काठमाडौं । सरकारले चिनको वुहानमा रहेका नेपालीका लागि आगामी शनिबार नेपाल वायु सेवा निगमको वाइडबडी विमान पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले विमान पठाउने निर्णय गरेपछि निगमले चिन पठाउने पाइलटसहितको टोली पनि छनोट गरेको छ । छनोट भएका पाइटलसहितको टोलीलाई बुधबार आवश्यक तालिम प्रदान गर्ने भएको छ ।
निगमका निर्देशक एंव पाइलट दिपुराज ज्वारचनले चीन जाने पाइलटसहितका अन्य सदस्य छानिसकेको जानकारी दिए । निगमले तीन जना पाइलट, ६ जना क्रु मेम्बर, दुई जना इन्जिनियर, एक जना लोड मास्टरसहित अर्का एक जना गरी १२ जनाको टोली छनोट गरेको छ । सबै १२ जनालाई बुधबार स्वास्थ्य मन्त्रालयको समन्वयमा निगमकै अपिसमा तालिम दिने भएको छ । ‘पाइलटसहितको क्रु मेम्बरलाई यात्रुसँग कसरी व्यवहार गर्ने, के गर्न हुने, के गर्न नहुने भन्ने विषयमा मन्त्रालयका प्रतिनिधिले तालिम दिनेछन्’, निर्देशक ज्वारचनले भने ।
निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको वुहान पठाउने छ । चीनबाट ल्याइने उनीहरूलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा राखिने छ । खरिपाटीका स्थानीयले यसअघि विरोध गर्दै आएकोमा मंगलबार सहमति भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकाय र स्थानीयबीच सहमति भएको हो । छलफलमा स्थानीयले विरोध नगर्ने प्रतिबद्धता जनाएका छन् । चीनबाट ल्याइने नेपालीको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ ।
नेपालीलाई क्वारेन्टाइनमा राख्न सरकारले १ सय ९९ वटा बेड तयार पारेको छ । कोरोना भाइरस संक्रमित क्षेत्रबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमानका चालक दलका सदस्य गरी ८५ जनालाई तालिम दिएको मन्त्री ढकालले बताए । चीनबाट स्वदेश फर्किन चाहने १ सय ८५ नेपालीलाई एकैपटक नेपाल ल्याउने र विमानस्थलमा स्वास्थ्य जाँच गरेर सिधै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ ।
विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिने मन्त्री ढकालले जानकारी दिए । सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १ सय ४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ । चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र संक्रमण नभएको पुष्टि भएपछि मात्र घर जान दिइने मन्त्री ढकालले बताए । उद्धारका लागि करिब १२ करोड रुपैयाँ अनुमानसहित बजेट पनि स्वीकृत गरेको छ ।
प्रतिक्रिया