नेपाली ललितकलामा महिला

ललितकला हाम्रो सान, मान र पहिचान हो । त्यही सानमा इँटा थप्दै आज नेपाली महिला कलाकारले विभिन्न देशमा गई सामूहिक तथा एकल चित्रकला, मूर्तिकला, हस्तकला कार्यशाला तथा प्रदर्शनी गर्दै आएका छन् । त्यस्तै, उनीहरूद्वारा सिर्जित कलाकृति विभिन्न देशका विभिन्न संग्रहालयमा प्रदर्शित तथा संग्रहित छन् । जसले नेपाली ललितकलालाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको छ र हाम्रो आफ्नो पहिचानलाई स्थापित गर्न सघाएको छ ।

हाम्रो सामाज पितृसत्तात्मक भएकै कारण महिला कलाकारलाई कला सिर्जना गर्न सामाजिक तथा पारिवारिक रूपमा पुरुष कलाकारको तुलनामा गाह्रो हुने गरेको पाइन्छ । जहाँ पुरुष र महिलाले गर्नेको कामको बाँडफाँड समाजले गर्छ । त्यसलाई चिरेर बाहिर निस्किन सफल महिलाले नेपाली कलालाई उचाईमा पु¥याउन सफल भएका छन् ।

परम्परादेखि नै पुरुषको तुलनामा महिलामा बढी सिर्जनशीलता भएको कुरा घरका भित्ताहरू रंगाउने, चित्रहरू कोर्ने, झ्याल ढोकाहरूमा कलात्मक टिकाहरू लगाउने जस्ता प्रमाणको रूपमा आज पनि भेट्न सकिन्छ । महिलामा रहेको सिर्जनशीलतालाई कलामा परिणत गर्नमा नेपाली महिला कलाकारको ठूलो चुनौती रहेको छ । महिलासँग सिर्जनशीलता भएता पनि क्यानभास वा अन्य कलाका विभिन्न माध्यमबाट प्रस्तुत गर्न सक्ने अवस्था र परिस्थिति अझै पनि निर्माण हुन सकिरहेको छैन ।

शिक्षाको कमी, समाजको लंैगिक विभेदताका कारण घरदेखि बाहिर निस्कन नसक्ने अवस्थामा रहेका महिला कलाकारलाई कलामय बाटोमा डो¥याउनु वर्तमानको आवश्यक हो । केही सिर्जनशील कलाकार आफूले गर्ने गरेको काम कला हो भन्ने ज्ञान समेतको कमी हाम्रो समाजमा व्याप्त छ । त्यस्ता दुरदारजमा रहेका कलाकारलाई कलाको मूलधारमा ल्याउनु आजको पहिलो आवश्यकता र कर्तव्य पनि हो ।

हाम्रो नेपाली समाजले ललितकला क्षेत्रमा लाग्न प्रेरित नगरे पनि कलालाई परिवार, समाजभन्दा प्राथमिकता दिएर अगाडि बढ्नुभएका कलाकार शिलुप्यारी कर्माचार्य, उर्मिला उपाध्याय गर्ग, प्रमिला गिरी, भद्राकुमारी घले, रागिनी उपाध्याय, शारदा चित्रकार, शशिकला तिवारी, अस्मिना रञ्जित, सुषमा राजभण्डारी, पुष्पाञ्जली शेरचन, एरिना ताम्राकार, मिथिलादेवी यादव, संगी श्रेष्ठ, सौरगंगा दर्शनधारी, संगीता घिमिरे, प्रमिला बज्राचार्य, जया शर्मा, शिलासा राजभण्डारी, विधाता केसी, सम्झना राजभण्डारी, जस्मिन राजभण्डारी, कुन्ती मगरर रञ्जु यादव, पुनम दास, सुनैना ठाकुर, सीतादेवी कर्ण, मिलन शेरचन, अनुराधा थापा, सरोजा खड्गी र यस्तै धेरै महिला कलाकार ललितकलामा सक्रिय रूपमा लागेका छन् ।

महिला कलाकार ललितकला क्षेत्रको उच्च ओहदासम्म पुगेका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानजस्तो गरिमामय स्थानमा कलाकार रागिनी उपाध्याय कुलपति भए । उनी महिलाबाट कुलपति बन्ने पहिलो कलाकारको रूपमा समेत नेपाली कला जगत्मा चिनिएका छनन् । जुन नेपाली महिला कलाकारहरूका लागि प्रेरणाको स्रोत बनेको छ । त्यस्तै, शारदा चित्रकार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको उपकुलपति भइसकेकी छन् भने सुष्मा राजभण्डारी प्रतिष्ठानमा प्राज्ञसभामा एकपटक र प्राज्ञपरिषद् सदस्यमा दुइपटक मनोनयन भई कार्य गर्दै आएकी छन् । त्यसैगरी, मिथिला कलाको क्षेत्रबाट हाल मिथिलादेवी यादव प्राज्ञपरिषद् सदस्य भएर हाल काम गरिरहेकी छन् ।

