काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थिरता, दिगो शान्ति र आर्थिक विकासमा मुलुक अग्रसर बनेको परिवर्तित सन्दर्भलाई गहिरोसँग आत्मसात् गर्दै पत्रकारिताजगत्ले थप रचनात्मक बनेर समृद्धिको यात्रालाई सार्थक तुल्याउन कटिबद्ध बन्नुपर्ने बताएकी छन् ।
राष्ट्रिय पत्रकारिता दिवस, २०७६ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज शीतल निवासमा आयोजना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण एवम् वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा सम्बोेधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको र प्रेस स्वतन्त्रता लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण माध्यम भएकाले उत्तरदायी पत्रकारिताले नै प्रेस स्वतन्त्रतालाई सार्थक र सबल बनाउने पनि उल्लेख गरिन् ।
नेपालमा पत्रकारिता क्षेत्रले सामाजिक चेतना तथा जागरण, मानव अधिकार र लोकतान्त्रिक प्रणालीका पक्षमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘लोकतन्त्र र उत्तरदायी पत्रकारिताबीचको सम्बन्ध घनिष्ट हुन्छ । यीमध्ये एकको अनुपस्थितिमा अर्को क्षेत्र जीवन्त रहन सक्दैन ।’
मुलुकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको क्षेत्रमा ठूलो प्रगति भएको तथा कृषिको आधुनिकीकरण र व्यवसायीकरणसहित पर्यटन प्रवद्र्धन गरेर अर्थतन्त्र सुदृढीकरण गर्न राज्यसंयन्त्र कटिबद्ध रहेका जनाउँदै उनले औद्योगिकीकरणसहित स्वरोजगार र रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएको उल्लेख गरिन् ।
राष्ट्रपति भण्डारीले मुलुकमा भएका सकारात्मक घटना र सामाजिक आर्थिक क्षेत्रका सफलताका सूचनालाई सर्वसाधारणसम्म पुर्याउनु र आम जनतालाई विकास प्रक्रियामा प्रेरणा प्रदान गर्नु आमसञ्चारजगत्को नैतिक दायित्व भएको बताइन् ।
उनले भनिन्, ‘यो तीतो यथार्थ हो कि मुलुकबाट सामाजिक विकृति विसङ्गतिहरु निर्मूल भइसकेका छैनन् । संवैधानिक प्रस्थापनाबमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको प्रक्रियाले सार्थकता हासिल गरेसँगै ती विकृति–विसङ्गतिहरु क्रमशः समाप्त हुँदै जानेछन् ।’
सामाजिक आर्थिक विकासको गतिसँगै नयाँ संस्कृतिको निर्माण हुने र मुलुक सांस्कृतिक जागरणको नयाँ परिवेशमा पदार्पण गर्ने बताउँदै भण्डारीले समाज विकासको यस नियमलाई सम्बद्ध सबैले आत्मसात् गर्नुपर्ने र अझ चेतना र जागरणका संवाहक आमसञ्चार क्षेत्रले यस्तो प्रक्रियालाई उजागर गर्नुपर्नेमा जोड दिइन् ।
पत्रकारिता क्षेत्रले सबैलाई उत्तरदायी बन्न प्रेरित गर्ने र आफूलाई पनि अझ बढी उत्तरदायी बनाउँदै लैजानेछ भन्ने विश्वास व्यक्त गर्दै उनले पत्रकारिता दिवसका अवसरमा यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्ने परम्पराले राज्य र आमसञ्चार क्षेत्रबीचको सम्बन्धलाई अझ विश्वासिलो र प्रगाढ बनाउँदै लैजाने अपेक्षा व्यक्त गरिन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र नेपालीको आधारस्तम्भ रहेको जनाउँदै लोकतन्त्रलाई सबल बनाउन पेशागत मर्यादा, सम्पादकीय स्वतन्त्रता र आर्थिक स्वतन्त्रतासहित प्रेसको स्वर्ण युग बनाउनेतर्फ सरकारले नयाँ आमसञ्चार कानूनहरु ल्याउन लागेको जानकारी दिए । सञ्चार क्षेत्रका आलोचनालाई सरकारले स्वीकार्ने उल्लेख गर्दै उनले प्रेसले पाठक र दर्शकप्रति आफ्नो आचारसंहिता घोषणा गरी छ–छ महीनाको त्यसको समीक्षात्मक विवरण आफैले सूचित गनुपर्ने प्रणाली विकास गरिने बताए ।
मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पत्रकारितालाई मर्यादित, जिम्मेवार र स्वतन्त्र कायम राख्न सरकार कानूनी तर्जुमामा लागेको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता दिवस मनाइनु मौलिक उत्साहको पक्ष भएको बताउँदै समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले पनि योगदान गर्ने जनाए ।
कार्यक्रममा जनही रु दुई लाख राशिको वरिष्ठ पत्रकार सम्मान बद्रीविनोद प्रतीक र तीर्थ कोइरालालाई प्रदान गरियो भने रु एक लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट निर्मला शर्मा, खिलबहादुर भण्डारी, माधव विद्रोही, उमीद बागचन, डण्ड गुरुङ र मालाकुमारी कर्णलाई पुरस्कृत गरियो ।
सरकारले आज ‘उत्तरदायी आमसञ्चार, लोकतन्त्रको आधार’ को नारासहित दिवस मनाएको हो । नेपालमा गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानी विसं २०७३ देखि आजका दिनलाई यो दिवस मानिँदै आएको हो ।
प्रतिक्रिया