निजीमा पढाउने नेताको नाम सार्वजनिक गर्ने

काठमाडौं, १६ साउन । एमाओवादी निकटको अनेरास्ववियू (क्रान्तिकारी)ले निजी विद्यालयमा पढाउने आफ्ना पार्टीका नेताको नाम सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ ।
गत १० देखि १५ साउनमा काठमाडौंमा भएको तेस्रो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हिमाल शर्माले आगामी असोजमा हुने भेलामा नेताका नाम सार्वजनिक गर्ने प्रतिवद्धता जनाए ।
क्रान्तिकारीले संगठनको राष्ट्रिय भेला ९ र १० असोजमा गर्ने निर्णय गरेको छ । अध्यक्ष शर्माले त्यतिबेला सम्ममा बिबरण संकलन गरी कुन नेताले आफ्ना छोराछोरी कहाँ पढाउछन् भन्ने सार्वजनिक गर्ने बताए ।
क्रान्तिकारीले सार्वजनिक विद्यालय सुधारका लागि नेताका छोराछोरी सामुदायिकमै पढाउनुपर्ने माग राख्दै आएपनि सफल हुन सकेको छैन् ।
क्रान्तिकारीले विदेशी नाम राखेका शिक्षण संस्थाको नाम परिवर्तन गर्न सबै विदेशी नामधारी शैक्षिक संस्थाका सञ्चालकहरुलाई सामूहिक भेला गरी अल्टिमेटम सहित दबाब दिने निर्णय गरेको छ ।
उसले निजी शिक्षण संस्थामा लगानी गर्ने केन्द्रीय सदस्यहरु शिक्षा मन्त्रालय र त्रिभुवन विशवविद्यालय अन्तर्गतका उच्च पदस्थ कर्मचारी, शिक्षक प्राध्यापकहरुलाई कारकाही गर्ने समेत निर्णय गरेको छ ।
अध्यक्ष शर्माले क्रान्तिकारीले निजीलाई नियन्त्रण र सामुदायिकलाई सुधारोन्मुखमा लग्ने रणनीति अपनाएको बताए । आफूहरुले तलबाट दबा दिएर माथिबाट नीतिगत परिवर्तन ल्याउने योजनामा रहेको क्रान्तिकारीले जनाएको छ ।
यसैबीच, एमाओवादी निकट अनेरास्ववियू क्रान्तिकारीले नेकपा–माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीमा प्रवेश गरेका केन्द्रीय उपाध्यक्ष शरद रसाईलीसहित ३९ केन्द्रीय सदस्यलाई संगठनको साधारण सदस्य समेत नरहने गरी हटाएको जनाएको छ ।

प्रतिक्रिया