पशुपति परिसर सुरक्षामा कडाइ

काठमाडौं, २४ असार । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ आसपासको क्षेत्र शान्त तथा सुरक्षित बनाउन विशेष निगरानीका साथ सुरक्षामा कडाइ गरिएको छ ।

पशुपति विकास कोषका अधिकृत कमल बोगटीका अनुसार, पशुपति क्षेत्रलाई मर्यादित बनाउन मेटलडिक्टेटरमार्फत चेकजाँच सुरु गरिएको हो । ‘पशुपति मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीले मेटलडिक्टेटरबाट जाँचपास गरेर मात्र जान पाइने व्यवस्था गरिएको छ,’ बोगटीले भने ।
पशुपतिमा पुजारी कुटिएको घटनासमेत बेलाबेलामा सार्वजनिक हुने भएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । मन्दिरका भट्ट–भण्डारीलगायतलाई राज्यले सुरक्षा प्रदान गर्दै आएको छ । मन्दिरभित्र क्यामेरा, मोबाइल फोन लैजानसमेत निषेध गरिएको छ । पशुपतिको सुरक्षा अझ मजबुत बनाउन सिसिटिभी क्यामरासमेत जडान गर्न लागिएको बोगटीले जानकारी दिए ।
कोषले सुरु गरेको सुरक्षा व्यवस्था फितलो रहेको दर्शनमा गएकाहरूले महसुस गरेका छन् । शिवशरण भण्डारी भन्छन्, ‘विगतमा भन्दा नयाँ र सुरक्षामा कडाइ अपनाइए पनि भारतका मन्दिरमा जस्तो व्यवस्थापन कमजोर नै पाएँ ।’ उनले मन्दिर परिसरमा मोबाइल फोन, क्यामेराको प्रयोग पनि खुल्लमखुलारूपमा भइरहेको बताए ।
पशुपतिको भेटी संकलनमा पनि पारदर्शिता हुने भएको छ । पशुपति क्षेत्र विकास कोष तथा योजना शाखाले ल्याएको नयाँ नियमअनुसार भेटी सबै पदाधिकारी तथा सुरक्षाकर्मीको रोहवरमा संकलन गरी बैंकमा दाखिला गर्ने गरिएको छ । जम्मा भएको भेटी नै पशुपतिको विकास तथा जीर्णोद्धारमा खर्चिने भएको छ ।
कोषले पूजापाठका समारोहमा दर्शनार्थीलाई सहभागी गराउने नियममा पनि परिवर्तन गरेको छ । पशुपतिवरपरका क्षेत्रमा पहिला हुने गैरकानुनी क्रियाकलापमा रोक लगाउन पनि सुरक्षा व्यवस्थामा कडाइ गरिने र दृष्टीविहीन तथा अशक्तलाई दर्शनका लागि मुख्यद्वारबाट नै प्रवेश दिइने व्यवस्था मिलाइएको छ । (प्रशिक्षार्थी)

प्रतिक्रिया