रामपुर नगरपालिका–६ विजयपुरका जमुना घिमिरेले दुई छोरीको साथमा जीवनयापन गर्दै आएकी छन् ।
श्रीमानकाे निधन भएपछि उनलाई जीवन गुजारा गर्न निकै समस्या भएको थियो । कसरी कसरी घर चलाउने भन्ने समस्यामा थिइन् उनी । दुई छोरीको पठनपाठन र घरायसी खर्च चलाउने जिम्मेवारी उनीमाथि आइपुगेको थियो । दुःखकष्टका साथ जनजीविका चलाउँदै आएका घिमिरेलाई रामपुर नगरपालिका–६ कार्यालयले आयआर्जन गर्नका लागि बाख्रा उपहार दिएपछि उनको परिवारमा खुसियाली छाएको छ ।
‘एकल महिलालाई लक्षित गरी वडाले गरेको यस कार्यप्रति खुसी छु, बाख्रा पालेर आयआर्जन गरेर परिवारमा आम्दानीको स्रोत बढाउनेछु,’ उनले भनिन् । माऊ बाख्राको राम्रोसँग स्याहारसुसार गरी यसैबाट संख्या बढाउँदै लैजाने उनले बताइन् ।
एकल महिला भनेपछि अझै पनि समाजमा व्यवसाय गर्न असहयोग गर्ने चलन विद्यमान नै छ । एकल जीवन बिताएका महिलाको जीवनस्तर उकास्नका निम्ति कार्यालयले एउटा माऊ बाख्रा उपहारस्वरूप दिएको छ । एउटा माऊ बाख्रालाई राम्रोसँग घाँसपात, दानापानी गरेर गुजारा चलाउने कविता भण्डारीले बताइन् ।
माऊ बाख्रा पाएपछि उनले खुसी हुँदै भनिन्, ‘समाजमा एकल महिला भनेर हेयको दृष्टिकोण राख्नेका निम्ति अब्बल महिलाका रूपमा बाख्रापालन व्यवसाय गरेर नमुनाका रूपमा आफूलाई चिनाउनेछु ।’ बाख्रा पालेर घरखर्च, छोराछोरीको पढाइ खर्च चलाउने उनको धोको छ । एकल महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउन वडाका ६० वर्ष उमेरभित्रका नौजना एकल महिलालाई बाख्रा वितरण गरिएको हो ।
यहाँका झुमाकुमारी कुमाल, शुभद्रा थापा, माया घर्ती, भानियमाया घर्ती, मुमाकुमारी पौडेल, दिलकुमारी खासु, कविता भण्डारी, स्यानी कुमाल र जमुना घिमिरेलाई प्रतिव्यक्ति पाँच÷पाँच हजारका दरले एक÷एक वटा माऊ बाख्रा उपहारस्वरूप वितरण गरिएको छ । एकल महिला शीर्षकमा विनियोजित ५० हजार बजेटबाट आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले उनीहरूलाई अनुदानमा माऊ बाख्रा वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।
यस कार्यक्रमले महिलालाई आयआर्जनमा ठूलो टेवा पुग्ने रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् । उनले नगरभित्रका एकल महिलालाई भेला गराई नगरस्तरीय समिति गठन गर्ने र आयआर्जन, सीपमूलक तालिम सञ्चालन गर्ने नगरपालिकाले योजना बनाएको बताइन् ।
वडा कार्यालयले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न अनुदानका कार्यक्रम गरिरहेको छ । सामूहिक तरकारी खेती गर्न महिला समूहलाई अनुदान रकम, मल, बिउबिजन, कृषिजन्य सामग्री सहयोग गरिरहेको छ । पाँच वर्षभित्र कृषि र पर्यटनको रूपमा चिनाउने लक्ष्यका साथ वडाले विभिन्न कार्यक्रम अगाडि बढाएको छ । नगरकै कृषि उत्पादनका लागि नमूनाका रूपमा चिनिएको छ ।
प्रतिक्रिया