खाँडाचक्रमा आयुर्वेद औषधालय सञ्चालन

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–५ मा दाडिमबोर्ड आयुर्वेद औषधालयको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

खाँडाचक्र नगरपालिका–५ का वडाध्यक्ष खडानन्द चौलागार्इंको अध्यक्षता, खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल र प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाको विशेष आतिथ्यता कार्यक्रम भएको हो । १ देखि ११ सम्मका वडाहरूका ६० वर्षभन्दा माथिका वृद्धवृद्धालाई घरघरमा गएर स्थानीय जडीबुटीबाट उत्पादित औषधिले आयुर्वेद शाखाले उपचार गरिरहेको छ ।

अब खाँडाचक्र नगरपालिकाका ११ वटा मात्र नभई बाहिरबाट आउने बिरामीहरूका लागि पनि औषधालयले उपचार गर्ने वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताए । कालिकोट जिल्लाका नगरपालिका र गाउँपालिकामा पाइने अमला, पायल्स रोगको लागि बकाइनो, हर्रो, बर्रो, गुर्जो, जामुन, कुरिलोजस्ता विभिन्न जडीबुटीहरू संकलन गरी विभिन्न रोगीहरूको उपचार गर्ने लक्ष राखिएको पाण्डेले बताएका छन् ।

खाँडाचक्र नगरपालिकाले नगरपालिकामा रहेका विभिन्न जडीबुटीहरू संकलन गरी आयुर्वेदिक औषधि उत्पादन गरेको छ । स्थानीय स्तरमा पाइने विभिन्न किसिमका जडीबुटीहरू संकलन गरी औषधि उत्पादन गर्ने गरेको छ । अब दाडिमबोर्ड आयुर्वेद औषधालयबाट निःशुल्क वितरण गरिने कुुुरा नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेले बताएका छन् । नेपालभित्र रहेको स्थानीय तहरूले आयुर्वेद औषधालयको लागि पहल नगरेको वेला खाँडाचक्र नगरपालिका कर्णाली प्रदेशकै पहिलो आयुर्वेद औषधालय रहेको नगरप्रमुख पाण्डेले जनाए ।

प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले सुखी, समृद्ध र स्वास्थ नगरपालिकाको नारा पूरा गर्न प्रत्येक नागरिकले आयुर्वेद केन्द्रबाट स्वास्थ्य रहनकै लागि भए पनि औषधि लिनुपर्ने सुनाए ।

कार्यक्रमका सभाध्यक्ष तथा वडा–५ अध्यक्ष खडानन्द चौलागार्इंले भने, ‘गाउँघरमा आर्थिक अभाव र चेतनाको अभावमा धेरै नागरिकहरू औषधि उपचारबाट वञ्चित हुनुपरेको देख्यौ । यसकारण सवैको सहजताका लागि दाडिमबोर्ड आयुवेद्र औषधालय नगरपालिकाको बैठकबाटै सर्वसमत पारित गरेका हौ । साथै चौलागाँईले अव यहाँका स्थानीय मात्र नभएर नौ वटै स्थानीय तहका बिरामीहरूले विनाशुल्क औषधि सेवन गरी स्वच्छ रहन सक्छन् ।

यसैगरी नगरपालिकाले हरेक बिरामीलाई सहज रूपले स्वास्थ्य सेवा दिन खाँडाचक्र नगरपालिका–५ को तेस्रो बजारमा वाथरोगीहरूको लागि स्टिम वाथ सञ्चालनमा ल्याएको छ । वाथ रोगीहरूका लागि जुनसुकै वेला पनि स्टिम बाथ गर्नका लागि खाँडाचक्रले यो औषधालय सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत कासीप्रसाद पंगेनीले बताए । पंगेनीले भने यो सेवा प्रभावकारी गराउनका लागि आफूबाट हुने सहयोग पूर्ण रूपमा रहने बताएका छन् ।

वडामै आयुर्वेद औषधालय सञ्चालनमा आएपछि यहाँका स्थानीयहरूले जुम्ला, सुर्खेत, नेपालगञ्जजस्ता सहरमा गएको पीडा भुलेको स्थानीय गोर्ख कार्कीले सुनाए । गोर्ख मात्र होइनन् दमको उपचार गराइरहेका खाँडाचक्र नगरपालिका–५ का विष्णुबहादुर शाहीले खुसी हुँदै भने, ‘अघिल्लो वर्ष यहाँका केही स्थानीयलाई आँखा शिविरले आँखा दियो अहिले नगरपालिकाकै लागि दाडिमबोर्ड आयुर्वेदिक औषधालय सञ्चालनमा आएपछि अब यहाँका केही स्थानीयलाई ठूलो राहत हुने बताए ।

कर्णाली प्रदेशकै पहिलोचोटी खाँडाचक्र नगरपालिकाले आयुर्वेदिक औषधालय सञ्चालनमा ल्याएपछि अन्य स्थानीयले पनि यो कुराको सिको गर्नु आवश्यक रहेको प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलियाले बताए ।

प्रतिक्रिया