ट्याक्सीको पछि टाँसिएको प्रर्चा कहिले हट्ने ?

काठमाडौं उपत्यकामा १२ हजारभन्दा बढी ट्याक्सी गुड्छन् । ट्याक्सी एकथरी मान्छेको लागि सुविधाको साधन हो भने, अर्को थरीका लागि आपत विपतमा बाध्यताले चढ्नै पर्ने सवारी । रहर वा बाध्यताले मान्छे ट्याक्सी चढ्छन । काठमाडौंका चल्ने धेरै जसो ट्याक्सीको पछिल्तीर सरकारसँग असन्तुष्टि पोखिएका सेता प्रर्चामा लेखिएका विरोधका शब्दहरू देखिन्छन् । किन ट्याक्सी चालकको असन्तुष्टि ?

‘ह्या बरु ! सबमिटर बिगार्दिनुप¥यो अब,’ रोकि राखेको ट्याक्सी छेउमा उभिएका एक चालकले दिक्दारी मानेझैँ गर्दै भने । उनको छेवैमा बसेको अर्को चालकले पहिलोको कुरामा सहमति जनाउँदै भन्यो, ‘ठीक भन्यो दाइ तिम्ले । लुटेराहरूले हाम्रो सांकेतिक आन्दोलनको कुनै वास्तै गर्दैनन । नदेखेझै गरेर पचाउने भए ।’ दुवैजना आफ्ना समस्या एक आपसमा साट्दै थिए ।

यो संवाद भृकुटीमण्डपस्थित ट्याक्सी पार्किङमा राखेर दुईजना ट्याक्सी चालक आपसमा गफिँदै गर्दाको केही अंश हो । केही महिना यता राजधानीमा चल्ने सबैजसो ट्याक्सीको पछाडी सेतो कागजमा ‘नेपाल सरकारको समृद्ध नेपालको अभियानमा हामी ट्याक्सी मजदुर छुट्यौ कि ?’ भन्ने शब्द लेखेर टाँसेको जता ततै देख्न सकिन्छ । केही ‘हामीलाई विदेश जान बाध्य नपार’ जस्ता शब्द पनि लेखेका छन् ।

उनीहरूका अनुसार उक्त सेता कागजमा लेखिएका शब्द अक्षर मात्रै होइन, ट्याक्सी चालकहरू मजदुरको सांकेतिक विरोध हो । जसलाई उनीहरूको भाषामा सभ्य र शान्त पूर्र्वक सेवाग्राहीलाई असुविधा नपुग्ने गरी भइरहेको छ । तर, सुन्न पर्नेले सुनिरहेको छैन । सरकारले ट्याक्सी चालकका माग र समस्यालाई वेवास्ता गरेको उनीहरूको आरोप छ । ट्याक्सी सञ्चालनका लागि सरकारले करिब १० वर्ष अघि बनाएको मापदण्डमा अहिलेसम्म कुनै परिवर्तन नभएको उनीहरूको गुनासो छ । त्यही पुरानै आधारमा अहिलेसम्म आफूहरू चल्न परेकोले आफूहरूले विरोध गरेको उनीहरूको भनाइ छ । एक दशकअघि बनेको पुरानो मापदण्ड खारेज गरी समयअनुसार नयाँ व्यवस्था लागू गर्नुपर्ने ट्याक्सी व्यवसायीहरूको माग छ ।

सांकेतिक आन्दोलनमा रहेका ट्याक्सी चालकबीच ट्याक्सी व्यवसाय समितिले बनाएको नियमका बारेमा पनि उनिहरूलाई चित्त बुझेको छैन । समितिले गर्ने काम मजदुरको हितमा नभएको ट्याक्सी चालकहरूको गुनासो छ । दुई चारजना चालक भेटिएपछि आफूहरूलाई अन्याए भएको भन्दै उनीहरू प्रसंग सुरु गर्छन् र सरकारका विरोधमा आक्रोस पोखिरहेका हुन्छन् । उनीहरूका कुरा सुन्दा न समिति उनीहरूको पक्षमा छ न सरकाले कुरो सुन्छ ।

‘मुलुकमा गणतन्त्र आएको छ हामिले भने सांकेतिक आन्दोलन पनि गर्न नपाउनु रे ! यो कुनै तरिका हो ?’ अक्रोस मिश्रित मुद्रामा ट्याक्सी चालक जिवन सेन्चुरीले भने, ‘सभ्य ढंगले गरिएको बिरोधको सुनवाइ भएन भने ढुंगामुढा गर्न हामीले पनि जानेका छौँ । पूरै चक्का जाम गरेर आन्दोलन चर्काओस भन्ने सरकारको चाहना हो भने त्यो पनि गर्न सक्छौँ ।’ रौतहट घर भएका सेन्चुरी विगत ८ काठमाडौंमा बसेर ट्याक्सी चलाउँदै आफ्नो र परिवारको गुजारा धन्दै आएका छन् । उनको अघि ट्याक्सी चलाउनुबाहेक अरू रोजगारीको विकल्प छैन । परिवार धन्ने र आफू बाच्ने आधार त्यही ट्याक्सीको स्टेरिङ दबाउनुपर्ने उनले बताए ।

