विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका परीक्षा स्थगन गरेर विश्वविद्यालयमाथि ठाडो हस्तक्षेप भएको भन्दै परीक्षा सञ्चालन गर्न माग गर्दै नेपाली कांग्रेसले मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत पूर्वाञ्चल विश्व विद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई आइतबार ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा पुगेर नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुसहित कांग्रेसका नेता कार्यकर्ताको टोलीले प्रजिअ रमेश केसीलाई ज्ञापनपत्र बुझायो । सेवा आयोगले विश्व विद्यालयले रिक्त पदका लागि आइतबारदेखि परीक्षा सञ्चालन गर्ने जनाएको थियो । परीक्षा स्थगन गर्न भन्दै दुई दिनअघि शिक्षा मन्त्रीले विश्वविद्यालयलाई पत्र पठाएपछि परीक्षा स्थगन भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयले आफनो शैक्षिक एवं प्राज्ञिक गतिविधि अगाडि बढाइरहेको र विभिन्न तहको ऐननियमअनुसार नियुक्ति प्रक्रिया भइरहेको अवस्थामा प्रधानमन्त्री तथा शिक्षा मन्त्रीको तोक आदेशमा परीक्षा स्थगित गरेको भन्दै परीक्षा सञ्चालन गर्न कांग्रेसले माग गरेको हो ।
विज्ञप्तिमा सम्मानित सर्वोच्च अदालतको परमादेशलाई आधारमानी सेवा आयोगद्वारा खोलिएको विज्ञापन तोक आदेशद्वारा ऐननियमविपरित रोकेर विधिको शासन र सम्मानित अदालतको अपहेलना भएको ठहर कांग्रेसले गरेको छ । सेवा आयोगले आइतबारदेखि परीक्षा सञ्चालन गर्ने जनाएको थियो । यसरी दुईतिहाइको दम्भले न्यायालय र विश्वविद्यालयजस्ता संस्थाहरूलाई अमर्यादित बनाउन नहुुने विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया