वार्ताको लागि बिप्लवलाई ढोका बन्द गरेको छैन: नेता नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र संवादबाट समस्याको समाधान हुने बताए । उनले भने, “लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर कसरी लगानी सम्मेलन सफल हुन्छ ?” यस्तो अवस्थामा बाह्य र आन्तरिक लगानीमा मान्छेको रुचि नहुने भन्दै उनले त्रास र आतङ्कमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको बताए ।

सोही क्रममा चन्द नेतृत्वको समूहका गतिविधिलाई सरकारले नियन्त्रणमा लिएको उनको भनाइ छ । नेता नेपालले भने, “नेत्रविक्रम चन्दले आफैँले पहल गरी शान्तिपूर्ण अवतरण हुने काम गर्नुभयो भने उहाँहरुको पनि शक्ति, ऊर्जा, अनुभव यो देशलाई रुपान्तरण गर्ने काममा प्रयोग हुन्छ ।

वरिष्ठ नेता नेपालले चन्द समूहलाई संवादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको बताए । राज्यले नियन्त्रण गर्ने भनेको तर सिध्याउने नभनेको उनको भनाइ छ ।

राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताउँदै नेपालले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गरे । उनले भने, “व्यक्तिको स्वतन्त्रता होे धर्म छनोट गर्ने तर, कसैले जबर्जस्ती गराउँछ भने दण्डको भागीदार हुनुपर्छ । नेपालमा खुलारूपमा क्रिश्चियन धर्म प्रचार गरी प्रभावमा पारेर धर्म परिवर्तन गर्ने कामलाई संविधानले छुट नदिएको उनले बताए ।

नेता नेपालले कसैले पनि धर्म परिवर्तन लोभ लालचमा गराउन नपाउने बताए । नेपालमा हिन्दु धर्मलाई परिवर्तन गर्ने काम भइरहेको भन्दै त्यसलाई दण्डित गर्नुपर्ने उनको भनाइ छ । मन्त्रिमण्डलमा नयाँ अनुहार पठाउने सवालमा नेता नेपालले सरकार गठन भएको एक वर्ष भइसकेकाले कामको मूल्याङ्कन गरी फेरबदल गर्नु उपयुक्त हुने बताए । अर्को प्रसङ्गमा पार्टीको बैठक बसेर निर्णय हुन नसकेका कारण नेताले आफ्ना गुनासो बाहिर पोख्नुपरेको बताए ।

प्रतिक्रिया