कर्णाली प्रदेशमा पर्ने सल्यान जिल्ला प्राकृतिक रूपले धेरै सम्भावना भएको जिल्ला हो । जिल्ला भौगोलिक रूपमा विकट रहेपनि प्राकृतिक र सुन्दरताले भरिपुर्ण यस जिल्लालाइ यहाँको रेसाबिहिन अदुवाले नेपालमै उत्कृष्ट बनाएको छ ।
नेपालको वनस्पति विविधताको पहिचान अध्ययन अनुसन्धान, प्रविधि विकास गरी सदुपयोग तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ वन तथा वातावरण मन्त्रालय अन्र्तगत वनस्पति विभागको स्थापना भएको हो । आ.व ०५६-५७ को विभागिय सांगठनिक ढांचा परिर्वतन गरिएअनुरूप ७ जिल्लामा जिल्ला वनस्पति कार्यालय स्थापना गरिएका छन् । ति मध्ये जिल्ला वनस्पति कार्यालय सल्यान पनि एक हो । जुन क्षेत्र अहिले निकै चर्चामा रहेको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका–३ मूलपानि वनस्पति उद्यान नमुना बन्दै गएको छ । लोप हुदै गएका विभिन्न प्रजातिका वनस्पतिहरूलाई संरक्षण गरेर उद्यानमा राखिएको छ । उद्यानले वनस्पति संरक्षण, पर्यापर्यटन र अनुसन्धानमा सहयोग गरेको छ । आफुहरूले निरन्तर मेहनत गरेका कारण उद्यानलाई यस क्षेत्रकै नमुना वनस्पति उद्यानको रूपमा विकास गरेको वनस्पति अनुसन्धान केन्द्र मूलपानी सल्यानका प्रमुख दिनेश बरालले बताए ।
साढे ३ सय बढी वनस्पति संरक्षित
‘उद्यानमा साढे तीन सय बढी वनस्पति संरक्षण गरेर राखिएकोे छ । ३ सय ७५ प्रकारका वनस्पति संरक्षण गरेर राखिएको छ, वनस्पति अनुसन्धान केन्द्र मूलपानी सल्यानका प्रमुख बरालले भने, राज्यले प्राथमिकताको सूचीमा राखेका तथा आर्थिक रूपमा र औषधिको रूपमा महत्वपूर्ण मानिएका वनस्पतिहरू संरक्षण गरेर राखेका छौँ ।’
०५६ सालमा स्थापना भएको वनस्पति उद्यान ११३.५ रोपनी क्षेत्रफलमा फैलिएको छ । वनस्पति उद्यानको प्रमुख उद्देश्य वनस्पतिको संरक्षण तथा अध्ययन अनुसन्धान गर्नु रहेको छ । अनुसन्धान केन्द्रका हेड फिल्ड असिस्टेन्ट कृष्ण पुनका अनुसार अहिले त हेर्नेहरूको समेत भिड लाग्ने गर्छ । यहाँ अवलोकनको लागी आउनेहरू कसैलाई पनि शुल्क लाग्दैन ।
यस वनस्पति उद्यानमा मुख्य मुख्य महत्वपूर्ण वनस्पतिहरू मध्ये श्रीखण्ड, टिमुर, विजयसाल, सतिसाल, सुगन्धवाल, चिराईतो, कुरिलो, घिउकुमारी, तेजपात, लौठसल्ला, केशर, सुगन्धकोकिला, सर्पगन्धा अश्वगन्धा पिपलालगायत ३ सय ७१ वटा प्रजातीको संरक्षण गरिएको कार्यालयले जनाएको छ ।
यस उद्यानको मुख्य आकर्षणमा यस क्षेत्र विद्यमान २८ प्रजातीका सुनाखरीलाई संरक्षण गरी राखिएको छ भने नेपालवाट साइटिसको अनुसूचीमा परेका १३ प्रजातीका वनस्पतिमध्ये यस उद्यानमा हुर्कने सक्ने साइकस, लौठसल्ला, सर्पगन्धा, गुन्सी तथा सुनाखरी को साइटिक गार्डेन बनाई संरक्षण गरिएको छ । यसबाहेक टिमुर उत्पादन पोलीहाउस, फर्न गार्डेन, रक गार्डेन, जलिय उद्यान, अर्किड हाउस, मौसमी फूल बगैचा, जडिवुटी सुचना केन्द्र, आदि रहेका छन् ।
