घरबाटै एसइई परीक्षा !

बैतडी । बैतडीमा एक छात्राले घरबाटै माध्यमिक शिक्षा परीक्षा एसइई दिएकी छन् । दशरथचन्द नगरपालिका–२ देहीमाडौंकी १६ वर्षीया करिश्मा बोहराले पहिलो दिन अनिवार्य अंगे्रजी विषयको घरबाटै परीक्षा दिएकी हुन् ।

शारीरिक अपांगता भएकी करीश्मा परीक्षा दिन परीक्षा केन्द्रसम्म जान नसक्ने भएकोले घरबाटै करीश्मालाई परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । दशरथचन्द नगरपालिका–२ स्थित निंङगलाशैनी मावी देहीमाण्डौकी परीक्षार्थी करिश्माको परीक्षा केन्द्र दशरथचन्द नगरपालिका–१ मणीलेक मावी गुरुखोला केन्द्र रहेको थियो ।

‘शारीरिक अपांगता भई हिँडडुल गर्न नसक्ने ह्विलचियर पनि जाने नसक्ने भएकोले करिश्मालाई घरमै परीक्षा दिने व्यवस्था मिलाएका हाैँ’, इकाइ प्रमुख अवस्थीले भने, ‘ अपांगमैत्री बाटो नहुँदा घरमै परीक्षा दिने व्यवस्था गरेका हौँ ।’ नेपालमा एसइई घरबाटै दिएको पहिलोपटक बैतडीमा हो । परीक्षाको लागी एक जना निरीक्षक र एक जना सुरक्षाकर्मीको व्यवस्था पनि घरमै गरिएको थियो ।

यस्तै सुर्नया गाउँपालिकास्थित केदार मावि कठमडामा अध्ययनरत छात्रा दीपा बोहराले सहयोगीमार्फत परीक्षा दिएकी छन् । दृष्टिविहीन र शारीरिक अपांगता भएकी दीपाको कक्षा ९ का अध्ययनरत सुमित्रा साउदले परिक्षा दिएकी हुन् । रौलेश्वर माविमा परीक्षा केन्द्र रहेकी दीपाले परीक्षामा लेख्न नसक्ने भएकोले यो व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । यसै गरी निरीक्षणमा गएका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले अपांग करिश्माको पढाइमा सहयोग होस् भन्ने उद्देश्यले नगद पाँच हजार दिएका छन् ।

यो वर्षको एसइई परीक्षामा जिल्लाबाट ५ हजार ८ सय १८ जना विद्यार्थीले आवेदन भरेका थिए भने पहिलो दिनको अनिवार्य अगे्रजीको विषयको परीक्षामा ५ हजार ६ सय ८३ जनाले जाँच दिएका छन भने १ सय ३५ जना अनुपस्थित रहेका छन् ।

एसइई परीक्षाका लागी सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा २३ लाख १३ हजार २ सय २२ रुपैंयाँ बजेट छुट्याएको छ । राष्ट्रिय परीक्षा बोर्डले सातै प्रदेशमा कार्यालय खोली परीक्षा सञ्चालन गर्ने योजना लिए पनि एसइईका लागि विगतको परीक्षा नियन्त्रण कार्यालयकै संरचनामा व्यवस्थान गरिरहेको हो ।

कारागारबाटै परीक्षा
जिल्ला कारागार बैतडीबाट एक जना कैदी एसइई परीक्षामा सहभागी भएका छन् । जबरजस्ती करणीको अभियोग प्रमाणित भई कैद भुक्तान गरिरहेका पञ्चेश्वर गाउँपालिका–१ सेरिबैसेकका अजय घटालले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका हुन् । जिल्ला सदरमुकाम शाहीलेकमा रहेको श्री वीरेन्द्र माद्यमिक विद्यालयबाट खुल्ला फारम भरी ०७५०२१३१ सिम्बोल नम्बरको प्रवेश पत्र पाएका घटालले कारागारमै परीक्षा दिन पाउादा खुसी भएको बताए ।

प्रतिक्रिया