चितवन । उपचारका लागि भरतपुर अस्पतालमा आउने बिरामीको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । बिरामीको संख्या बढ्दै गए पनि त्यसअनुसारको पूर्वाधार नहुँदा व्यवस्थापन गर्न कठिन भएको अस्पतालले जनाएको छ ।
सीमित स्रोतसाधनमा धेरै बिरामीलाई उपचार गर्नुपर्ने बाध्यतासँगै अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयमा सेवा विस्तारका लागि बजेट माग गरेको छ । गतवर्ष केन्द्रीयस्तरको अस्पतालको मान्यता पाएर पनि बजेट नपाएको यहाँको भरतपुर अस्पतालले २४ करोड बराबरको बजेट निकासा गर्न र दरबन्दी थपका लागि प्रक्रिया अघि बढाउन माग गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार बिरामीको चाप निकै बढेपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट गरी अस्पतालको समग्र अवस्थाको बारेमा जानकारी गराइएको हो ।
उनले भने, ‘हिजो आइतबार हाम्रो बहिरंग सेवामा १ हजार ६ सय ८८ बिरामीले टिकट काटेका थिए ।’ ती सबैको एकै दिनमा उपचार गर्न सेवा विस्तार गर्नुपर्ने भएकाले आफूले मन्त्रीलाई भेट गरी सेवा विस्तारका लागि आग्रह गरेको जानकारी दिए ।
तिवारीका अनुसार मन्त्री यादवले केन्द्रीय अस्पताल भएकाले तत्काल सेवा विस्तारका लागि आवश्यक वजेट विनियोजन गरी अख्तियारी दिने आश्वासन दिएका छन् । केन्द्रीय अस्पतालमा पनि बिरामीको आधारमा बजेट उपलव्ध गराउन आफूले माग गरेको तिवारीले बताए । यसैगरी अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट (ओएनएम) सर्वे गरेर दरबन्दी थप गरिदिन पनि मन्त्रालयमा माग गरिएको छ । कर्मचारी समायोजनपछि यो प्रक्रिया अघि बढ्ने मन्त्री यादवले आश्वासन दिएको तिवारीले जानकारी दिए ।
यहाँको सेवा चित्त बुझेकै कारण बिरामी बढिरहेको उनले बताए । ‘सेवाग्राहीलाई अस्पतालले साधनस्रोतले भ्याएसम्मको सेवा दिइरहेको छ’, उनले भने, ‘हामीले भएका साधन र जनशक्तिले भ्याएसम्मको सेवा बिरामीलाई दिइरहेका छौँ ।’
भरतपुर अस्पतालमा अल्ट्रासाउन्ड दुई थान, पूर्ण डिजिटल एक्स–रे एक थान, शिशु सघन उपचार कक्ष र सघन उपचार कक्षमा दुई÷दुई वटा भेन्टिलेटर थप गर्न माग गरिएको छ । यस्तै सुत्केरी र आकस्मिक कक्ष छुट्टै बनाउन बजेट प्रस्ताव गरिएको छ । चिकित्सकका लागि हाल भएको आवास जीर्ण भएकाले नयाँ भवन निर्माणका लागि प्रस्ताव पेस गरेको उनले बताए ।
यस्तै एक महिनादेखि १४ वर्ष सम्मका बालबालिकाको उपचार गर्ने शिशु सघन उपचार कक्ष र आकस्मिक कक्षका लागि छुट्टै प्रयोगशाला निर्माणका लागि बजेट माग गरिएको तिवारीले जानकारी दिए । भरतपुर अस्पतालमा भएका चिकित्सकहरूले दैनिक ८० देखि सय जना बिरामी हेर्नुपरेको भन्दै तिवारीले हालको दरबन्दी भन्दा दोब्बर चिकित्सक र स्वास्थ्यकर्मी आवश्यक रहेको बताए । दरबन्दी थपका लागि अर्थ, सामान्य र स्वास्थ्य मन्त्रालयले (ओएनएम) सर्वे गर्नुपर्नेहुन्छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा ७७ जना विशेषज्ञ चिकित्सक र ३१ जना मेडिकल अधिकृत कार्यरत रहेका छन् ।
बिरामीको संख्याको तुलनामा यो दरबन्दी निकै न्यून भएकाले अस्पताल प्रशासनले मन्त्रालयमा दरबन्दी थपका लागि पहल गरिरहेको उनले जानकारी दिए । अस्पतालको सेवामा सन्तुष्टि, बमिाको पहिलो केन्द्र र जनसंख्याको वृद्धिसँगै अस्पतालमा दिनानुदिन बिरामी बढ्दै गएको पौडेलको भनाइ छ । कुल बिरामीको आधाभन्दा बढी बिमाका हुने गरेका छन् । उनका अनुसार अस्पतालमा प्रसूति सेवा लिन र गर्भवती जाँचका लागि आउने दुवै खालका बिरामी बढिरहेको छ । दैनिक ४० जना हाराहारी बच्चा भरतपुर अस्पतालमा जन्मने गर्दछन् । जसको २५ प्रतिशतभन्दा बढीलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
०१३ सालमा एउटा छाप्रोको १५ श्ययाबाट सुरु भएको भरतपुर अस्पतालले केन्द्रीय बनेसँगै पाँच सय श्ययाको अनुमति पाए पनि अस्पतालमा ६ सय श्यया सञ्चालनमा छ । हाल अस्पतालले १४ वटा विभागमार्फत सेवा दिइँदै आएको छ । चितवन, मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायतका जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् ।
प्रतिक्रिया