भोजपुर । सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुखलाई १ लाख ८० हजार घुस रकमसहित अख्तियारले रंगेहात सोमबार पक्राउ गरेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिँदै गर्दा मध्याह्न १२ बजेतिर अख्तियारले पक्राउ गरिएको हो ।
षडानन्द नगरपालिका–१३ मा रहेको छाँगे खोला सिँचाइ आयोजनाको चालु आवको योजनाको फरफराक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इन्जिनियर यादवले उक्त रकम लिएको बताइएको छ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको करिब ९८ लाख लागत अनुमान रहेको सो सिँचाइ आयोजनाको यो वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको कार्यालय स्रोतले जनाएको छ । उपभोक्ता समितिका एक सदस्यका अनुसार इन्जिनियर यादवले २० प्रतिशत कमिसन दिए मात्र मूल्यांकन गरी बिल पास गरिदिने बताउँदै आएका थिए ।
आवका अन्त्यमा कार्यालयमा उपभोक्ताहरूको कामको चापलाई छाडेर हिँडेका इन्जिनियर यादव कार्यालय नजिकै रहेको फुपू–भदैनी खाजा घर एन्ड लजमा घुस रकम लिन पुगेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले सोही होटलमा उनीहरूलाई रंगेहात पक्रेको हो ।
भोजपुर नगरपालिका–१० भैसिपंखा खुरिलास्थित सिँचाइ आयोजनाको भुक्तानी तथा फरफराकमा समेत इन्जिनियर यादवले आलटाल गरेपछि आफूले वाध्य भएर अख्तियार गुहार्नुपरेको र भ्रष्टाचारीलाई नंग्याइएको सो सिँचाइका उपभोक्ता एवं नेपाली कांग्रेस भोजपुरका सचिव चक्रबहादुर कार्कीले बताए ।
प्रतिक्रिया