लगानी सम्मेलन : व्यवसायी नेपालमा लगानी गर्न इच्छुक

काठमाडौं । राजधानीमा जारी लगानी सम्मेलनमा लगानीकर्ताले नेपालमा लगानी गर्न सकरात्मक देखिएका छन् । यद्यपि सरकारी प्रस्तुति विषयगत रूपमा फितलो हुँदा केही ठूला कम्पनीहरू अलमलमा परेका छन् ।  एक होटलमा जारी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘भर्जिनल्याण्ड’ भएकाले लगानी गर्न आव्हान गरे । उनले नेपाल राजनीतिक रुपमा मात्र नभई नितीगत रुपमा पनि स्थायित्व कायम गरेकाले यहाले जुन क्षेत्रमा लगानी गरेपनि फाइदा मात्रै हुने उल्लेख गरे । उनले तीन करोड नेपालीको जीवनस्तर सुधार्न सरकारले काम गरिरहेको भन्दै विदेशी लगानीको लागि व्यवसाय गर्ने वातावरणमा धेरै सुधार गरेको बताए । उनले नेपालमा राजनीतिक स्थायित्व मात्रै नभई नीतिगत स्थायित्व पनि भएको बताए । प्रधानमन्त्री ओलीले सरकारले आधार बर्षको रुपमा गएको एक बर्षलाई नीतिगत र कानुनी सुधार बर्षको रुपमा लिएको बताए । ‘यसबीच हामीले संविधानलाई कार्यान्वयन गर्न कैयन कानुनको निर्माण गरेका छौं’, प्रधानमन्त्री ओलीले भने, ‘नयाँ कानुनी तथा नीतिगत संरचनाले विदेशी लगानीलाई उत्प्रेरित गर्ने वातावरण बनाएको छ ।’

प्रधानमन्त्री ओलीले नेपाललाई सन् २०३० सम्ममा सहस्राब्दी लक्ष्य हासिल गर्दै देशलाई मध्यमस्तरको आम्दानी भएको देशका रुपमा रुपान्तरण गर्न चाहेको जानकारी गराए । प्रधानमन्त्री ओलीले नेपाल व्यापार र लगानीका लागि तत्पर छ भन्ने कुरा सबैलाई अवगत गराउन चाहेको बताए । ‘नेपाल व्यापार र लगानीका लागि तत्पर छ भन्ने मेरो सन्देस हो’, प्रधानमन्त्री ओलीले भने, ‘सुरक्षित महसुष गर्नुहोस र अवसरको फाइदा लिनुहोस । तपाईंको लगानी संरक्षित र मुनाफा सुरक्षित छ । संसदमा भएका सबै राजनीतिक दलहरु वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र भित्र्याउन एकमत छन ।’

उनले सरकारले भर्खरै सामाजिक सुरुक्षा योजना ल्याएको जानकारी गराउदै भने,‘हामीले भर्खरै योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएका छौं, यसले कामदारलाई मात्रै होइन उद्योगीहरुलाई पनि सहजता प्रदान गर्छ ।’ प्रधानमन्त्री ओलीले सरकारले कर र उद्योग दर्ता प्रक्रियालाई पूर्णरुपमा स्वचालित बनाउने योजना बनाएको जानकारी दिए । उनले लगानीको लागि नेपाल उदार देश भएको भन्दै सरकारले सबै क्षेत्रमा लगानी खुला गरेको बताए । उनले मापदण्ड पूरा गर्ने लगानीलाई कर छुटको प्रतिबद्धता कानुनमा उल्लेख भएको भन्दै लगानीकर्ताको लागि यो अवसर भएको बताए । प्रधानमन्त्री अगाडी अर्थमन्त्रीले नेपाल आएका लगानीकर्तालाई स्वागत गर्दै नेपालमा लगानीका लागि राजनीतिक र कानुनी सबै रुपमा सहज रहेको जानकारी गराएका थिए ।

उद्घाटन सत्रपछि सम्मेलनको पहिलो दिन शुक्रबार विभिन्न सात विषयगतमध्ये सूचना प्रविधिसहित पर्यटन, उद्योग, ऊर्जासम्बन्धीका सत्र सम्पन्न भएका छन् । जसमा सरकार र निजी क्षेत्रबाट विभिन्न परियोजनाहरु प्रस्तुत गरिएका छन् । एसियाली विकास बैंकका उपाध्यक्ष क्षसिजिन चेनले ऊर्जा, खानेपानी, शहरी पूर्वाधार, शिक्षालगायत क्षेत्रमा लगानी गरेको जानकारी दिँदै थप लगानीका लागि समेत रणनीति तयार गरिएको बताए । उनले मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी गरेको र ती आयोजना सम्पन्न हुने चरणमा पुगेको भन्दै अन्य ठूला लगानीका क्षेत्रमा समेत सहयोग गर्न इच्छुक रहेको बताए ।

विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफरले नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को संकल्पलाई पूरा गर्ने गरी लगानी गर्न आफू तयार रहेको बताए । उनले पछिल्ला दिनमा नेपाल सरकारले सुधार गरेका कानुनी संरचनाका कारण थप लगानीयोग्य वातावरण बनेको उनको भनाइ थियो । सरकारसँगै निजी क्षेत्रले समेत सकारात्मक रुपमा लगानी गर्नसक्ने वातावरण बनेको भन्दै उनले निजी क्षेत्रमासमेत लगानी गर्न आफूहरु इच्छुक रहेको बताए । ऊर्जाको क्षेत्रमा ठूलो लगानीको सम्भावना रहेको भन्दै उनले दीर्घकालीन लगानीका लागि समेत आफू इच्छुक रहेको बताए ।

सम्मेलनमा बोल्ने अन्यले पनि नेपालमा लामो समयपछि स्थिर सरकार बनेकाले लगानीको वातावरण बन्दै गएको बताएका छन् । उनिहरुले सरकारले राम्रो नीति लिएमा आफुहरु लगानी गर्न इच्छुक रहेको पनि बताएका छन् । सरकारले विभिन्न ७७ परियोजना दुई दिन लगाएर प्रस्तुत गरिरहेको छ । जसमध्ये एक दर्जनजति परियोजनामा सम्झौता हुने सम्भावना रहेको छ । सम्मेलनमा सहभागी हुने विभिन्न ४० देशका ६ सय बढि प्रतिनिधी राजधानीमा रहेका छन् ।

प्रतिक्रिया