भरतपुर । उपप्रधान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विभिन्न बाहानामा चिकित्सकले बिरामीलाई दुःख दिन नपाउने बताएका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकका माग संघीय निजामती ऐनले समेटिसकेकाले जनतालाई दुःख दिन नपाइने बताए ।
‘अरु कुनै महत्वपूर्ण कुरा छ भने त्यसलाई सरकारले सकरात्मक रुपमा लिन्छ, उनले भन्नुभयो, ‘तर विभिन्न मागका नाममा बिरामीलाई दुःख दिन जरुरी छैन् । समायोजनले चिकित्सकको वृत्तिविकासमा अवरोध सिर्जना हुन्छ, भन्ने भ्रम मात्र भएको उनको तर्क थियो ।
‘वृत्ति विकास सबैको हुन्छ, यसमा सरकारले कसैलाई पनि रोक्दैन, उनले भने, ‘यो रोकेर कहाँ चिकित्सा प्रणाली चल्छ ।’ आन्दोलन छाडेर जनताको सेवा र बिरामीको उपचारमा लाग्न उनले चिकित्सकलाई आग्रह गरे । चिकित्सकका समस्या सरकारले बुझेको भन्दै उनले चिकित्सकले माग भन्दा पनि सेवालाई आत्मसाथ गर्नुपर्ने धारणा राखे ।
चितवन मेडिकल कलेज फरक प्रसङ्गमा उनले भने, ‘तोकेको भन्दा बढी शुल्क लिने र दिने दुवै दोषी हुन्, यसको छानबिन हुन्छ ।’ सरकारको मापदण्ड अनुसार सबै मेडिकल कलेज चल्नुपर्ने भन्दै उनले यस विषयमा चितवन मेडिकल कलेज प्रशासनसँग पनि कुरा गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया