आङ खस्ने समस्या समाधानका लागि अभियान चलाइने

वीरगञ्ज । आङ खस्ने समस्या समाधानका लागि स्थानीयतहहरूमा अभियानको रूपमा चलाउनुपर्ने पर्साका जनप्रतिनिधिले बताएका छन् ।

वीरगञ्जमा शनिबार आयोजित आङ खस्ने समस्या एवं यौन तथा प्रजननअधिकार सवाल बिस्तारितसम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा बोल्ने पर्साका विभिन्न कार्यपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूले महिलाको आङ खस्ने समस्या समाधानका लागि सहमत भएका हुन् ।

जिल्ला समन्वय समिति, पर्साको सभाहलमा भएको कार्यक्रममा बोल्दै वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले अगामी आर्थिक वर्षदेखि यौन तथा प्रजननसम्बन्धी कार्यक्रम तय गरिने बताए । महिलाहरूको आङ खस्ने समस्या समाधानका लागि अगामी आर्थिक वर्षदेखि अभियानकै रूपमा सञ्चालन गरिने बताए । हाम्रो समुदायको लागि महिला प्रजनन अधिकारसम्बन्धी शिक्षा पनि जरुरी रहेको बताउँदै उनले भने, ‘त्यसको लागि पाठ्यक्रममै समावेश गरिनुपर्छ ।’

पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले महिला प्रजननसम्बन्धी ज्ञान महिला र पुरुष दुबैको जरुरी रहेको वताए । यस विषयमा महिला र पुरुषलाई निरन्तर अभियानको रूपमा जानकारी गराउनुपर्छ उनको भनाइ थियो । यस्तै गैरसरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल, पकहा मैनपुर गाउँपालिका अध्यक्ष विजय चौरसिया, विन्ध्यवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देवी, नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बन्जारा, पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, जगरनाथपुर गाउँपालिकाका राज कुशवाहा, छिपहरमाई गाउँपालिकाका देवनाथ साह लगायतकाले अगामी आर्थिक वर्ष देखिको नीति तथा कार्यक्रम आङ खस्ने समस्या समाधानका लागि कार्यक्रम तय गरिने प्रतिबद्धता जनाए ।

वातावरणीय कृषि तथा बिकास केन्द्र काठमाडाैंको सहयोगमा र गैरसरकारी संस्था महासंघ नेपाल पर्साको आयोजनामा कार्यक्रम भएको थियो । महिला प्रजननअधिकार कार्यक्रमअन्तर्गत भएको कार्यक्रममा पर्साका विभिन्न कार्यपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सहयोगी संस्था वातावरणीय कृषि तथा विकास केन्द्र काठमाडौंकी ईश्वरी नेपाल, सुमेश भट्टराई र उमेश यादवले गरेका थिए ।

प्रतिक्रिया