कोरोनाले अधिकांश कार्यक्रम प्रभावित

काठमाडौं । कोरोना भाइरसका कारण सरकारीदेखि गैरसरकारी संस्थाले पूर्वनिर्धारित गरेका अधिकांश कार्यक्रम प्रभावित भएका छन् । गत पुसदेखि महामारीका रूपमा चीनबाट सुरु भएको कोरोना अहिले विश्वका अधिकांश देशमा फैलिएको छ ।

नेपालमा हालसम्म संक्रमित नभेटिएपनि उच्च निगरानी अपनाउन थालिएको हो । मन्त्रालयसहित विभिन्न सरकारी कार्यालयले आयोजना गर्ने पूर्वनिधारित ठूला सभा, सम्मेलन र कार्यक्रम स्थगित गरिसकेको छ । महिला तथा बालबालिका मन्त्रालयले मार्च ८ अर्थात् नारी दिवसमा गर्ने भनिएको कार्यक्रम कोरोनाकै कारण स्थगित भइसकेको छ ।

चैत्र १४ गतेबाट हुने एसईई परीक्षाको लागि समेत सजकता अपनाउनुपर्ने अवस्था आउन सक्ने देखिएको छ । मंगलबारमात्रै शिक्षा मन्त्रालयले कक्षा ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्रै सक्न निर्देशन गरिसकेको छ ।

कोरोना भाइरसकै कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश–१ र २ का प्रशिक्षण तथा भेलाहरू स्थगित भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सचेत हुन आह्वानसमेत गरिसकेको छ । नजिकिँदो फागु पूर्णिमामा पनि सकभर घरमै खेल्न प्रशासनले आग्रह गरिसकेको छ । कोरोनाबाट जोगिन भीडभाडबाट टाढा रहनुपर्ने, साबुनपानीले नियमित हात धुन पर्ने, आफन्तसँग अंकमालको साटो नमस्कार गर्नुपर्ने चिकित्सकले बताउँदै आएका छन् ।

कोरोनाकै कारण प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत भेला–सम्मलेन स्थगित गरेको छ । पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले अर्काे सूचना जारी नभएसम्म भेला, सम्मेलन नगर्न निर्देशन दिएको बताए । १४ औँ महाधिवेशनको लागि हुने अन्य तयारीका कार्यक्रम भने जारी रहने शर्माले बताए ।

‘विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर नेपाली कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरूका सबै तहका ठूला भेला, सम्मेलन र सभालगायतका कार्यक्रम आज (बुधबार)कै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिएसम्मलाई स्थगित गरिएको छ’, उनले भने ।

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले पनि यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ । कोरोना भाइरसको संक्रमणकै कारण सभा–सम्मेलन नगर्न सरकारले निर्देशन जारी गरेपछि प्रतिष्ठानले मंगलबार प्रेस विज्ञप्ति जारी गरी साहित्य सम्मेलन स्थगन भएको जानकारी गराएको हो । साहित्य सम्मेलनका लागि स्वदेश र विदेशबाट गरी २३७ वटा कविता प्राप्त भइसकेको थियो ।

सरकारले आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर, सभा–सम्मेलन आयोजना नगर्न निर्देशन जारी गर्दै आएको छ । ठूला सभा, सम्मेलन, महोत्सव, महायज्ञ, भेला, भोजभतेरका लागि अत्यधिक मानिसको जमघट हुने कार्यक्रम नगर्न भनेको छ । त्यस्तै निरन्तर रुघाखोकी, ज्वरोको संक्रमण देखिएमा तुरुन्त स्थानीय स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउनसमेत अनुरोध गरेको छ । कोरोनाकै कारण सरकारले नेपाल भ्रमण वर्ष–२०२० लाई स्थगित गरिसकेको छ ।

नेपालमा कोरोनाको प्रभाव नदेखिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकाहरूमा सरकारले कडाई गरेको छ । यता विश्वभर नै कोरोनाको त्रास उत्पन्न भएपछि नेपाली कामदारलाई विदेश जान समस्या भएको छ । विदेशमा रहेका करिब ४० लाख नेपाली कामदार पनि त्रासमा रहेका छन् । धेरै नेपालीले काम गर्ने मध्यपूर्वी एसियामा कोरोना संक्रमण फैलँदो छ ।

इरान, कतार, ओमान, कुवेत, बहराइन, दुबई, लेबनान, इजरायलदेखि मलेसियासम्म कोरोना पुगेको छ । ४४ हजार नेपाली कार्यरत दक्षिण कोरिया चीनपछि दोस्रो धेरै कोरोना प्रभावित देश बन्न पुगेको छ ।

प्रतिक्रिया