भक्तपुर क्यान्सरको विवाद चाँडै सुल्झिन्छः मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समितिको विवाद चाँडो सुल्झाउने बताएका छन् । शुक्रबार नेपाल अर्बुदरोग निवारण संस्थाको २९औँ केन्द्रीय सभामा उनले अस्पतालको विवादका विषयमा सरकारले चाँडै नै निर्णय लिने बताएका हुन् ।

गत साउनमा भक्तपुर नगरपालिकाले आर्थिक अनियमितताको आरोप लगाउँदै अस्पताल व्यवस्थापन समिति विघटन गरी मेयरको नेतृत्वमा नयाँ समिति गठन गरेसँगै उब्जिएको विवाद सर्वोेच्च अदालतको आदेशसमेत कार्यान्वयन नदिइएपछि हालसम्म पनि कायमै छ । कानुनी हिसाबले कुनै संस्थाको नाममा रहेको सम्पत्ति कसैले पनि अतिक्रमण गर्न नपाउने मन्त्री ढकालले बताए ।

उनले भने, ‘तीन तहको सरकार भएकाले स्थानीयतवरबाट केन्द्र चल्छ भन्ने लागेको छ भने त्यो भ्रम हो । तर, केही साथीहरूलाई भ्रम परेको होला, यथार्थमा त्यो लामो समय टिक्दैन । अस्पतालमा धर्ना गर्ने जस्ता कार्य नगरे पनि माग पूरा हुन्छ ।’ सेवाग्राहीले भक्तपुरको क्यान्सर अस्पताललाई सरकारी अस्पतालका रूपमा हेर्ने गरेको बताउँदै मन्त्री ढकालले यो विश्वास सधैँभरि टिकाइराख्न आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले नगरपालिकाले गरेको हस्तक्षेपका कारण अस्पतालका नियमित काममा अवरोध सिर्जना हुँदा सेवाग्राहीलाई बाधा पुगेको बताए । प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले भक्तपुर अस्पतालमाथि नगरपालिकाको हस्तक्षेप गैरकानुनी भएको भन्दै ५ भदाको संसदमा समेत आवाज उठाएका थिए ।

‘अस्पतालमा नगरपालिकाले जुन व्यवहार गरेको छ, त्यो गलत छ । स्थानीय सत्ताको प्रयोग गरेर नियमित काममा अवरोध गरिएको छ, जुन कसैलाई पनि स्वीकार्य हुन सक्दैन ।’ उनले अस्पतालमा विद्यमान समस्याको छिटोभन्दा छिटो हल निकाल्न मन्त्री ढकाललाई आग्रह समेत गरे ।

कार्यक्रममा केन्द्रका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले सुर्तीजन्य पदार्थ तथा क्यान्सर रोगका विषयमा केन्द्रले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । अस्पतालले सरकार तथा विभिन्न दातृसंस्थाको सहयोगमा भौतिक पूर्वाधार निर्माण र उपकरणहरूको व्यवस्था गर्दै क्यान्सरका बिरामीलाई राम्रो उपचार दिइरहेको श्रेष्ठको भनाइ छ ।

संस्थाले हाल ४४ वटा जिल्लामा शाखा गठन गरेको र केही वर्षभित्रै ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने अभियान जारी रहेको अर्बुदरोग संस्थाका महासचिव विमलकुमार हाडाले बताए । त्यसैगरी, सबै प्रदेशमा क्यान्सर केयर सेन्टरको स्थापना गर्ने, भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक तथा नर्सलाई शिक्षाका निमित्त छात्रवृत्ति प्रदान गर्ने–गराउने र अस्पताललाई अझ सुविधासम्पन्न बनाउँने योजना रहेको महासचिव हाडाले बताए ।

नेपाल सरकार र दातृ निकायको सहयोगमा सञ्चालनरत भक्तपुरस्थित सामुदायिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालमा व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ र महासचिव विमलकुमार हाडाले आर्थिक अनियमिता गरेको आरोप लगाउँदै भक्तपुर नगरपालिकाले साउनको अन्तिम साता श्रेष्ठ नेतृत्वको समिति भंग गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले समिति खारेजीको निर्णय गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको थियो । नगरपालिकाको निर्णय र आफूमाथिको आरोप पचाउन नसकेको पुरानो समितिले आफूहरूले कुनै पनि आर्थिक अनियमितता नगरेको जिकिर गर्दै तत्कालै नगरपालिकाले गठन गरेको समितिको खारेजी र आफ्नो निरन्तरताको मागदाबीसहित ४ भदौमा सर्वोेच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

स्वीकृत १०० बेडमा सञ्चालित अस्पताल नगरपालिकाको अधिकार क्षेत्रभित्रै नपर्ने दाबी निवेदकको थियो । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले पुरानो समितिलाई काम गर्न कुनै बाधा नपु¥याउन अन्तरिम आदेश दिए पनि नगरपालिका अस्पताल प्रशासनले अदालतको निर्णय कार्यान्वयन हुन नदिएपछि हाल दुई व्यवस्थापन समितिबीच विवाद छ ।

प्रतिक्रिया