बाँके । विद्यालय शान्ति क्षेत्र, दण्डरहित सिकाइको चर्चा गरेर नथाकिने विद्यालयहरूमा नै पटकपटक विद्यार्थीहरूलाई दण्डित गर्ने, यातना दिनेलगायत घटना हुने गरेको पाइएको छ । त्यसै मध्ये पछिल्लो समयमा अनुशासनको नाममा ससाना नानीहरूमाथि डन्डा चलाउँदै आएको ब्राइटल्यान्ड स्कुलमा फेरि एउटा बालकलाई यातना दिएको घटना बाहिरिएको छ ।
स्कुलको शैक्षिक वातावरण राम्रो नभएको र सरसफाइमा पनि प्रर्याप्त ध्यान नदिएको भनेर गुनासो गर्ने एक अभिभावकका ४ कक्षामा अध्ययनरत १० वर्षे छोरालाई घाममा उभ्याएर यातना दिइएको अभिभावकले बताएका छन् ।
आफ्ना छोराहरूले स्कुलमा भएका असहजताबारे गुनासो गरेपछि आमा सीता राना गुनासो गर्न स्कुल पुगेगी थिइन् । गुनासो गर्दा प्रिन्सिपल विजय लामाले आमा सीता रानामाथि अभद्र व्यवहार गर्दै तत्काल आफ्ना बच्चाहरूलाई अर्कै विद्यालयमा लैजान भनेर धम्क्याएको बताइएको छ ।
गुनासो गरेकै प्रतिशोधमा आफ्नो कान्छो छोरा शिशिरलाई प्रिन्सिपल लामाले एक घण्टा बाहिर घाममा उभ्याएको र स्कुल बिदा भइसकेपछि अफिस कोठामा बोलाई कठालो समातेर हल्लाएको आमा रानाको भनाइ छ । कपडा फोहोर गरेको आरोपमा प्रिन्सिपल लामाले बालकलाई घाममा उभ्याएर यातना दिएको आमा सीताले जानकारी दिइन् । ‘म सिकायत गरेर फर्किसकेपछि सानो छोरोलाई कपडा फोहोर गरेको भन्दै प्रिन्सिपलले एक घण्टा बाहिरै उभ्याइदिएछन् । अनि स्कुल बिदा भएपछि अफिस कोठामा लगेर किन कपडा फोहोर गरेको भन्दै कठालो समातेर पटकपटक हल्लाएछन्’, सीताले भनिन्, ‘कान्छो छोरोले अब त्यो स्कुल जाँदै जाँदैन भनेर भनिरहेको छ ।’
अन्य बालबालिकाको अगाडि यातना दिएपछि शिशिरको मनोविज्ञानमा पनि नकारात्मक असर परेको छ । आफूलाई एक घण्टा बाहिर उभ्याएर अफिस कोठामा लगेर गाली गरेको साथीभाइले थाहा पाएपछि शिशिरलाई मानसिक रूपमा असहज महसुस भएको उनीसँगको कुराकानीबाट थाहा हुन्छ । शिशिरले भने, ‘प्रिन्सिपल सरले मलाई कपडा कसरी फोहोर हुन्छ हँ भनेर हप्काउनुभयो । मैले ट्वाइलेट जाँदा र उभिएर खाना खाँदा भनेँ । अनि सरले किन फोहोर हुन्छ कपडा हँ ? किन फोहोर हुन्छ कपडा हँ ? भन्दै मेरो कठालो समातेर हल्लाउनुभयो ।’ शिशिरले आफू अफिस कोठाबाट फर्किएको सबै साथीहरूले देख्दा लाज भएको भन्दै अब त्यो स्कुलमा नपढ्ने पनि बताए ।
खजुरा रोडमा सानोतिनो होटल चलाएर दुई छोरालाई जसोतसो निजी विद्यालयमा पढाउँदै आएकी आमा सीता स्कुलको रवैयाबाट चिन्तित छन् । बिग्रँदो पढाइ र असहज वातावरणमा छोराहरूलाई पढाउन त आमा सीताको पनि मन छैन ।
तर, उनले दुवै छोराका लागि सकिनसकी ब्राइटल्यान्डमा भर्ना गर्न थुप्रै लगानी गरिसकेको हुँदा सो रकम डुब्ने डरले असमञ्जसमा परेकी छन् । ‘मैले भर्ना गर्दा तिरेको रकम फिर्ता हुने हो भने म मेरा बच्चाहरूलाई एक दिन पनि त्यहाँ पठाउँदिनँ’, सीताले भनिन्, ‘के गर्ने, के नगर्ने सोच्नै सकेको छैन ।’
स्कुलको वातावरण नराम्रो भएको र प्रिन्सिपलको पछिल्लो व्यवहार थाहा पाएपछि छोराले पनि त्यहाँ पढ्न मन नगरेको आमा सीताले बताइन् । यसअघि एक साताअघि पनि ब्राइटल्यान्ड स्कुलमा कक्षा ३ मा पढ्ने बालिकालाई शिक्षिकाले कुट्दा नाकबाट रगत आएको घटना सार्वजनिक भएको थियो । तर, नगरभित्रका स्कुलहरूलाई नियमन गर्ने निकाय नेपालगञ्ज उपमहानगरपालिकाका मेयर संयोजक रहेको नगर शिक्षा समितिले कुनै वास्तै गरेन । त्यो घटनाबारे अहिलेसम्म उपमहानगरपालिकाले घटनाबारे सामान्य सोधपुछसम्म गरेको छैन । नगर शिक्षा समितिका सदस्य अजयकुमार पाठकले मेयर डा.धवलशमशेर राणा लगातार नेपालगञ्ज बाहिर भएकाले घटनाबारे बुझ्न नभ्याएको जानकारी दिएका छन् ।
०००
प्रतिक्रिया