कुञ्जमा ‘टीका’

काठमाडौं । नजिकिँदो दशैँको छेको पारेर थापागाउँस्थित कुञ्ज थिएटरमा ‘टीका’ नाकट मञ्चन भएको छ । भीमनिधि तिवारीद्वारा दशैँको विषयमा लेखिएको नाटक ‘टीका’ का संगीत सापकोटाले निर्देशन गरेका छन् ।

नाटकमा परदेशिएका परिवारको भावनालाई कलात्मक रूपमा उधिनिएको छ । एकातिर परिवारसँग बिछोडिएको दृश्यले दर्शकलाई भावकु बनाउँछ भने अर्कोतिर देशमै केही गर्नुपर्छ चिन्तन बोकेका व्यक्तिलाई नाटकले ढाडस दिन्छ । राष्ट्रवादी भावनालाई कलात्मक रूपमा उतार्न खोजिएको यस नाटकमा दिपेश काफ्ले, सविन भट्टराई, विनिता गुरुङ, शारदा अधिकारी, श्रवण राना मगर, राजकगल फकिर, मनिराज पौडेल, आनन्द महत, न्हुज महर्जनलगायतका कलाकारको अभिनय छ ।

दशैँमा हुने परिवेशलाई नाटकमा उतारिएको छ । मञ्चबाहिरजस्तै भित्र लंगुरबुर्जा, अक्षता र चंगाले दर्शकलाई निकै रमाइलो माहोलमा पु¥याउन मद्दत गर्दछ ।

दशैँको चर्चा सुरु भइरहेका वेला कुञ्ज नाटकघरमा कलाकारले पिङमार्फत माहोल निर्माण गरिरहेको धेरै दिन भयो । नाटक हेर्न पुग्ने दर्शक पनि ‘च च हुइ … इ इ !’ को त्यो माहोलमा निकै रमाइरहेको देख्न सकिन्छ ।

रोजगारीका नाममा नेपालबाट मुग्लान पस्ने परम्परा भारतमा अंग्रेजले शासन गर्नेवेलादेखि नै हो । त्यो परम्परा अहिले खाडी मुलुक हुँदै विश्वका विभिन्न देशसम्म फैलिसकेको छ । नेपालमा छँदा सांस्कृतिकरूपले रमाइरहेका नागरिकको मन चाडपर्व नजिकिएसँगै विरक्तिएर आउने परिवेशलाई नाटक ‘टीका’ मा उधिनिएको छ ।

परिवारलाई सुखी राख्नका लागि दुई पैसा बढी कमाउने बाध्यताले नेपाली मुग्लान भासिने परम्पराले चाडबाडका बेलामा ल्याउने निराशालाई नाटकले उधिनेको छ । परिवारबाट हुँदा भोग्नुपर्ने परिवेश र सामाजिक मनोविज्ञानलाई दशैँले जोड्दै आएको छ । परिवार र स्वयं परदेशीले भोग्नुपर्ने या छुट्याउने चाड पनि दशैँ नै हो ।

दशैँको परिवेशलाई उतारिएको यस नाटकमा कमानसिंह र उनको परिवारको विषयलाई मञ्चमा देखाइएको छ । जतिजति दशैँ नजिकिँदै जान्छ उतिउति नै वियोगको पीडाले परिवार र परदेशीमा बेचैनीले सताउँछ ।

मुग्लानमा चौकिदारीको काम गर्ने कमानसिंह दशैँमा घरबिदा पाउने नपाउने दुविधामा पर्छ । घरको यादले सताएको कमानसिंह दशैँमा छोराछोरीसँग बसेर रमाउने कल्पनाका बीच दोधारमा परिरहन्छ । त्यस्तै, उता घरमा उसकी बुढी आमा, श्रीमती र छोरा यसपालीको दशैँमा कमानसिंहबिनै बित्ने चिन्तामा रुमलिरहेका छन् ।

नेपालको गाउँले परिवेशलाई कलात्मकरूपमा उतारिएको नाटकलाई संगीत र संवादले रोचक बनाएको छ । गाउँका दुःखलाई चित्रण गरिएको यस नाटकमा मोनिस निरौलाको संगीत रहेको छ । ऐक्य हेभन अफ आर्टको प्रस्तुतिमा मञ्चन भइरहेको ‘टीका’ ३१ भदौसम्म हुने जनाइएको छ ।

प्रतिक्रिया