महिला कलाकारका कलाकृतिहरू देशभित्रका विभिन्न संग्रहालय जस्तैः ललितकला संग्रहालय, पोखरा म्युजियम, आर्ट काउन्सिल लगायतका स्थानमा सुरक्षित साथ प्रदर्शीतसमेत भएका छन् । अन्तर्राष्ट्रिय संग्रहालयमा अमेरिका, बंगलादेश, चीन, बेल्जियम, भारत लगायतका विश्वका विभिन्न मुलुकमासमेत नेपाली महिला कलाकारले सिर्जना गरेका कलाकृतिहरू सुरक्षित साथ प्रदर्शित रहेका छन् । यी कलाकारका कामले नेपालको गौरवलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल भएका छन् । जुन नेपाली महिलाको ठूलो गौरव र प्रेरणाको श्रोत पनि हो । माथि उल्लेखित महिला कलाकारलगायत अन्य दर्जनौ कलाकारले आफ्ना कलाकृतिहरू बिक्री वितरण गरी सहज जीवनयापन गर्दै आएका छन् ।

जुन देशमा कलाको विकास भएको छ, त्यही देश नै विकसित राष्ट्रको सूचीमा दरिएको पाइन्छ । जस्तैः अमेरिका, क्यानडा, बेलायत, रुस लगायतका देशमा कलाकारको उच्च सम्मान गर्ने परम्परा रहेको छ । जहाँ विभिन्न देशका कलाकारहरूका कलाकृतिहरू संग्रह गरी अन्तर्राष्ट्रियस्तरको संग्रहालयहरू पनि बनाइएका छन् । प्रायः सबैजसो सरकारी, गैरसरकारी र व्यक्तिगत कार्यालय, एयरपोर्ट, घर, सभागृह, अस्पतालमा कलाकृति राख्न सरकारी तवरबाट नै अनिवार्य गरिएको छ । त्यस्तै, नीति नियमहरू नेपालमा पनि लागू हुन सकेमा त्यसले नेपाली कला क्षेत्रलाई निकै समृद्ध बनाउन सघाउ पु¥याउँदछ । जसमा महिला कलाकारहरूका कलाकृतिहरू अनिवार्य समेटिने नीति बनाइनुपर्दछ ।

आजभोलि, जनमानसमा कलाको महत्व बुझ्ने वातावरण निर्माण हुँदै गइरहेको छ । यसले गर्दा देशका उद्योगपति, राजनैतिक दलका नेता, समाजसेवी, बुद्धिजीवी, कर्मचारीले कलाकृति किन्ने र घर तथा भवन सजाउने प्रचलन सुरु भएको पाइन्छ । यसले गर्दा महिला कलाकारले नयाँ–नयाँ सिर्जना गरी अर्थोपार्जन गर्न सक्ने अवस्थाको विकास हुँदै गएको छ । महिला कलाकारले पनि आफ्ना दक्षता अभिवृद्धि गरी सिर्जनशील पक्षलाई खँदिलो बनाउन प्रयत्न गरिरहनु पर्दछ । साथै, अनवरत कला साधना गर्नुपर्दछ । महिलामा जुन कलात्मकता छ, त्यसलाई ललितकलाको माध्यमबाट उजागर गर्नु त्यत्तिकै महत्वपूर्ण छ ।

आजको विश्व जगत्मा कलाको महत्व एकदमै बढेर गएको पाइए तापनि नेपालका धेरै जिल्लामा कलाका बारेमा सूचना संचारको अभाव, कलाकार उपत्यका केन्द्रित हुनु, राज्यस्तरबाट पनि मोफसलमा कलाकार छैनन् भनी कार्यक्रमहरू नगर्ने अवस्था छ । यसले स्थानीयस्तरमा भएका प्रतिभाको क्षमताले विकसित हुने अवसर पाएको छैन । उनीहरूभित्रको सिर्जनशील पक्ष दिन प्रतिदिन मर्दै गएको अर्थात् मरिरहेको छ । अझै यसरी नै अगाडि बढ्ने हो भने नेपाली ललितकला इतिहासमा मात्र सीमित हुने अवस्थाको सिर्जना हुन सक्दछ ।

यसैलाई मध्यनजर गर्दै हाम्रा अग्रज महिला कलाकारलाई सम्मानका साथ देशका विभिन्न भागमा कला अभियान चलाउन अभिप्रेरित गरिनुपर्दछ । देशका कुना कन्दरामा सिर्जित ललितकलालाई मूलधारमा ल्याउनको लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सबै विभागले आफ्नो विभागका कार्यक्रमलाई विकेन्द्रित गरी विभिन्न जिल्लामा लैजाने प्रतिवद्धतासँगै काम पनि गरिनुपर्ने टड्कारो अवस्था हाम्रासामु देखापरेको छ ।

अन्त्यमा, नेपाली ललितकलाको विकासको लागि महिला कलाकारको भूमिका महत्वपूर्ण छ र हुने नै छ । तसर्थ महिला कलाकार ललितकलाका विभिन्न माध्यमसँग खेलिरहनुपर्ने वातावरणको सिर्जना गर्न राज्य र यससँग सम्बन्धित पक्ष घनिभूत रूपमा लाग्नुपर्दछ ।

प्रतिक्रिया