कोरोना भाइरसविरुद्ध र्याली

वीरगञ्ज । नोबेल कोरोना भाइरसविरुद्ध मंगलबार वीरगञ्जमा जनचेतना फैलाउने र्याली निकालिएको छ । चीनमा देखापरेको कोरोना भाइरस नेपालमा पनि प्रवेश गरिसकेकोले त्यसबाट सर्वसाधारणलाई बचाउने गरी एक कार्यक्रममार्फत वीरगञ्जमा जनचेतनामुलक र्याली निकालिएको हो । ग्रिन सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थी, समाजसेवी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको सहभागितामा वीरगञ्जको घण्टाघरबाट निस्केको र्याली माइस्थान, आदर्शनगर, घडिअर्वा लगायतको ठाउँ परिक्रमा गरी नोबेल कोरोना भाइरससम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपनिरीक्षक गंगा पन्त, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, जिल्ला ट्राफिकका प्रहरी निरीक्षक कमलराज पण्डित, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक निर्मल पनेरु, जिल्ला ट्राफिकका प्रहरी नायब निरीक्षक सूर्यबहादुर थापा, वीरगञ्ज महानगर स्वास्थ्य शाखाका हाजिर आलम, सुमनचन्द्र ठाकुर, रितेश जैसवाल, इन्दिरा लोहनीलगायत विद्यार्थी, स्थानीय प्रहरी प्रशासन तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता भने ग्रिन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए । यससँगै केही दिन अगाडि भारतबाट आउने कोरोना भाइरस संक्रमित चेकजाँच गर्न वीरगञ्ज भन्सार नाकामा ‘हेल्प डेक्स’ को पनि स्थापना गरिएको थियो । विभिन्न संघ संस्थाले पर्सामा कोरोना भाइरस फैलिन नदिन र यसबाट मानिसलाई बचाउन विभिन्न जनचेतना फैलाउँदै सतर्कता अपनाउने बारे जानकारी दिइँदै आइरहेका छन् ।

विश्वमै यो रोगको संक्रमण फैलिरहेका वेला विश्व स्वास्थ्य संगठनले नेपालमा पनि धेरै मानिसको आवतजावत हुने भएकोले यसबाट सतर्कता अपनाउन जरुरी रहेको बताएको छ । कोरोना भाइरसको संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखापर्ने भएकोले यस्तो लक्षण फ्लुसँग मिल्दोजुल्दो हुने भएकोले रुघाखोकी लागेका व्यक्तिबाट सतर्क रहन जरुरी रहेको पनि बताइएको छ । यस्ता लक्षण देखापरे नजिकको स्वस्थ्य संस्थामा गई चेकजाँच गराउनसमेत कार्यक्रममार्फत अपिल गरिएको छ ।

प्रतिक्रिया