काठमाडौं, ९ साउन । बैंकहरूले निक्षेपको ब्याज घटाउन थालेपछि संस्थागत निक्षेपकर्ता मारमा पर्न थालेका छन् । बैंकमा पैसा राखेर आम्दानी गर्ने व्यक्ति तथा संस्था बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याज घटाउन थालेपछि समस्यामा परेका हुन् । बैंकले गत वर्षमा करिब ४० प्रतिशतले निक्षेपमा ब्याज घटाएका छन् ।
बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या पर्दा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाली सेनाको कल्याणकारी कोष, विभिन्न जीवन विमा कम्पनी, बचत तथा ऋण सहकारी संस्था फाइदामा थिए । ती संस्थाले विनापरिश्रम बैंक तथा वित्तीय संस्थामा पैसा जम्मा गरेकै भरमा राम्रो आम्दानी गरेका थिए । चरम तरलता अभावको समयमा वाणिज्य बैकले बचत खातामा नै ११ प्रतिशतसम्म ब्याज प्रदान गरेका थिए भने एक वर्षे मुद्दती खातामा १२ प्रतिशतभन्दा बढी ब्याज दिएका थिए ।
बैंकमा निक्षेपको मात्रा बढ्ने तर त्यो निक्षेप ऋण लगानी गर्न नसक्दा ब्याज खर्च घटाउनका लागि बैंक तथा वित्तीय संस्थाले धमाधम निक्षेपमा ब्याज घटाउन थालेका हुन् । बैंकले गत आर्थिक वर्षभरिमा दुई तीनपटक सूचना प्रकाशित गरेर ४० प्रतिशतसम्म ब्याज घटाएका छन् । बैंकहरूले बचत खातामा ५ प्रतिशत र मुद्दती खातामा ४ प्रतिशतसम्म ब्याज घटाइसकेका छन् । चालु आर्थिक वर्षको सुरुव्आतमै मात्र वाणिज्य बैंकहरूले औसत २ प्रतिशतले ब्याज घटाएका छन् । प्राय वाणिज्य बैकहरूले अहिले बचत खातामा घटीमा ३ प्रतिशत र बढीमा ५ प्रतिशतसम्म ब्याज दिने गरेका छन् । एक वर्षे मुद्दती खातामा भने यो दर ६ देखि ७ प्रतिशतको हाराहारीमा रहेको छ ।
स्टयान्डर्ड चार्टर्ड बैंकले बचत खातामा दुईदेखि ३ प्रतिशतसम्म र मुद्दती निक्षेपमा साढे ३ प्रतिशतसम्म मात्र प्रदान गर्दछ । भारतको पञ्जाव नेसनल बैंकको सेयर स्वामित्व रहेको एभरेस्ट बैंकले बचतमा तीनदेखि ५ प्रतिशत र मुद्दतीमा ७ प्रतिशत ब्याज दिने सूचना प्रकाशित गरेको छ । निजी क्षेत्रको सबैभन्दा बढी चुक्ता पुँजी भएको नेपाल इन्भेस्टमेन्ट बैंकले बचतमा तीनदेखि ५ प्रतिशत र मुद्दतीमा साढे ५ प्रतिशत ब्याज दिएको छ । त्यस्तै हिमालयन बैंकले पनि बचत खातामा तीनदेखि ५ प्रतिशत ब्याज दिएको छ भने मुद्दती खातामा ७ प्रतिशतसम्म ब्याज दिएको छ । एनआइसी बैंकले साढे तीनदेखि साढे ५ प्रतिशतसम्म बचतमा ब्याज दिएको छ भने मुद्दतीमा साढे ७ प्रतिशतसम्म दिएको छ । बैंक अफ काठमाडौंल पनि ३ देखि ५ प्रतिशतकै हाराहारीमा ब्याज दिएको छ भने मुद्दतीमा ७ प्रतिशत मात्रै ब्याज दिने गरेको छ । तुलनात्मक रूपमा केही नयाँ बैंकहरूले भने बचतमा ७ प्रतिशतसम्म र मुद्दतीमा ९ प्रतिशतसम्म ब्याज दिन थालेका छन् ।
बैंकहरूले निक्षेपमा ब्याज घटाउँदा ब्याज आम्दानीमा भरपर्ने संस्थाको आम्दानीमा असर परेको छ । कोषका कार्यकारी निर्देशक ऋषिराम गौतमले चालु आवको लगानीको प्रतिफल केही घट्ने संकेत देखिएको बताए । करिब २८ अर्ब रुपियाँको कोष व्यवस्थापन गरिरहेको कोषको करिब ५० प्रतिशत आम्दानीको हिस्सा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ब्याज आम्दानी हो । कोषल करिब ५० प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा निक्षेपका रूपमा राखेका छन् । कार्यकारी निर्देशक गौतमका अनुसार करिब ११ अर्ब ‘क’ वर्गको वाणिज्य बैंकमा र ३ अर्ब रुपियाँ विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनीमा राखिएका छन् । गत वर्ष कोषको लगानीको प्रतिफल १० प्रतिशतभन्दा माथि रहेकामा चालु आवमा कोषको लगानीको प्रतिफल ९ प्रतिशतभन्दा पनि मुनि रहने अनुमान रहेको उनले बताए ।
कोषले वित्तीय संस्थामा निक्षेपको रूपमा राख्नुको अलावा आफूसँग भएको रकमलाई सरकारी ऋणपत्र एवं सेयर खरिद कार्यमा समेत लगानी गरेको छ । कोषले परियोजनामा लगानी गर्ने रणनीति अनुरूप माथिल्लो तामाकोसी जलविद्युत्मा दुई अर्ब लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ र हालसम्म करिब २० प्रतिशत लगानी गरिसकेको उनले बताए । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रेस्टा झाले बैंकले निक्षेपमा दिने ब्याज दर घट्दा विमा कम्पनीको नाफामा पनि गिरावट आउने र त्यसको असर बिमितको बोनस दरमा समेत पर्ने बताए ।
प्रतिक्रिया