मूलपानी वनस्पति उद्यानभित्र १० वटा उपसंरचनाहरू बनाएर उद्यान तयार पारिएको पुनले बताए । कर्णाली प्रदेशकै एक मात्र वनस्पति उद्यानको रूपमा रहेको यस उद्यानले वर्षेनी हजारौँको संख्यामा लोपोन्मुख तथा बहुमूल्य जडिबुटीहरूका विरुवा उत्पादन गरी कर्णाली प्रदेशका १० वटै जिल्ला र अन्य जिल्लामा पठाउँदै आएको कार्यालयले जनाएको छ ।
आन्तरिक पर्यटन विकासमा टेवा
मूलपानी उद्यानमा अहिले आन्तरिक पर्यटनको घुइँचो नै लाग्ने गरेको छ । पछिल्ला वर्षहरूमा उद्यानमा आन्तरिक तथा बाह्य पर्यटकहरू बढ्दै गइरहेका कार्यालय प्रमुख बरालले जानकारी दिएका छन् ।
‘उद्यानमा विदाको दिनमा रमाइलो गर्नका लागि समेत निकै सर्वसासधारण आउने गरेका छन् बरालले भने, विभिन्न जडिबुटी र वनस्पतिको अनुुसन्धानको लागि अनुसन्धानकर्ताहरू तथा शैक्षिक भ्रमणका लागि विद्यार्थीहरू उद्यानमा आउने गरेका छन् ।’
विद्यार्थी र अनुसन्धानकर्ताको लागि उद्यान निकै सहायक सिद्ध भएको सरोकारवालाहरूले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम शर्माले मूलपानी उद्यान वनस्पति विज्ञानसम्बन्धी अध्ययन गर्ने विद्यार्थी र शोधकर्ताका लागि ज्यादै उपयोगी भएको बताउँछन् ।
‘अनुसन्धान र अवलोकनले उनिहरूलाई सजिलो त बनाएको छ नै शर्माले भने, जिल्लामा भित्रिने पर्यटकको संख्यामा समेत बृद्धि भएको छ ।’ आम्दानीको महत्वपूर्ण स्रोत वन र वनस्पतिको संरक्षणका लागि राज्यबाट पनि आवश्यक पहल हुन जरुरी रहेको उनले बताए ।
वैज्ञानिक अध्ययन तथा अनुसन्धानको पद्धतिद्वारा वानस्पतिक स्रोत पहिचान गरि प्रविधि विकासको माध्यमबाट तिनको यथास्थान तथा स्थानान्तरित संरक्षण तथा व्यवस्थापन गर्ने एवं वनस्पति स्रोतको दिगो विकासमार्पmत् मूलुकको आर्थिक विकासमा टेवा पुर्याउन भन्दै स्थापना भएको वनस्पति उद्यान अहिले पर्यटकको रोजाइमा समेत पर्ने गरेको छ ।
अत्याधिक मनोरम र आकर्षक यस स्थानमा पिकनिक स्थलका रूपमा प्रयोग गर्न जिल्ला भित्र र बाहिरबाट समेत यहाँ मानिसहरू आउने गरेका छन् भने उद्यान शैक्षिक अध्ययन र अनुसन्धानको केन्द्रसमेत बन्दै गएको छ । मौसमी, बेमौसमी कृषि पर्यटनको सम्भावना बोकेको यो क्षेत्र अहिले नमुना बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।
वनस्पति उद्यान केन्द्रका कार्यक्रम
वनस्पतिक स्रोतको वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासको संरक्षण तथा व्यवस्थापन गर्ने एवं वनस्पति स्रोतको दिगो उपयोगको लागि आयमूलक रोजगार तथा जनताको सामाजिक एवं आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यले अहिले जिल्लामा यस कार्यालयले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको कार्यालयले जनाएको छ ।
