राजभण्डारीलाई राखेपले मस्कटका लागि भने कुनै प्रतिस्पर्धा नै नगराई मस्कट बनाउने जिम्मेवारी
दिएको थियो ।
खनालले सुदूर पश्चिमको दुर्लभ जनावर बाह्रसिङ्गे नभएको बताए, ‘सुदूर पश्चिममा बाह्रसिङ्गे दुर्लभ होइन, कृष्णसार हो । यसअघिका संस्करणमा जिओलोजी विभागमा गएर अध्ययन गरेपछि मात्र मस्कटमा प्रयोग हुने जनावरबारे निर्णय हुन्थ्यो ।’
राष्ट्रिय खेलकुद परिषद्का पूर्व अधिकृत खनाल भन्छन्, ‘तर, अहिले त्यसलाई पूरै बेवास्ता गरिएको देखिएको छ ।’  राखेपले निर्णय गरी बाह्रसिङ्गेलाई समेटेर मस्कट बनाउन राजभण्डारीलाई जिम्मेवारी दिएको थियो । त्यसो त यसपटक प्रचार सामग्रीमा सुरुआतमै त्रुटि देखिएको थियो  । प्रतियोगिताको लोगोमा ‘छटांनुपर्नेमा डिजाइनमै ‘छैठाैएर आएको थियो । सार्वजनिक भएको केही सातापछि मात्र त्यसलाई सच्याइएको थियो ।

प्रतिक्रिया