थुनुवाले बचाइन् सुत्केरीको ज्यान

सल्यान । रगतको अभावमा जिल्ला अस्पताल सल्यानमा छट्पटाइरहेकी रोल्पाकी एक सुत्केरीलाई जिल्ला कारागारमा १८ महिनादेखि थुनुवामा रहेकी एक महिलाले रगत दिएर बचाएकी छन् । रोल्पाको गंगादेव गाउँपालिका–७ उपल्लो जायाकी २१ वर्षीया मनिषा केसी वलीलाई जिल्ला कारागार सल्यानकी थुनुवा पूजा घर्तीले रगत दिएर बचाएकी हुन् ।

शुक्रबार बिहान ८ बजे सुत्केरी ब्यथा लागेकी उनलाई बेलुकी ७ बजेसम्म पनि बच्चा नजन्मिएपछि परिवारले रोल्पाको राक स्वास्थ्यचौकी लगेको पति चोपीलाल वलीले बताए । स्वास्थ्यचौकीमा लगेपछि ब्यथा झन् बढ्दै गएको त्यहाँ सुत्केरी बनाउन सम्भव नभएपछि शनिबार बिहान ७ बजे जिल्ला अस्पताल सल्यानमा लगिएको पति वलीले बताए ।

‘अस्पतालमा ल्याउँदा उहाँ अर्धचेत अवस्थामा हुनुहुन्थ्यो, पेटको बच्चा मरिसकेको थियो’, अस्पतालका डाक्टर प्रदीप शर्माले भने, ‘ साल पाठेघरको मुखमा आएर बसेको थियो’, उनले भने, ‘गर्भावस्थाका बेलामा जाँच नगरेको, एक्सरे नगरेको, रगतको समूह थाहा नभएको कारण उपचारमा समस्या भयो ।’ तेस्रोपटक सुत्केरी भएकी वलीको अहिले भने अवस्था सामान्य छ ।

पेटको बच्चा पहिले नै मरिसकेकाले शल्यक्रिया गरेर आमाको ज्यान बचाउन सफल भएको डाक्टर शर्माले बताए । मनिषाको झण्डै १८ घण्टापछि शल्यक्रिया गरेर बच्चा निकालिएको हो । ‘उहाँले मनिषालाई शल्यक्रियापूर्व तीन पोका र पछि थप दुई पोका रगत दिएकोले अवस्था क्रमिक रूपमा सामान्य बन्दै गएको हो,’ डा. शर्माले बताए ।

रगत दिएर मात्रै शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने बाध्यता भयो उपचारमा संलग्न डाक्टर शर्माले भने । जिल्ला अस्पतालमा रगत नहुँदा स्वास्थ्यकर्मी र बिरामीका आफन्तहरूले स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीमा खोजि गरेका थिए । पूजाका साथै सशस्त्र प्रहरी गोपाल बस्नेत, अस्पतालका अंकित चन्द, स्टोरकिपर मनोज सिंहलेसमेत रक्तदान गरेका थिए । घर्तीले जिल्ला अस्पतालको बेडमा रगतको अभावमा सुत्केरी छट्पटाइरहेको थाहा पाएपछि रक्तदान गरेको बताइन् ।

को हुन् पूजा ?
तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण तथा हत्यामा संलग्न देखिएको आरोपमा पूजा घर्तीलाई प्रहरीले ०७४ असारमा पक्राउ गरेको थियो । श्रेष्ठलाई अपहरण गरेको आरोप लागेकी पूजालाई भारतबाट पक्राउ गरेको थियो । तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको ०७४ जेठ २६ गते तुलसीपुरबाटै पूजाको योजनामा अपहरण गरिएको प्रहरीले जनाएको थियो ।

प्रहरीको अनुसन्धानअनुसार तुलसीपुर—६ निवासी पूजा घर्ती, उनका बुबा टीकाराम घर्ती र सल्यान झिम्पे–४ कामानबहादुर भण्डारी अपहरणको घटनामा संलग्न भएको भन्दै दाङ प्रहरीले स्केचसहित विवरण सार्वजनिक गरेको थियो ।

प्रहरीले पक्राउ परेका अविरल महतराको बयानका आधारमा व्यवसायी श्रेष्ठको शव २१ दिनपछि सल्यानको झिम्पे रेञ्जको जंगलमा फेलापारेको थियो । सोही वेलादेखि पूजा जिल्ला कारागार सल्यानमा थुनुवाको रूपमा बसिरहेकी छन् । उनको मुद्दाको अन्तिम फैसला भने भएको छैन ।

रक्त सञ्चार नहुँदा समस्या
अस्पतालमा रगत अभाव हुँदा बिरामीलाई समस्या हुने गरेको छ । उपचारका क्रममा आवश्यक रगत अस्पतालमा नहुँदा जटिल उपचार गर्न समस्या हुने गरेको हो । बिरामीले तत्काल रगत नपाउने र पाए पनि समूह नमिल्ने भएकाले बिरामी समस्यामा पर्ने गरेका छन् । गाउँबाट उपचारमा आएका कतिपय बिरामी तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ ।

नेपाली सेना, प्रहरी, स्थानिय लगायतका निकायमा अनुरोध गरेर समस्या टार्दै आएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डन डा.अर्जुन बुढाले बताए । सुत्केरी आमा र दुर्घटनामा घाइते बिरामीलाई रगत बढी चाहिने भए पनि जिल्लामा रक्त सञ्चार केन्द्र नहुँदा उपचारमा निकै समस्या हुने गरेको छ ।

प्रतिक्रिया