आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारहरूको अधिकार संरक्षण गर्नका लागि अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । आयोगले आइतबार पत्रकार सम्मेलन गर्दै कात्तिक २७ देखि २८ सम्म सो सम्मेलन हुने जनाएको हो ।

आप्रवासी कामदारहरूको अधिकार संरक्षण र विषय अहिले संसारकै चासो र महत्वको विषय बनेको छ । नेपाल तथा दक्षिण एसियाबाट लाखौँ कामदारहरू खाडी मुलुकलगायत अन्य मुलुकमा काम गर्न गइरहेको सन्दर्भमा आप्रवासी कामदारहरूको स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारहरूको सुरक्षा, परिवारहरूको अधिकार तथा न्यायमा पहुँच जस्ता विषयहरू अझ महत्वपूर्ण र संवेदनशील भएका छन् ।

नेपालमा आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको आयोगले जनाएको छ । आयोगले यसअघि सन् २०१२, नोभेम्बर २६–२७ मा समेत आप्रवासी कामदारहरूको अधिकार सम्बन्धी विषयमा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको थियो ।

‘आप्रवासी कामदारहरूको अधिकार संरक्षणमा खास गरी एसिया प्रशान्त क्षेत्रका उत्पति मुलुक, बाटामा पर्ने मुलुकहरू र गन्तव्य मुलुकहरूमा देखिएका चुनौतीहरू, स्वच्छ र जिम्मेवार भर्ना प्रक्रिया, अनियमित आप्रवासनलाई सम्बोधन गर्ने साझा सवाल, न्यायमा पहुँचको सुनिश्चितताका सम्भावना तथा प्रयासहरू, अन्तरदेशीय आयोग, अन्तरदेशीय गैरसरकारी संस्थाहरूबीच सौहार्द संवाद, सहकार्य र सूचना आदान प्रदानका सम्भावनाहरू तथा समस्या समाधानको विषयमा रचनात्मक प्रयास तथा योगदानहरूको विषयमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रित रहने’ विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा हुने सो सम्मेलनमा ३० देशका २४ राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षहरू, सदस्यहरू, अन्तर्राष्ट्रिय विज्ञहरू, सरकारका प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिहरू साथै आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाहरू, राष्ट्रिय मानव अधिकार संस्थाहरूको विश्व सञ्जाल ,राष्ट्रिय मानव अधिकार संस्थाहरूको एसिया प्रशान्त मञ्च एपिएफ,युएनडिपी,आइएओका प्रतिनिधिहरूसहित ९० जना अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहने छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनको सत्रहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गरिने,आमन्त्रित व्यक्तित्वहरूबीच गहन छलफल गरिने छ । सम्मेलनमा प्रस्तुत हुने विषयहरूमा यस क्षेत्रमा लामो अनुभव प्राप्त अन्य विशेषज्ञहरू, प्राध्यापकहरू, राष्ट्रिय मानव अधिकार संस्थाहरूका प्रमुखहरू लगायतबाट प्यानल मार्फत वृहत छलफल गरिने कार्यक्रमहरू रहेको छ ।

विषयवस्तुमाथि तीन दिनको गहल छलफल, टिप्पणी र सबै सरोकारवालाहरूबाट यस विषयमा गरिने प्रतिवद्धता, चुनौती र समस्या समाधानको उपायहरू समेत संलग्न गरी काठमाडौं घोषणा पत्र जारी गरिने भएको छ । जारी गरिएको उक्त घोषणापत्रलाई कार्यान्वयनको लागि कार्ययोजनाको निर्माण गर्ने योजना रहेको छ ।

सम्मेलनको तयारीको लागि आयोगका सदस्य श्री सुदिप पाठकको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी दिईएको छ । साथै यस कार्यमा आयोगका वरिष्ठ अधिकृत, विषय विज्ञ र कर्मचारीहरू सम्मिलित अन्य समितिहरू मार्फत कार्यहरू सुरु भइसकेको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न पत्राचार समेत सुरु भइसकेको अवस्था छ । राष्ट्रियस्तरमा नेपाल सरकारका प्रतिनिधिहरू, विज्ञहरू, आप्रवासी कामदार क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरू, आयोगका पदाधिकारीहरू, कर्मचारीहरू सहित ३५ जनाको सहभागिता रहने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया