सुमेरु अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण

काठमाडौं । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालले मिर्गौला प्रत्यारोपण सुरु गरेको छ । अस्पतालका कार्यकारी निर्देशक एवं मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेसहितको १२ जनाको टोलीले दुईजनामा मिर्गौलाको सफल प्रत्यारोपण गरी मिर्गौला प्रत्यारोपण सुरु गरेको हो ।

गत असार ३० मा शुक्रानी योञ्जन र गत २ साउनमा विकास गुरुङमा मिर्गौला प्रत्यारोपण गरिएकोे हो । अस्पतालका अनुसार रामेछापकी ३० वर्षीया शुक्रानीलाई आफ्नी ४९ वर्षीया आमाले मिर्गौला दिएकी हुन् भने पोखराका ३१ वर्षीय विकासलाई उनकी श्रीमती रोजीले मिर्गौला दिएकी हुन् ।

कार्यकारी निर्देशक डा. काफ्लेका अनुसार अस्पतालले पहिलोपटक गरेको केस भएकाले दुवै प्रत्यारोपण निःशुल्क गरेको हो । यसअघि सरकारले गत ७ फागुनमा सुमेरु अस्पताललाई मिर्गौला प्रत्यारोपण गर्ने अनुमतिपत्र उपलब्ध गराएको थियो ।

प्रत्यारोपणका लागि सरकारले छुट्याएको ४ लाख रुपैयाँमै सेवा दिनसक्ने निर्देशक डा. काफ्लेले बताए । तर, हाल निजी क्षेत्रको अस्पताललाई सरकारले प्रत्यारोपणका लागि सहुलियत दिएको छैन । ‘सरकारले मिर्गौला प्रत्यारोपण गर्न सरकारी अस्पताललाई उपलब्ध गराएको ४ लाख हामीलाई दिए निःशुल्क गर्छौं’ उनले भने, ‘ औषधिका लागि साढे दुई लाख तिर्नुपर्छ ।’

सुमेरुले सातामा सकेसम्म दुईओटा मिर्गौला प्रत्यारोपण गर्न नसके पनि एउटा मात्रै भए पनि गर्ने योजना बनाएको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवल मिर्गौला प्रत्यारोपणमा अस्पताललाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको जनाए । उनले सरकारी अस्पतालले मात्रै आम जनातालाई सेवा दिन नसक्ने हुँदा सरकारी र निजी दुवै अस्पतालबीच समन्वय हुनुपर्ने सुनाए ।

प्रतिक्रिया