मिटरमा ट्याक्सी नचलाएको भन्दै ट्राफिक प्रहरीले ट्याक्सी चालकलाई नियन्त्रणमा लिनेर दःुख दिने गरेको उनको गुनासो छ । ट्याक्सी सञ्चालनसम्बन्धी एक दशक पुरानो मापदण्ड खारेजीको माग राख्दै चालकहरू भने विगत ४ महिनादेखि विरोध स्वरूप सांकेतिक आन्दोलनमा छन् । उनीहरूको संकेत कतिले बुझे वा बुझने प्रयास गरेनन् त्यो अर्को पक्ष हो । तर, उनीहरू भने आफूमाथि अन्याय भएको भन्दै विरोधको लिफा बोकेर हिँडिरहका छन् । ट्याक्सी चालकले यात्रु ठग्ने गरेको गुनासो पनि वेला वेला सुन्न पाइन्छ ।

सरकारले २०६९ सालमा बनाएको ट्याक्सी नियमावलीप्रति व्यवसायिहरूको असन्तुष्टि छ । उनीहरू समयअनुसार आफ्ना समस्या र माग पनि सम्बोधन हुनपर्ने बताउँदै आएका छन् । देशमा अन्य सामग्रीको मूल्य वृद्धि हुदाँ सरकारले ट्याक्सी भाडा पनि बढाइदिनुपर्ने व्यवसायिहरूको माग छ । ‘हामी स्वरोजगार छाँै, सेवा पनि दिइरहेका छौँ तैपनि सरकारले समय र अवस्था हेरी उचित भाडादर कायम गरिदिएन प¥यो नी आखिर हामी पनि यही देशका नागरिक हौं,’ जिवनले भने, ‘हामीलाई चाहिँ सरकारले हेर्न पर्दैन ? गरिखान सहज बनाउने दायीत्व सरकारको होइन ?’ उनले प्रश्न तेस्र्याए ।

लामो समयदेखि काठमाडौं सहरमा ट्याक्सी चलाएर जिवन धान्ने प्रयासमा रहेका अर्का चालक मदन भुजेल भन्छन्, ‘ट्याक्सी चालकले ठग्यो शिर्षकमा समाचार बन्छन् । हो, कहिलेकाहिँ हामी मिटरमा जान मान्दैनाँै । हाम्रो पनि बाध्यता छ । बजार भाउ अकासिएको छ । अरूले जस्तै महँगीको सास्ती हामीले पनि खेप्नुपर्छ । हामीले बाँच्नुपर्दैन बालबच्चा पाल्नुपर्दैन ? उनको आक्रोस पनि उस्तै थियो । ‘मिटरमा गयो भाडासमेत उठ्दैन ।’ धेरैजसो भनेको वेला इन्धन पाइँदैन, त्यस्तो वेला दिनभरि लाइनमा बसेर वा महँगोमा किनेर तेल हाल्नुपर्छ । हाम्रो समस्या कसले हेर्ने ? की राज्यले सबै प्रकारको सुविधा दिएर समय र बजार अनुसार चल्न सक्ने बनाउनुप¥यो,’ उनले आफ्ना सबै समस्या सुनाए ।

उनको भनाइमा आफूहरूले ग्राहकसँग ठगी गरेको होइन, बजार र समयअनुसार चलेको रे । उनले भने, ‘कहिलेकाहिँ निकै टाढा जानुपर्छ र फर्कदा रित्तै फर्कनुपर्छ त्यस्तो वेला मिटरमा जान सकिँदैन । हाम्रो समस्या पनि बुझनु प¥यो नी ।’ उनले आफ्ना बाध्यता सुनाए ।

उनले आफ्ना क्षेत्रमा भोग्दै आएको समस्या सुनाउँदै भने, ‘सरकारले अनुगमन गर्ने भन्छ, तर, त्यसको प्रभावकारीता खोइ ? अन्य क्षेत्रमा जस्तै हाम्रो क्षेत्रमा पनि विचौलियाहरू छन् । उनीहरूको चंगुलमा हामीले आफूलाई समाना गर्नुपर्छ । एउटा ट्याक्सीको बजार मूल्यभन्दा निकै बढीमा बिचौलियाको माध्यमबाट किन्नुपर्छ काठमाडौंको सडक देख्नुभएकै छ । गाडी बिग्रिरहन्छ मर्मतका लागि गयो भने त्यस्तै महंगो छ । के गर्ने घाटामा काम गर्न सकिँदैन बाँच्नै प¥यो त्यसैले कहिलेकाहिँ आफूहरू मापदण्डविपरीत पनि चल्न पर्छ ।’ उनले स्वीकार गर्दै भने ।

‘हामी पनि रहरले यो क्षेत्रमा आएको होइन, आफू पनि बाँच्न र परिवार पाल्न सकिएला की भनेर भनेर ट्याक्सी चलाएको हो । तर, बाँच्नै नसक्ने अवस्थामा कसरी काम गर्ने ? काम गरेर केही होला भनेन गर्ने त होनी । हामीले मात्रै नियम मान्नुपर्छ र नियम माने वापत घाटा सहनु पर्छ भन्ने छ र ?’ सरकारले समयअनुकुल भाडा समायोजन गरिदिने हो भने आफूहरू मिटरमा जहाँसुकै जान तयार छौँ ।’ भुजेलले भने । यहि अवस्थामा आफूहरूको मिटर सुधार गर्न नसकिने उनले बताए । उनका अनुसार मिटर नसुधार्नुको अर्थ, निमय कानुन भनिने मापदण्डविपरित चल्नु हो ।

उनीहरूका अनुसार चालकले हरेक चार महिनामा चालक अनुमति पत्र बनाउनुपर्छ । सोहि अनुसार ट्याक्सी गुडाउन पाउने नियम छ । वार्षिक रूपमा सात हजार कर सरकारलाई बुझाउँछन् उनीहरू । त्यसै गरी रुट रुट परिवर्तन गर्न परेको अवस्थामा सोहीबमोजिम शुल्क तिर्न पर्ने उनले बताए । कहिलेकाहिँ ट्राफिक प्रहरीले अनावश्यक निहुँ खोजेर दुःख दिने गरेको र सामान्य अवस्थामा पनि १÷२ हजारको चिट काटिदिने गरेको गुनासो गरे ।

भुजेका अनुसार ट्याक्सीका धेरै समिति छन् । हरेक समितिले आ–आफ्नै ढंगले नियम बनाएका छन् । तर, कुनै पनि समिति चालकको हितमा नभएको उनको बुझाइ छ । चालकलाई परेको समस्या उनीहरूले वेवास्ता गर्ने गरेको उनले गुनासो गरे । ‘जति समिति भए पनि के गर्नु हाम्रो समस्या आफ्नै ठाउँमा छ । हाम्रो हितमा काम गरे पो हाम्रो समिति भन्नु ।’ उनले गुनासो पोख्दै भने । समितिले आफूहरूको हितमा काम नगरेको र सरकारले वेवास्ता गरेको भन्दै आफुहरूले पनि विभिन्न ठाउँमा इकाई गठन गर्ने र माग पूरा गराउन दबाब दिँदै आन्दोलन जारी राख्ने योजनामा रहेको उनले बताए ।

भुजेलका अनुसार यसअघि पनि यातायात व्यवसायिले विभिन्न समयमा सिन्डिकेट लगाउँदै आएको भए पनि त्यसले प्रभाव केही परेन । यसै गरी वेला वेलामा ट्याक्सी दर्ता तथा वितरणका काम भए तर आफ्ना समस्या भने जहाँको त्यही रह्यो । हाल काठमाडौं उपत्यकामा मात्र ट्याक्सीको संख्या १२ हजारभन्दा बढी रहेको उनले जानकारी दिए ।

यद्यपि, सरकारले गत असोजदेखि लागू हुने गरि मिटरजडित ट्याक्सीको लागि नयाँ भाडादर कायम गरेको थियो । प्रतिकिलोमिटरमा भाडा निर्धारण हुने गरि यस्ता सवारीमा प्रतिकिलोमिटर चार रुपियाँको दरले बढाएको थियो । यातायात विभागले सार्वजनिक गरेको भाडादर अनुसार किलोमिटरमा ३५ रूपैयाँ बढाएर ३९ रूपैयाँ पु¥याएको थियो । तर, जीवन र मदनलगायत ट्याक्सी व्यवसायी भने सरकारले भाडा समायोजन नगरेको र आफ्ना मागहरू पूरा नभएको भन्दै सांकेतिक आन्दोलनमा छन् । उनीको सांकेतिक आन्दोलन कहिले टुंगने र यात्रुले बिना मोलतोल मिटरको आधारमा ट्याक्सी चड्ने वातावरण कहिले बन्ने ? अन्योलमा नै छ ।

प्रतिक्रिया