अस्थायी शिक्षकको स्थायी प्रक्रिया सुरु

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले १४ हजार २ सय ७१ अस्थायी शिक्षकको स्थायी नियुक्ति तथा पदस्थापनाको प्रक्रिया सुरुगर्न सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ । केन्द्रले प्राथमिक तहमा सिफारिस भएकालाई कार्यरत विद्यालयमै र निमावि र माविमा सिफारिस भएकालाई विषय मिल्ने भएमा मात्रै कार्यरत विद्यालयमा नियुक्ति गर्ने आधार सहित इकाइलाई परिपत्र गरेको हो ।

परिपत्रमा उक्त आधारअनुसार पदस्थापना हुन नसकेका पियन, अस्थायी वा सट्टा शिक्षकको हकमा योग्यताक्रमअनुसार जिल्लाको रिक्त पदमा पदस्थापना गर्न भनिएको छ ।  केन्द्रले महिला र अपांग शिक्षकलाई रिक्त दरबन्दी र विषयका आधारमा पायक पर्ने विद्यालयमा पदस्थापनाको व्यवस्थापन व्यवस्था गर्न भनेको छ । निमावि र माविको क्षेत्रगत सूची सहित गरिएको उक्त परिपत्रमा सोही सूचीभित्रबाट सम्बन्धित इकाइले उत्तीर्ण हुनेको रोल नम्बर का आधारमा आफ्नो जिल्लासँग सम्बन्धित कोड भएका उम्मेदवारहरूको पदस्थापना गर्न निर्देश गरिएको छ ।

तीनै तहका सफल उम्मेदवारहरूको स्थायी ठेगाना परिवर्तन भई फरक परेको भनी सच्याउन माग भएमा आवश्यक कागजातका आधारमा नियुक्ति पत्र दिदाँकै बखतमा सच्याउन सकिने केन्द्रले जनाएको छ ।

केन्द्रले शिक्षक पदास्थापनको निर्णयको टिप्पणी फाइल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरेको थियो । मन्त्रालयले तोकिएका तपसिलका आधारहरूभित्र रही साविकको जिल्ला शिक्षा अधिकारीको काम काज गर्न तोकिएको शिक्षा विकास तथा समन्वय इकाइबाट नै स्थायी नियुक्ति तथा पदास्थापना गर्न यही चैत्र २४ गते मन्त्रीस्तरीय निर्णय गरेको थियो ।

मन्त्रालयको निर्णय लगत्तै शिक्षक सेवा आयोगबाट सिफारिस भएका सफल उम्मेदवारहरूको स्थायी नियुक्ति तथा पदस्थापनाका लागि केन्द्रले चैत्र २५ गते अर्को निर्णय गरेको थियो । सोहीअनुसार नियुक्तिका लागि केन्द्रले समन्वय इकाइहरूलाई परिपत्र गरेको हो । आयोगले गत असारमा लिएको परीक्षाका सबै प्रक्रिया पूरा गरेर पास भएका अस्थायी शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया