बलिउडमा मेरो ‘इन्ट्री’


दसैँ–तिहार, नयाँ वर्षमा गाउँ–गाउँमा सांस्कृतिक कार्यक्रम र नाटक हुन्थे । मैले सात कक्षा पढ्दा वंशगोपाल उच्च माविमा ‘मूर्ख बिरामी’ नाटक खेलेँ, त्यो ०५० सालतिरको कुरो हो । डर र उत्साहमिश्रित भावभंगिमामा नाटक सकियो । नाटक सकिएपछि सबै साथीले ‘लौ गजब गर्‍यौ’ भन्न थाले । अलि खुसी भएँ– राम्रै पो गरेछु कि † झाँक्रीको अभिनय गरेको थिएँ । नाटकको लेखन/निर्देशन पनि मैले नै गरेको थिएँ । त्यस दिन साह्रै खुसी थिएँ ।
स्कुलमा नाटक खेल्दै गएपछि त्यहाँ मलाई नचिन्ने कोही भएन । वरपर गाउँका मान्छेहरू पनि मलाई बाटोमा भेट्दा नामै लिएर ‘कता जान लाग्यौ ?’ भनेर सोध्थे । त्यसबेला लागेको थियो– यो नाटक भन्ने चिज पनि गजबकै हुँदोरहेछ । ‘नवजीवन ज्योति क्लब’, ‘समाजसेवा युवा क्लब’ मा संलग्न भएर पनि नाटक खेलेँ । जिल्लाका धेरै ठाउँमा पुगियो । साथीहरू मेरो घरमा भेला हुन्थे । हामी धेरै साथी मिलेर टाढा–टाढाका गाउँसम्म पुगेर नाटक मञ्चन गथ्र्यौं । ती दिन हामी भोकभोकै हिँडेका हुन्थ्यौँ । खै के सपना थियो, बुझ्दिनथेँ तर हामीलाई नाटक खेल्न पाएपछि भोक लाग्दैनथ्यो । खल्तीमा घरबाट चिनी हालेर हिँड्थ्यौँ र साह्रै भोक लागेपछि चिनीको फाँको हाल्थ्यौँ । भोकभोकै बार्दलीमा सुतेका ती साँझ सम्भँmदा आज पनि मलाई ऊर्जा प्राप्त हुन्छ, पुराना यादले घेरिन पुग्छु ।
आमा प्यारलाइसिसको बिरामी हुनुहुन्थ्यो, कता–कता मनमा नमज्जा लागिरहन्थ्यो । सोच्थेँ, ‘अरू साथीका जस्तै मेरी आमा पनि ठमठम हिँड्नसक्ने भए मलाई कति धेरै मीठामीठा खानेकुरा ल्याएर खुवाउँथिन् ।’ आमालाई समय–समयमा औषधि खुवाउनुपथ्र्यो । म बाहिर हिँड्नुपर्दा घरमा दाइ तुलसीराम र भाउजू गोपिनीले आमाको स्याहार गर्थें । दाइ–भाउजूको सहयोगले पनि मलाई निकै सहज भएको थियो नाटक खेल्न ।
गाउँमा भोला सापकोटा नामधारी तीनजना थियाँै । मेरो नामको अगाडिचाहिँ ‘कलाकार’ भन्ने पगरी झुन्डियो । उतिबेला टिभीमा ‘ट्वाक्क–टुक्क’ नामको हास्य कार्यक्रम आउँथ्यो, मलाई भूत चढ्यो टेलिभिजनमा देखिने । असार महिनाको कुनै एक बिहान, नाइट बसबाट ओर्लिएँ काठमान्डू । त्यो मेरो पहिलो काठमान्डू यात्रा थियो । गाउँका चिनेका बोहरा दाइ तरकारी व्यापार गर्थे कलंकीमा । उनीसँगै बसँे दुई दिन । आइसक्रिम पनि बेचेँ गाढामा । तर, टलिभिजनतिर पस्ने कुनै बाटो नभेटेपछि म हेटौँडा फर्किएँ । वन विज्ञान अध्ययन संस्थानको हलमा हामीले एउटा नाटक मञ्चन गर्‍र्यांै । नाटक सकिएपछि कसैले मलाई ‘तरंग सांस्कृतिक परिषद्’मा कलाकार खोजिरहेको छ भनेर सुनाए । म हतारिएर परिषद् पुगेँ, अडिसन दिन र छान्निएँ पनि । ‘तरंग’का अध्यक्ष उज्ज्वल शर्मा भण्डारी नै हुन्, जसले मलाई नाटकको सुरुवाती यात्रा गराए, नाटकमा पाइला हाल्न सिकाए ।
‘गुरुजी र अन्तरे’ सडक नाटकमार्फत देशका विभिन्न ठाउँमा पुगेँ । हो, यही नाटकमा अभिनय गरेबापत् मैले पहिलो पारिश्रमिक पाएको थिएँ । त्यसपछि बोध भएथ्यो– अभिनय गरेर पनि पैसा कमाउन सकिँदो रहेछ । ‘जंगे हबल्दार,’ ‘गुरुजी र अन्तरे’ लगायत नाटक त सयपटक जति प्रदर्शन गरियो । ०५५/५६ मा सांस्कृतिक संस्थानमा एक वर्ष अभिनय प्रशिक्षणका लागि काठमान्डू आएँ । त्यसबेला थाहा पाएँ, काठमान्डू त चिसो सहर रहेछ । यहाँका सबै सम्बन्धहरू पनि चिसाचिसा हुँदारहेछन् । तर, यो स्वार्थी सहरमै मैले खोज्नुथियो मेरो भाग्य †
टलिफिल्म, फिल्म र नाटकका कलाकर देख्दा सोच्थेँ– यिनीहरू जस्तै हुन पाए † प्रशिक्षणमा हुनुहुन्थ्यो– सुनील पोखरेल, वीरेन्द्र हमाल, प्रभाकार देव शर्मा, हरिहर शर्माहरू । मेरो अभिनय देखेपछि मलाई गुरु सुनील पोखरेलले ‘आरोहण’का नाटकमा अभिनय गर्ने मौका दिनुभयो । अब लाग्न थाल्यो– आरोहणले नै मेरो अभिनय यात्रा सुरक्षित बनाउनेछ । एकवर्षे प्रशिक्षणपश्चात् आरोहणका नाटक र विभिन्न टेलिचलचित्रमा अभिनय गर्ने मौका पाएँ । अबचाहिँ ‘म पनि केही गर्न सक्छु कि’ जस्तो लाग्न थाल्यो । तर, पनि काठमाडौंको बसाइ साह्रै गाह्रो । कमाइ नहुँदा भोकभोकै परिन्थ्यो । बेलाबेला ‘तरंग’को नाटकले कही भरथेग हुन्थ्यो । यो काठमाडौंले चिनेको मान्छेको पिठो पनि किन्छ र नचिनेको मान्छेको चामल पनि किन्दैन ।
मनमा द्विविधा पैदा भयो– यही अभावबीच कठमान्डूमै बस्ने कि फर्केर आफ्नै घर हेटौंडा जाने ? बीचमा केही महिमा हेटौंडा पनि गएर बसेँ र तरंगका नाटकहरू खेलिरहेँ । फेरि २०५९ सालमा गुरुकुल आएँ, दुई वर्षको अभिनय प्रशिक्षणका लागि । यहाँ देशीविदेशी प्रशिक्षकसँग नाटकका विभिन्न फर्म, अभिनयका फरक–फरक शैलीबारे सिकेँ । त्यसपछि फिल्म, टेलिफिल्मभन्दा पनि नाटकमै मन रमाउन थाल्यो । गुरुकुलमा मैले ‘अग्निको कथा,’ ‘डा. कनक,’ ‘मायादेवीका सपना,’ ‘ताराबाजी लैलै,’ ‘जात सोध्नु जोगीको’, ‘खरीको घेरो’, ‘पानी फोटो’, ‘कुरूप हाँस,’ ‘सम्राटको नयाँ लुगा’ लगायत थुप्रै नाटकमा अभिनय गरेँ । यसैबेला नाटककै सिलसिलामा थुप्रै देश घुम्ने अवसर पनि मिल्यो । गुरुकुलले जीवनको नयाँ मोडमा ल्याइदियो । जीवन हिँड्ने एउटा बाटोको निर्माण गरिदियो । वा भनौं, रंगकर्ममा एउटा नाम दिलायो । अनि, रंगकर्मले जीवन बुझ्न सजिलो बनायो ।
बलिउड यात्रा
गुरुकुल डाँडोमा बसिरहेको थिएँ । मोबाइल बज्यो– भारतीय नम्बरबाट । नेटवर्कको समस्याले हो या मेरो मोबाइलको समस्याले कुरो बुझिएन । गुरुकुलमा धेरै दर्शक अनि धेरै शिल्पीसँग भेट हुन्थ्यो । तीमध्ये पनि केही दर्शक मेरो अभिनयको खुलेर प्रशंसा गर्थे । मेरो अभिनयको राम्रो/नराम्रो पाटोबारे मलाई सुझाउँथे । यसले मलाई नयाँ नाटकमा सुधार्न निकै सजिलो हुन्थ्यो ।
प्रशान्त रसाइली (एउटा सिर्जनशील कलाप्रेमी निर्देशक) पनि गुरुकुल आइरहनुहुन्थ्यो, मलाई भारतदेखि उहाँले नै सम्झनुभएको रहेछ । फेरि उहाँको फोन आयो । ‘भोला रणवीर कपुरसँग बर्फी फिल्म खेल्ने हो ? फुर्सद के छ ? अनुराग वशुले निर्देशन गर्दै छन् ।’ उहाँले एकै वाक्यमा यति भनिसक्दा मैले एक शब्द पनि बोल्न सकिनँ । यसपछि मलाई निकै खुल्दुली लाग्यो । त्यसबेला सोचेँ–जीवन त एउटा चान्स रहेछ । एक चान्सले अघि बढिन्छ, एक चान्सले पछि परिन्छ । यता एउटा नाटक खेलिरहेको थिएँ । हिजै मात्र बिहेको कुरा फिक्स्ड भएको थियो– यमुना गौतमसँग । मैले प्रशान्त दाइलाई ‘फिल्म खेल्छु’ भनिदिएँ । बिहेको दिन तय भएको थियो– फाल्गनु २४ गते । प्रोडक्सन मेनेजरले अडिसनका लागि २३ गते कोलकता आउनु भने । मैले २४ गते मेरो बिहे हुन लागेको सुनाएँ, २८ गते अडिसन हुने कुरा पक्का भयो । मेरो लामो कपाल र बिहे † काटौँ या नकाटौँ ? प्रशान्तमार्फत सोधेँ । कपाल नकाटी बिहे गरेँ ।
२८ गते बिहान अडिसनका लागि छिरियो होटल सोनार बगला, अनुराग वशुले अडिसन लिए । मोबाइल नम्बर साटासाटपछि म एयरपोर्टतर्फ लागेँ, नेपाल आउनका लागि । १० दिनपछि फोटो सुटका लागि मुम्बई बोलाइयो । फिल्म अफिसमा निर्देशक सहायक, निर्देशकहरूसँग कुराकानी भयो । एक दिनपछि कपाल काट्न पार्लरमा लागियो । मैले जीवनमै पहिलोपटक यति महँगो शुल्कमा कपाल काटेको थिएँ । भोलिपल्ट बिहान फिल्म सिटी पुगेँ, त्यहीँ थिए रणवीर कपुर, प्रियंका चोपडा । बलिउडका स्टार । उनीहरूलाई नजिकबाट पहिलोपटक देखेँ । फिल्ममा देखेका कलाकारसँग हात मिलाउँदा व्यापक खुसी लागेको थियो ।
मेनिटीमा लगियो, सुविधा सम्पन्न मेनिटी । ड्रेसचेन्ज, मेकअपपछि स्टुडियोभित्र प्रवेश पाइयो । फोटो सुट भन्ठानेको थिएँ, होइन रहेछ, सिधै सुटिङ पो रहेछ । निर्देशकले सुटको बारेमा बताए, सट तयार भयो । रणवीर कपुर र म तयार भयौँ । प्रियंका सुतिरहेकी थिइन् सटमा । बलिउडको पहिलो सट † के हुने हो, निकै डर लागिरहेको थियो । एक्सन सट खिचियो, ताली बज्यो । डाइरेक्टरले बडो खुसी हुँदै गला मिलाए ।
त्यसपछि मनमा लागेको डर मलाई छोडेर भाग्यो । राम्रै भयोजस्तो लाग्यो पहिलो दिनको सुटिङ । त्यो मेरा लागि अविस्मरणीय दिन बनेको छ । मैले ‘बर्फी’मा पाएको यो पहिलो मौकाले मेरो जीवनलाई नै एक पाइला अगाडि बढाएको छ । फिल्मको रिलिजपछि के हुने हो, थाहा छैन । बलिउडमा पक्कै काम गरिन्छ होला, थिएटरमा पनि काम गरिन्छ । नेपाली थिएटर र फिल्ममा राम्रो क्यारेक्टर पाएँ भने गर्छु नै । यसै क्षेत्रमा लागिरहने मन छ । हेरौँ, जिन्दगीको रंगमञ्चले कता लैजान्छ ?

प्रतिक्रिया