लोपोन्मुख वनस्पति संरक्षण तथा उद्यान विकास गरेर वनस्पति अध्ययन तथा अनुसन्धान, वनस्पति सदुपयोग तथा बजारीकरण र जडिबुटी विकास कार्यक्रम सञ्चालन गरेको छ । वनस्पति जैविक विविधतासम्बन्धी शिक्षा, जनचेतना, पुष्प व्यवसाय आदि सेवा प्रदान गर्न, वानस्पतिक स्रोतको अध्ययन अनुसन्धान सर्वेक्षण संकलन तथा पहिचान गरी त्यसको महत्व जनस्तरसम्म पु¥याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
वानस्पतिक विविधता जडिबुटीलगायतका गैरकाष्ठ वन पैदावरहरू वानस्पतिक अनुवांशिक स्रोतहरूको सर्वेक्षण, संरक्षण, अध्ययन तथा अनुसन्धान गर्ने काम भएको छ । वनस्पति सदुपयोग तथा बजारीकरणमा लोप हुँदै जान लागेका जडिबुटीको संरक्षण, खेती प्रर्वद्धन तथा बिस्तार गराउन र जडिबुटीसम्बन्धी व्यावसायिक खेतीको बारेमा तालिम, प्रचार–प्रसार, संकलन, प्रशोधन, प्रवद्र्धन तथा बजारीकरण समेत गराई ग्रामीण तथा दुर्गम क्षेत्रका जनताको रोजगारी एवं आयआर्जन वृद्धि गर्ने अवसर बढाउने काम भएको कार्यालयले जनाएको छ ।
छिमेकी जिल्लामा पनि बिरुवा लैजान्छन्
औषधीय गुण भएका तथा अन्य विभिन्न महत्वपूर्ण वनस्पतिका विरुवाहरू उत्पादन गर्दै आएको मूलपानी वनस्पति उद्यानबाट छिमेकी जिल्लाहरूमा पनि बिरुवा पठाइने गरिएको छ । यहाँ उत्पादन भएका विरुवा जिल्लाका विभिन्न स्थानका साथै रुकुम, रोल्पा, कैलाली, दैलेख लगाएतका जिल्लाबाट पनि विरुवाको माग आउने गरेपछि त्यहाँसम्मपनि केही बिरुवा पठाइएको हेड फिल्ड अधिकृत कृष्ण पुनले जानकारी दिए ।
गत वर्ष मात्रै झन्डै ३ लाख बढी विरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । उनका अनुसार जिल्ला भित्र तथा वाहिरबाट गरेर १० लाख भन्दा बढी विरुवाको माग आए पनि ३ लाख विरुवा मात्रै किसान तथा विभिन्न कृषक समूहहरूलाइ उपलब्ध गराएको हो । उनले कृषकले माग गरे अनुसारको बिरुवा उपलव्ध गराउन नसकि रहेको बताए ।
जडिबुटी उद्यानले जिल्लाका तीन स्थानमा नर्सरी स्थापना गरेर विरुवा उत्पादन गरिरहेको छ । मूलपानी वनस्पति उद्यान, सिमापाखा जडिबुटी नर्सरी सल्लेखोला र नमुना नर्सरी मूलपानीमा विभिन्न जडिबुटिका बिरुवा उत्पादन गरिएको कार्यालयले जनाएको छ ।
जडिबुटीहरू मानिसका आधारभुत आवश्यकता पूरा गर्न जति अपरिहार्य छन् पर्यावरणीय सन्तुलन कायम राख्न पनि त्यतिकै आवश्यक भएकाले पछिल्लो समय जटिबुटी खेतीतर्फ किसानहरूको आकर्षण देखिन थालेको छ । प्रकृतिको अमूल्य र निःशुल्क उपहारको रूपमा प्राप्त जडिबुटी अहिले गाउँघरमा अत्यधिक रूपमा संकलन भइरहेको हुँदा यसतर्फ सबै सचेत हुनुपर्ने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया