काठमाडौँ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ । नेपाल प्रहरी अस्पतालको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘शिशु स्याहार केन्द्र’ तथा विशिष्ट व्यक्तिको उपचारका लागि स्थापना गरिएको ‘भिआइपी कक्ष’को उद्घाटन गरेका छन् । विसं २०४० चैत २७ गते २५ श्ययाबाट सुरु भएको उक्त अस्पतालमा अहिले १५० श्यया रहेको छ ।
सोही अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधा भन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे । ‘अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, आगामी दिनमा झन् राम्रो सेवा प्रदान गर्न लाग्नुहोस्, ‘उनले भने । सोही क्रमममा व्यावसायिकतालाई विवेकपूर्ण ढङ्गले उत्कृष्ट रुपमा प्रस्तुत गर्नुपर्ने पनि आग्रह गरे ।
महानिरीक्षक खनालले प्रहरी अस्पताललाई अरू अस्पतालभन्दा उत्कृष्ट अस्पतालका रुपमा विकास गर्न मन, वचन र कर्मले काम गर्न सबै अस्पतालका चिकित्सक तथा कर्मचारीलाई निर्देशनसमेत दिए । अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० श्ययाको अस्पतालका रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको जानाए ।
अस्पतालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बारा–पर्सामा भर्खरै गएको हावाहुरीबाट घाइते जनताको उपचार, काठमाडौँका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताए ।
नेपाल प्रहरी र नेपाल प्रहरीका आश्रित परिवारलाई उपचार गर्दै आएको अस्पतालले गत वर्षदेखि सर्वसाधारण जनतालाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालले विसं २०७४ चैतदेखि २०७५ फागुनसम्म एक लाख ५१ हजार ७२६ प्रहरी कर्मचारी, प्रहरी कर्मचारीका आश्रित परिवार र सर्वसाधारणलाई उपचार गरेको जनाएको छ ।
प्रहरी अस्पतालले आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा. मीनराज पाठकले जानकारी दिए। यस्तै अस्पतालले वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, वार्षिकोत्सव पूजा र बिरामीलाई फलफूल वितरणसमेत गरेको डा. पाठकले बताए ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले अस्पतालका प्रमुख डा. थापालाई अस्पतालमा प्रयोग हुने तन्ना र तकियाको खोल प्रदान गरेकी थिइन् । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले प्रदान गरेको रु एक करोड ५० लाखको थैली अस्पतालका प्रमुख डा. थापालाई हस्तान्तरण गरे ।
उनले अस्पतालबाट वार्षिक रुपमा प्रकाशन हुँदै आएको ‘आरोग्य दर्पण–२०७५’ को विमोचनसमेत गरे । अस्पतालमा रहेर उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया