सिथिल बन्दै जागरण अभियान

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले गत वैशाख २५ गतेदेखि आरम्भ गरेको एक महिने जागरण अभियान सिथिल बन्दै गएको छ । जागरण अभियानमा कार्यकर्ताहरूको सहभागिता घट्दै गएपछि नेताहरू समीक्षामा जुटेका छन् ।
जागरण अभियान शिथिल हुँदै जानुमा नेतृत्व नै दोषी रहेको नेता तथा कार्यकर्ताहरूको दाबी छ । प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले राष्ट्रिय जागरण अभियान शिथिल बन्दै जानुमा संगठनविहीनता नै प्रमुख कारण रहेको उनले जनाएका छन् ।

गत बिहीबार बुटवलमा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव शाहीले प्रश्न गरे–‘भ्रातृसंस्थाहरूको हात खुट्टा बाँधिएको छ , अनि कसरी सफल हुन्छ जागरण अभियान ?’ उनले विगत ३ वर्षदेखि नेपाल तरुणदल ४ जना पदाधिकारीमै सीमित रहेको , गत माघ देखि नेवि संघ केन्द्रीय कार्यसमिति विहीन भएको , विगत दुई वर्षदेखि नेपाल महिला संघको केन्द्रीय समितिको बैठक बस्न नसकेको ,तीन वर्षमा हुनुपर्ने नेपाल दलित संघको महाधिवेशन ६ वर्ष बितिसक्दा पनि हुन नसकेको , नेपाल प्रेस युनियनको म्याद एक वर्ष अघि नै सकिएको उदाहरण दिँदै भने–‘ काम गर्ने भ्रातृ संस्थाहरूले हो । तर, भ्रातृ संस्थाहरूकै यस्तो हालत भए पछि राष्ट्रिय जागरण अभियानले कसरी गति लिन्छ ?’

भ्रातृ संगठन मात्रै होइन नेपाली काँग्रेसले पार्टी संगठनलाई पनि पूर्णता दिन सकेको छैन । कुनै पनि प्रदेशमा कार्य समितिहरू छैनन् । कुनै पनि स्थानीय तह(पालिका)मा कार्यसमिति छैनन् । धेरै जसो प्रदेशसभा निर्वाचन क्षेत्र र केही प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पनि कार्य समिति छैनन् । केन्द्रीय विभागहरू पनि अहिलेसम्म गठन गरिएको छैन । करिब डेड वर्षको प्रतिक्षा पछि सभापति देउवाले यसैसाता छायाँ सरकार गठन गरेका छन् । तर, ४८ सदस्यीय जम्बो छायाँ सरकारको विषयलाई लिएर पार्टी भित्रै प्रश्न उठेको छ । ओलीले संविधान बमोजिम २५ सदस्यीय सरकार गठन गरेको अवस्थामा छायाँ सरकार ४८ सदस्यीय बन्दा कस्तो सन्देश गएको होला ? सभापति देउवामाथि प्रश्न उठाइएको छ ।

यसैबीच जागरण अभियानमा महिलाहरूको प्रतिनिधित्व ३३ प्रतिशत नपुगेको भन्दै महिला नेतृहरूले सभापति देउवालाई ज्ञापनपत्र बुझाएका छन् । महासमिति सदस्य निमा गिरीको नेतृत्वमा पार्टीका शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउँदै जागरण अभियानका क्रममा ‘आसन र भाषण’ साथै अन्य महत्वपूर्ण कामहरूमा महिलाहरूको प्रतिनिधित्व बढाउन माग गरेका हुन् । जागरण अभियानमा आसनमा महिला भाषणमा महिला, कर्ममा महिला हुनुपर्ने साथै कार्यक्रमलाई समाबेसी बनाइनुपर्ने उनीहरूको माग छ ।

पछिल्लो समयमा सभापति देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच वाकयुद्ध नै चलेको छ । जागरण अभियानका सिलसिलामा डा. कोइराला जहाँ पुगेका छन् त्यहाँ उनले सभापति देउवाको कार्यशैली प्रति आक्रोस व्यक्त गर्न छुटाएका छैनन् । सभापति देउवाले दुई महिनाअघि वीरगञ्जमा आयोजित एक सार्वजनिक समारोहमा बोल्दै–‘ नेपाली काँग्रेस कोइराला परिवारको विर्ता होइन , सामाथ्र्य भए चुनाव लडेर नेतृत्व लिए हुन्छ’ भन्दै डा. शेखरलाई चुनौती दिएका थिए । त्यो चुनौती पछि डा. शेखर थप आक्रोसित भएका हुन् ।

काठमाडौंमा गत साता आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनमा सभापति देउवाले डा. शेखरप्रति लक्षित गर्दै भनेका थिए –‘पार्टीमा आन्तरिक प्रतिस्पर्धा त हुन्छ । तर, यहाँ दुश्मनी हुन थालिसक्यो । बोलचाल नै बन्द भइसक्यो, काँग्रेसले काँग्रेसलाई नै हराउने गरी अन्तरघात भएपछि कहाँ चुनाव जित्न सकिन्छ ? गिरिजाबाबु, सुशील सभापति हुँदा चुइँक्क बोल्न नसक्नेहरू अहिले बोल्न पाएका छन् । काँग्रेसमा बल्ल प्रजातन्त्र आएको छ । एक अर्कालाई गाली गरेर केही हुन्न चुनाव जित्ने गरी काम गर्नुहोस् ।’

त्यसको भोलिपल्ट शनिबार चितवन–काठमाडौं सम्पर्क समितिले आयोजना गरेका कार्यक्रममा नेता डा. शेखरले सभापति देउवालाई जवाफ दिए । उनले भने–‘सभापति देउवाका अभिव्यक्ति तथा गतिविधि राजनीतिक संस्कार र नैतिकता अनुसारका भएनन् । सभापति भएर गुट चलाउने? अझै बोलचाल गर्ने वातावरण छैन भन्ने ? सभापतिले बनाउनुप¥यो नि बोलचाल गर्ने वातावरण । देउवाले पार्टीलाई तदर्थवादमा लैजाने कोसिस गरेको उल्लेख गर्दै उनले भने– ‘चार जनाले तरुण दल हाँकिरहेका छन्, पूर्णता पाउन सकेको छैन, नेविसंघ नेतृत्वविहीन भएको महिनौँ भइसक्यो । यसरी तदर्थवादमा भ्रातृ संगठन र पार्टी चलाउन हुँदैन ।’

गाउँदेखि वडासम्म इकाइ नै नबनेको अवस्थामा कसलाई जागरुक बनाउन राष्ट्रिय जागरण अभियान चलाउने ? भनेर प्रश्न गर्दै कोइरालाले भने–‘ जागरण कसलाई चाहियो ? नेतृत्वलाई, हामीलाई कि तपाईंहरूलाई ? कोइरालाले कार्यकर्तालाई सोधे, ‘तपाईंहरू त यसै जागरुक हुनुहुन्छ । झगडा गरिराख्ने हामीलाई जागरण चाहिएको हो ।’

काँग्रेसभित्र आन्तरिक लोकतन्त्र हराउँदै गएको उल्लेख गर्दै उनले भने– ‘जागरण अभियानका बेलामा पार्टी हितविपरीत कसैले बोले अनुशासन समितिमा कारबाहीका लागि लेखी पठाउन भन्दै कानुन व्यावसायीलाई जिम्मेवारी दिइएको छ । काँग्रेसभित्र यस्तो काम लोकतन्त्र विरोधी हो । नेताका आलोचना नगर्ने हो भने काँग्रेस कस्तो लोकतन्त्र चाहन्छ ? गाउँमा गएर कम्युनिस्टको विरोध त गर्नु नै छ । यसमा कुनै शंका छैन । तर, हामी काँग्रेसीकै बीचमा बोलचाल हुन सकेन भने कसलाई जागरुक बनाउने ? पार्टीलाई तदर्थवादबाट बाहिर निकाल्न छिटो १४ औँ महाधिवेसनको तयारी गर्नुको विकल्प छैन । तर नेतृत्वमा राजनीतिक संस्कार र नैतिकताको खडेरी परेको छ । विपीका अनुयायी हुन् भने सभापति देउवा आलोचनाबाट नभागुन् । विपीले एक पटक पत्रकारलाई बोलाएर मेराविरूद्ध लेख भन्नुभएको रहेछ । अहिले लेख्न त के बोल्यो भने पनि अनुशासनको कारबाही हुन्छ ।’

प्रतिक्रिया