चितवन । प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको संख्या बढ्दो छ । गत आवमा १३ हजार ५ सय ४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन् । तीमध्ये १३ हजार ३ सय २७ जीवित बच्चा जन्मेका थिए भने बाँकी मृत अवस्थामा जन्मेका थिए ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हरेक वर्ष सुत्केरी हुने आमाको संख्या बढ्दो छ । प्रसूति गृहपछि सबैभन्दा बढी बच्चा यही अस्पतालमा जन्मने गर्दछन् । अघिल्लो आवमा १३ हजार ५ सय २५ महिलाले बच्चा जन्माएका थिए । आव ०७३-७४ मा यो संख्या १२ हजार ९ सय ८० रहेको थियो । गत आवमा बच्चा जन्माउनेमध्ये ४ हजार ६७ जनाको शल्यक्रिया गरिएको थियो भने अन्यको सामान्य ढंगबाट सुत्केरी गराइएको पौडेलले जानकारी दिए । विगतका वर्षहरूमा पनि यही अनुपातमा शल्यक्रिया हुने गरेको छ ।
अस्पतालमा आउने बिरामीको संख्या धेरै रहेको छ । विभिन्न कारणले आमा र शिशुको उपचारका क्रममा मृत्यु हुने गरेको अस्पतालले जनाएको छ । सूचना अधिकारी पौडेलका अनुसार गत आवमा चार जना आमाको मृत्यु भएको थियो भने अघिल्लो आवमा यो संख्या पाँच रहेको थियो । जन्मिएपछि गत वर्ष ३१ जना शिशुको निधन भएको थियो । उनका अनुसार अघिल्लो आवमा यो संख्या २७ रहेको थियो ।
अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा.सुनिलमणि पोख्रेलका अनुसार ठूलो संख्यामा प्रसूति हुने क्रममा विभिन्न कारणले आमा र बच्चाको निधन हुने गरेको छ । यो संख्या राष्ट्रिय रूपमा कम रहेको र अझै तल झार्ने क्रममा रहेको उनले जानकारी दिए ।
अस्पतालमा रहेका पुराना, अनुभवी र दक्ष चिकित्सक एवं नर्सिङ कर्मचारीहरूका कारण सबैतिरबाट बच्चा जन्माउनका लागि यहाँ आउने गरेको पोख्रेलको भनाइ छ । बच्चा जन्माउने काममा ८५ प्रतिशत भूमिका नर्सिङ कर्मचारीहरूको हुने चिकित्सकहरू बताउँछन् । भरतपुर अस्पतालमा ३५ वर्षदेखि प्रसूती विभागमा काम गरेका अनुभवी कर्मचारी रहेका छन् ।
पोख्रेलका अनुसार प्रसूति कक्षमा १९ जना नर्सिङ कर्मचारी रहेको र उनीहरू चौबिसै घण्टा उपलब्ध हुने गरेका छन् । अस्पतालमा १० जना प्रसूतिका विशेषज्ञ चिकित्सक रहेका छन् । पोख्रेलका अनुसार छिमेकी मेडिकल कलेज, क्यान्सर अस्पताल र अन्य अस्पतालहरूका चिकित्सकले पनि आफ्ना आफन्तहरू प्रसूति गराउन भरतपुर अस्पताल नै ल्याउने गर्दछन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीले दक्षजनशक्ति, चौबिसै घण्टा चिकित्सक सहितको सेवा, बिरामीलाई दिइने प्राथमिकता, निःशुल्क प्रसूति सेवा लगायतका कारण यो अस्पतालमा प्रसूति गराउनेको संख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको बताए । अस्पतालमा छुट्टै सुविधासम्पन्न प्रसूतिगृह निर्माण गरी शिशु सघन उपचार कक्षको क्षमता विस्तार गर्न आफू लागिपरेको मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले बताए ।
अस्पतालमा नै देशभरका नर्सहरूलाई तालीम दिने केन्द्र रहेको भन्दै उनले यहाँका दक्ष नर्सिङ कर्मचारीका कारण प्रसूतिमा थप सहजता आएको बताए । निजीमा प्रसूति गराउँदा ठूलो रकम खर्च हुने भए पनि सरकारी अस्पतालमा निःशुल्क प्रसूति सेवा र शिशु सघन उपचार कक्षमा सेवा प्राप्त हुने भएकाले सबैलाई सहजता मिलेको उनले बताए । निजी अस्पतालमा शल्यक्रिया गरेर बच्चा झिक्न ५० हजार हाराहारी खर्च हुने गर्दछ । सरकारी अस्पतालमा प्रसूति गराउँदा यहाँको जन्म प्रमाणपत्र पछिसम्म काम लाग्ने र भरपर्दो हुने गर्दछ ।
महिलाले सुत्केरी हुनुअघि कम्तीमा चारपटक गर्भ परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणलाई अझ बढी व्यवस्थित गर्नका लागि अस्पताल प्रशासन लागिपरेको उनको भनाइ छ । नयाँ भवन भएसँगै सबै व्यवस्थित हुने उनले जानकारी दिए । अस्पतालको शिशु सघन उपचार कक्ष १२ श्ययाको मात्र रहेको छ । जसका कारण यहाँ आमा राखेर श्ययाको अभावमा शिशुलाई अन्य अस्पतालको शिशु सघन उपचार कक्षमा राख्ने बाध्यता रहेको छ ।
प्रतिक्रिया