चिसो बढेपछि विद्यार्थी घटे

उदयपुर । एक-डेढ हप्तायता आएर मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि उदयपुरका विभिन्न विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको छ ।

ह्वात्तै चिसो बढेपछि अहिले जिल्लाका बेलका नगरपालिका, चौदण्डी नगरपालिका, त्रियुगा नगरपालिकाका विद्यालयसहित पहाडी क्षेत्रका विद्यालयमा कक्षा १ देखि ५ सम्मका कक्षामा विद्यार्थीको उपस्थिति घट्न थालेको सम्बन्धित विद्यालयका शिक्षक बताउँछन् ।

चिसो बढ्दै गएपछि रौतामाई गाउँपालिकाको वडा नं ४ सल्ले, मलबाँसे बोलुङखा क्षेत्रका विद्यालयका तल्ला तहका कक्षाका विद्यार्थीको उपस्थितिको संख्या ५० प्रतिशतभन्दा बढीले घटेको रौता जनता मावि सल्लेका प्राचार्य लक्ष्मी घिमिरे बताउँछन् । चिसो बढ्न थालेपछि विद्यार्थी विद्यालय आउन नसक्ने अवस्था भएका कारण पनि घरमै बस्न थालेका पञ्चकन्या आधारभूत विद्यालय रौता हात्तीपाइलेका शिक्षक घनश्याम राईले बताए ।

जिल्लाको तराई क्षेत्रको त्रियुगाको जोगीदह र खैजनपुर तथा चौदण्डी नगरपालिकाको जनता मावि हँडिया, सुन्दपुर मावि सिवाइ र बेलका क्षेत्रमा समेत चिसो बढेसँगै तल्ला कक्षाका विद्यार्थीको उपस्थिति न्यून हुन थालेको शिक्षक बताउँछन् ।

बिहान अबेलासम्म हुस्सु लाग्ने र निकै चिसो बढ्दै गएका कारण साना नानी विद्यालय जान नमान्ने र चिसोका कारण नसक्ने अवस्थासमेत रहेको चौदण्डी–३ हँडियाका कमलनारायण चौधरी बताउँछन् । अहिले ह्वात्तै चिसो बढेका कारण जिल्लाका केही विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दा पठनपाठनमा प्रभाव पर्न थालेको राष्ट्रिय जनता मावि त्रिनपा बगाहाका शिक्षक अर्जुन खड्काले बताए ।

जंगली हात्तीले ३६ घर भत्कायो पन्ध्र दिनयता उदयपुरको तराई क्षेत्र बेलका नगरपालिका, चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडामा जंगली हात्तीले ३६ घर भत्काएको छ । पन्ध्र दिनयता निरन्तररूपमा बेलकाका आम्बासी तथा भागलपुर क्षेत्रमा जंगली हात्तीले दश घर भत्काएको र स्थानीयवासीको झण्डै पचासौँ मुरी धानसहितका अन्नसमेत खाइदिएको आम्बासीका दुर्गाप्रसाद खनालले बताए ।

यस्तै चौदण्डीको हँडिया र सुन्दरपुर क्षेत्रमा जंगली हात्तीले सात घर भत्काएको छ भने २५ मुरीभन्दा बढी भकारीको धानसमेत नष्ट गरिदिएको हँडियाका देवीलाल चौधरीले बताए । त्रियुगाका वडा नं १ जोगिदह, २ को मोथ्याई, खैजनपुर, वडा नं ३ को चाप, ४ को बगाहा र वडा नं ५ को चुरेक्षेत्रको श्रीपुर क्षेत्रमा १७ घर हात्तीले भत्काइदिएको छ भने अन्नबालीसमेत खाइदिएको श्रीपुरका पीडित लक्ष्मण काफ्लेले बताए ।

प्रतिक्रिया