गुलाबको बगैंचा भनेर चिनिने टीकापुर पार्क लगानीको पर्खाइमा रहेको छ । यस पार्कमा विभिन्न जातका ४२ थरीका गुलाब फुल्छन् । अहिले ढकमक्क गुलाब फुल्ने समय पनि हो । पार्कमा आउने हरेक पर्यटक यहाँ फुलेका गुलाबसँग तस्वीर नखिची फर्कन मान्दैनन् । उसै त गुलात्र त्यस माथि धेरै जातको भए पछि कस्को मन नलोभिएला ?
सुदूरपश्चिम भ्रमणमा आउनेहरु पार्क नघुमेर जाने कम मात्रै होलान् । केही दिन अघि सुदूरपश्चिमका सहकारी संस्था हेर्न आएको पोखराको टोलीकोे पार्क घुम्ने योजना नै थिएन । ‘कैलाली र बर्दियाको सीमा चिसापानी पुगेपछि पार्कको कुरा सुन्दा हामीले पनि पार्क घुम्ने योजना बनायौं,’ पोखराकी पत्रकार सरिता तिमिल्सिनाले भनिन्, ‘दुई घण्टा भए पनि पार्कमा जाऔं भन्यौं, आयौं । साच्चै सुने जस्तै पार्क धेरै रमाइलो रहेछ । सुदूरपश्चिममा यस्तो सुन्दर र मनमोहक पार्क छ भन्ने थाहा नै थिए ।’
‘पार्कमा आएपछि दिनभरि यही शीतलतामा बसौं जस्तो लाग्यो, पार्क नआएर फर्किएको भए शायद पछुतो हुन्थ्यो होला,’ पोखराकै अजय पोखरेल भन्छन्, ‘पार्क छ भन्ने सुनेको थिएँ तर, यति व्यवस्थित होला भन्ने लागेको थिएन । पार्क रमाइलो लाग्यो निकै व्यवस्थित पनि रहेछ ।’
सुदूरपश्चिममा सबैभन्दा बढी पर्यटक पुग्ने ठाउँ टीकापुर पार्क हो । एकै दिनमा डेढ सयदेखि ३ हजारसम्म मानिसहरु पार्क अवलोकन गर्न आउँछन् । पार्कमा वर्षेनी एक लाखदेखि डेढ लाखसम्म मानिसहरु आउँछन् । धेरै मानिसहरु पार्कमै पकाउने, पार्कमै खाने, पार्कमै रमाउने गरी आउँछन् जसले गर्दा पार्कको वातावरण सधैं रमाइलो भइरहेको हुन्छ ।
चालु वर्षको अहिलेसम्म टीकापुर पार्कलाई एक लाखभन्दा बढीले अवलोकन गरेका छन् । यो याम पर्यटक ओइरिने समय हो । वैशाख महिनामा सबैभन्दा बढी पर्यटक आउँछन् । गत वर्ष पनि डेढ लाख मानिसले पार्क अवलोकन गरेका थिए । ‘पचास हजारसम्म पर्यटक अबको तीन महिनामा आउने अनुमान छ,’ पार्क इञ्चार्ज अर्जुन कुँवर भन्छन्, ‘नयाँ वर्षको समय र तिहार पछिको केही दिन पार्क पर्यटकले भरिन्छ । हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ ।’
कैलाली बाहेक कञ्चनपुर, बर्दिया, बाँके, सुर्खेत, दैलेख र दाङबाट धेरै मानिसहरु टीकापुर आउँछन् । आक्कल झुक्कल डोटी र पूर्वी नेपालका जिल्लाबाट अध्ययन भ्रमण टोली आउँछन् ।
पार्क इञ्चार्ज कुँवर भन्छन्, ‘पिकनिक मनाउन आएका टोलीहरु पार्क मै खान्छन, रमाउँछन् । उनीहरुका लागि पार्कभित्र खाने, आराम गर्ने व्यवस्था भएको भए अझ आकर्षण बढ्ने थियो ।’ उनले त्यहाँ रहेको असुविधाका बारेमा जानकारी दिँदै सुधारन पर्ने बारेमा बताए ।
टीकापुर विकास समितिको हटेपछि २०६४ मङ्सिर ५ गते टीकापुर नगरपालिकाको स्वामित्वमा पार्कलाई हस्तान्तरण गरिएको हो । नगरपालिकाको स्वामित्वमा पार्क सञ्चालन भएपछि बजेट अभावमा त्यहाँ कार्यरत कर्मचारी कटौती गरिँदा र विकासका थप पूर्वाधार निर्माण गर्न नसक्दा पार्कको सौन्दर्यमा कमी आउन थालेको गुनासो सुनिन थालेको छ ।
पार्कमा लगानी गर्न नसके पनि पर्यटक आउने संख्या हेर्दा उत्साहजनक नै मान्नुपर्छ । यसवर्ष नगरपालिकाले १६ लाख रुपैयाँको लागतमा गुरुयोजना निर्माण गर्दैछ र यो अन्तिम चरणमा पुगेको छ । नगर प्रमुख तपेन्द्रबहादुर रावल भन्छन्ल ‘नगरपालिकाले पार्कलाई गौरवको योजनामा राखेको छ । यसवर्ष ८० लाख रुपैयाँको लागतमा पार्क प्रवेश द्वार निर्माण भइरहेको छ । हामीले पार्कको विकासका लागि केन्द्र सरकारसँग बजेट माग गरेका छौं ।’
टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ । पार्क ८५ विघा क्षेत्रफलमा फैलिएको छ जसमध्येको बङ्गला क्षेत्र, नर्सरी र बगैंचाले करीव १३ विघा जमीन ओगटेको छ ।
टीकापुर विकास समितिले नै पार्क क्षेत्रमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान लगायत करोडौं रुपैयाँ लागतका पूर्वाधारहरु खडा गरेको हो । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी÷बेमौसमी फूलहरु टीकापुर पार्कका आकर्षण हुन् ।
मुटु रोगबाट पीडित भएका राजा महेन्द्रले विसं २०२४ सालमा टीकापुरमा आएर करीव डेढ महिना शयन गरेका थिए । टीकापुर बसेर राज्य चलाउन अप्ठ्यारो भएपछि राजा काठमाडौँ फर्के र टीकापुर क्षेत्रमा शहर विकास गर्न र कर्णाली किनारमा पार्क बनाउन उनले निर्देशन दिए । ‘समाजसेवी मोहनबहादुर रावल भन्छन, ‘आफ्नो निर्देशनमा व्यवस्थित बनाइएको टीकापुर पार्कमा राजा महेन्द्र नियमित आउँथे ।’
विसं २०२८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत टीकापुर विकास समिति स्थापना गरी ३ हजार १७३ बिघा जमीन दिएर शहर विकास गर्ने अधिकार सरकारले दिएको थियो । लाखौं लगानी भएका र करोडौं खर्च भैसकेका यी पूर्वाधारहरु टीकापुर विकास समिति हटे पछि नगरपालिकाको स्वामित्वमा छन् । त्यतिखेर विकास समितिले आफूसँग भएको जग्गा घडेरीका रुपमा बिक्री गर्दै पार्क संरक्षणका लागि खर्च जुटाउँदै आएको थियो । तर नगरपालिकाको स्वामित्वमा गएपछि बजेटको अभावमा लगानी हुन सकेको छैन ।
सुरुमा ‘स्वच्छ, सफा, हराभरा र पार्कको नगर टीकापुर’ भन्ने पहिचानको नारा तय गरेको टीकापुर नगरपालिकाले पनि सञ्चालन खर्च धान्न नसक्ने भएपछि पार्क जिम्मा लिन अस्वीकार ग¥यो ।
ककेही महिना स्थानीय उपभोक्ताले पनि पार्क सञ्चालन गरे । उनीहरुले गुलाब पूmलको लागि चाहिने मलसमेत जोहो गर्न नसके पछि कैंयन गुलाब हराएर गए । राजनीतिक दलसहित सर्वपक्षीय बैठकले पछि नगरपालिकालाई हस्तान्तरण ग¥यो । आफ्नो आयस्रोतले धान्न नसक्ने भएपछि पार्कलाई भाडामा दिने निर्णय २०६४ सालकै नगरपरिषद्ले गरेको थियो तर, कार्यान्वयनमा आउन सकेन ।
पार्कमा बनाइएको काठका रेलिङ्ग कुहिनु र भत्किनुका साथै आरोग्य गृह र विश्राम बाटिका पनि जीर्ण हुँदै गएपछि हरेक वर्ष नगरपालिकाले मर्मतमा लाखौं खर्चिने गरेको छ । यसभित्र राखिएका सजावटका कतिपय सामग्रीहरु हराइसकेका छन् । टीकापुर नगरपालिकाका पूर्व उपप्रमु्ख लालबहादुर चौधरी भन्छन्, ‘टीकापुर पार्कमा आवासीय लज वा रिसोर्टहरु तयार गर्न सके सञ्चालन खर्च धान्न गा¥हो थिएन बरु यसले टीकापुरमा थप आम्दानी भित्र्याउन वा रौनक थप्न मद्दत पुग्छ ।’ उनले त्यहाँको पूर्वाधार विकासमा गर्नु पर्ने आवश्यकता बारेमा प्रष्टयाउँदै भने ।
करीव चार दशकसम्म टीकापुर विकास समितिको सहयोगमा चलेको टीकापुर बृहत् उद्यान नगरपालिकाले सञ्चालन गरेपछि टिकट काउण्टर, पिकनिक स्थल, स्थलमा बस्ने चौतारी लगायतका केही पूर्वाधार बने तर, बजेट अभावमा ठूला पूर्वाधार र लगानी भने गर्न सकेको देखिएन । त्यस तर्फ ध्यान दिन सक्ने हो भने यसले अझै विकास गर्ने र पर्यटकको ध्यान तान्ने देखिन्छ ।
सुदूरपश्चिम प्रदेशका सांसद डा रणबहादुर रावलको चिन्ता छ, ‘स्थानीय संस्थाले संरक्षण गर्न नसकेको तर राज्यको लगानी भएको यो पार्कलाई प्रकृति संरक्षणमा कार्यरत संस्थाले सहयोग नगर्ने हो भने बृहत् उद्यानसँग जोडिएको टीकापुरको पहिचान गुम्ने निश्चित छ ।
प्रतिक्रिया