तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लास्टिक झोला निषेधित घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यावसायिक तथा सामाजिक संघसंस्था, आमा समूह, युवा क्लब, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिका साथै सरोकारवालाहरू सहभागी कार्यक्रममा प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री घनश्याम भुसालले बुधबार नगरपालिकालाई प्लास्टिक झोला निषेधित घोषणा गरेका हुन् । उनले सहभागीहरूलाई प्लास्टिक झोला प्रयोग नगर्ने संकल्प गराएका थिए ।
नगरपालिकाले ०७५ वैशाख १ बाट प्लास्टिक झोला निषेधित अभियान सञ्चालन गर्दै आएको थियो । प्लास्टिक झोलासँगै नगरपालिकाले प्लास्टिकका कप, प्लेट, चम्चा पनि निषेध गरेको हो । प्लास्टिकको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पारेकाले न्यूनीकरणको अभियान स्वरूप प्लास्टिकका झोला, कप, चम्चा र प्लेटको बिक्री–वितरण, प्रयोग, आयात, निर्यातलाई निषेध गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।
नगरपालिकाले विकल्पमा कपडा, अल्लो, जुट वा अन्य वातावरणमैत्री वस्तुबाट बनेका झोला तथा वैकल्पिक साधन प्रयोग गर्न आग्रह गर्दै आएको छ । घोषणापूर्व सरोकारवालाहरूसँग पटकपटक छलफल, अन्तरक्रिया गरेको नगरपालिकाले अब प्लास्टिक झोलाको विक्री–वितरण रोक्न कडाइका साथ बजार अनुगमन गरिने जनाएको छ । नगरपालिकाले यस सम्बन्धमा पटकपटक सार्वजनिक सूचना जारी गर्नुका साथै माइकिङसमेत गर्दै आएको छ । नगरपालिकाको आग्रहमा विभिन्न संघसंस्था, सहकारी, टोल विकास संस्थाले नगरवासीलाई कपडाको झोला वितरण गर्दै आएका छन् ।
घोषणा कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुसालले प्लास्टिक निषेधित अभियान राष्ट्रिय महत्वको विषय भएकाले समग्र नेपाल नै कुनै एउटा समयमा प्लास्टिक झोलामुक्त हुने विश्वास व्यक्त गरे । प्लास्टिक मानव स्वास्थ्यका लागि घातक हो भन्ने प्रमाणित भइसकेको सन्दर्भमा त्यसलाई हटाउने अभियान तिलोत्तमाबाट सुरु हुनु सुखद् भएको चर्चा गर्दै उनले यसको अनुसरण अरूपालिकाहरूले पनि गर्नुपर्नेमा जोड दिए ।
यस्तै प्रदेश–५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले अभियान चलाइएसँगै प्लास्टिक झोलाको प्रयोगमा कमी आएको उल्लेख गर्दै सबैले प्रण गर्दा अभियान पूर्णतः सफल हुने बताए । यस्तै प्रदेश सांसद दधिराम न्यौपानेले नगरवासीको इच्छाशक्तिबाटै प्लास्टिक झोलामुक्त गर्न संभव रहेको बताउँदै यसलाई नगरपालिकाले दृढताका साथ कार्यान्वयन गराउनुपर्ने बताए । नगर उपप्रमुख जागेश्वरी चौधरीले प्लास्टिक सडेर वा गलेर नजाने र जलाउँदा पनि वायु प्रदूषण हुने भएकाले यसको नियन्त्रण अपरिहार्य भएको बताए ।
अभियान सुरु भएको १५ महिनामा भएगरेका कामको बारेमा जानकारी गराउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले यो अभियान नागरिकप्रतिको विश्वास र जनमतको सम्मानको जगमा आएको उल्लेख गरे । सो अवसरमा नेपाल कम्युनिस्ट पाटीका नगर अध्यक्ष मोहन चापागाईं, नेपाली कांग्रेसका नगरसभापति हरिलाल पाण्डेय, १६-३६ मौंजा संयुक्त सिँचाइ प्रणालीका सभापति यज्ञ गैरे, अभियानका संयोजक केशवराज न्यौपाने, शान्ति माविका प्राचार्य कुलप्रसाद लामिछाने, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, देवी वाग्ले, हेमराज पौडेललगायतले बोलेका थिए ।
कार्यक्रमका वक्ताहरूले प्लास्टिक झोला निषेध अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन आआफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै छिमेकी पालिकाहरूलाई पनि सँगसँगै हिँडाउन सुझाव दिएका थिए । शान्ति, प्यारामाउन्ट र एपेक्स स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरेको कार्यक्रममा विद्यार्थी कुशल आचार्यले गीत तथा साहित्यकार डा. मुरारी पराजुलीले कविताका साथै व्यवसायी ढालानन्द चालिसेले कागजको थुंगा बनाउने तरिका सिकाएका थिए । कार्यक्रम नगर प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको हो ।
२० वर्ष पहिलेसम्म व्यापारीले कागजको थुंगामा सामान दिने गर्दथे । प्लास्टिक झोलाको प्रयोग अत्यन्त न्यून थियो । तर, पछिल्ला वर्षहरूमा प्लास्टिक झोलाको प्रयोग यत्ति बढेको छ कि फोहोरमैलाको प्रमुख कारण यही नै बनेको छ । नकुहिने फोहोरमैलामा प्लास्टिक अग्रस्थानमा छ । प्लास्टिक झोलाको बढ्दो प्रयोगसँगै पानीको स्रोत, जमिन, वायु प्रदूषण, चौपाया तथा खेतीमा हानि पु¥याउनेजस्ता समस्या भित्रिएका छन् ।
प्रतिक्रिया