संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निमार्णाधिन अरुण तेस्रो परियोजनामा नेपाली कामदारहरूलाई चरम विभेद गर्ने र यातना दिने गरेको रहस्य खुलेको छ ।
‘नेपालीलाई भन्दा भारतीय श्रमिकलाई धेरै तलब र सुविधा दिइने गरेको खुलेको हो । नेपाली कामदारलाई यातना पनि दिने गरिएको गुनासो गरेका छन् । ९ सय मेगावाटको परियोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलजले नेपाली र भारतीय कमदारलाई एउटै काम तर फरक व्यवहार गरेको पाइएको हो ।
‘एउटा नेपाली कामदार एक दिन बिरामी भएर आएन भने पैसा काटिदिन्छ’, मकालु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष चमेली याम्फू राईले भनिन्, ‘नेपाली कामदारलाई हतोत्साहित गर्ने गरिएको छ ।’ सिंगो गाउँपालिका आयोजनाको प्रभावित क्षेत्र र वडा–३ र ५ मा बाँध क्षेत्र भए पनि स्थानीयलाई चरम विभेद गरी तनाब दिइएको राईले बताइन् ।
एउटा नेपाली इन्जिनियरको तलब ८० हजार मात्रै हुने तर सोही पदमा कार्यरत भारतीय इन्जिनियरको तलब भने २ लाखभन्दा धेरै रहेको राईले बताइन् । उनले भनिन्, ‘बिमामा पनि विभेद गरिएको छ । नेपालीलाई १५ लाख रुपैयाँसम्मको छ भने भारतीयलाई ३ करोडसम्मको बिमा गरिएको छ ।’
यता सोही आयोजनाका एक नेपाली कामदारले नाम नबताउने सर्तमा भने, ‘हामीले एक महिना काम गरेको पारिश्रमिक ८० हजार पाउँछौँ । तर, एउटै काम र एउटै पदको भारतीय कामदारले भने २ लाखभन्दा बढी लिन्छ, हामीलाई चरम विभेद छ ।’ उनले थपे, ‘हामीले कुनै बिल भरपाई पास गराउन महिनौँ कुर्नपर्छ । तर, भारतीय कामदारको बिल भरपाई पास गर्न केही दिन मात्रै लाग्छ ।’
आयोजनामा काम गर्ने जुनसुकै डिपार्टमेन्टमा नेपाली कर्मचारीलाई विभेद गर्ने गरिएको त्यहाँ कार्यरत कामदारले बताउने गरेका छन् । एउटै डिपार्टमा समेत एउटै पदमा भएका भारतीय र नेपाली कामदारको पारिश्रमिक नै फरक हुनुले समेत विभेद भएको स्पष्ट छ ।
हाल परियोजना क्षेत्रमा कार्यरत करिब २ हजार कामदारहरूमध्ये २ सय मात्रै स्थानीय र नेपाली कामदार छन्् । ‘तलबमा भेदभाव गर्ने, काममा समस्या देखाउने र कम तलब दिएर नेपाली कामदार नआऊन् भन्ने गरेकोे रणनीति जस्तो देखिन्छ’, गाउँपालिकाका कार्यवाहक अध्यक्ष राईले भनिन्, ‘काम गर्न आउने नेपालीलाई तनाब दिएर कामदारहरू जति सबै भारतीय ल्याएर श्रमको लगानी आफैँ उठाउने उद्देश्य देखिन्छ ।’
कामदराको सुरक्षा, बिमा, तलबदेखि व्यवहारमा स्थानीयमा धेरै विभेदमा परेको बताउँदै राईले आफूले यो कुरा प्रधानमन्त्रीसँग नै राख्ने बताइन् ।
कस्तो परियोजना हो अरुण तेस्रो ?
नेपालमा पञ्चायतकालमै चर्चामा आएर धेरै विवादपछि विवादित रूपमै भारतीय कम्पनीलाई निर्माण गर्न दिइएको विद्युत् आयोजनाको मेघा प्रोजेक्ट हो अरुण तेस्रो । ०४३ सालमा अरुण तेस्रोको चर्चा भएको थियो । तर, ०५१ सालमा आयोजना निर्माता हुन इच्छुक विश्व बैंकले यसबाट हात झिक्यो ।
विश्व बैंकले हात झिकेको दुई दशकपछि अरुण तेस्रो निर्माणको नयाँ सम्झौता भएको थियो । ०७१ मंसिर ९ मा नेपाल सरकार मातहतको लागानी बोर्ड र सतलज जलविद्युत् निगमका बीचमा ‘परियोजना विकास सम्झौता’ (पिडिए) भएको थियो ।
०७५ वैशाख २८ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले अरुण तेस्रोको डिजिटल शिल्यान्यास गरेका थिए । पञ्चायत र ०४६ सालको परिवर्तनपछि चर्चामा आएको अरुण तेस्रोको निर्माण ०७३ सालबाट तीव्र भएको हो । ०७३ सालको माघसम्ममा स्थानीयको मुआब्जा वितरणको कार्य सकिएपछि निर्माणकार्यले तीव्रता पाएको हो । सतलज जलविद्युत् निगम नामक विवादित भारतीय कम्पनीले यसको निर्माण गरिरहेको छ । भारतको संघीय सरकार र हिमाञ्चलको प्रादेशिक सरकारको साझेदारी कम्पनीको रूपमा खोलिएको सतलजको शतप्रतिशत लगानीमा अरुण तेस्रो बनिरहेको छ ।
१ खर्ब ४० अर्ब लागत अनुमान भएको यो परियोजना सन् २०२२ सम्ममा सम्पन्न हुने निर्माण कम्पनीको भनाइ छ । ९ सय मेगावाटमा १ सय ९७ मेगावाट बिजुली नेपालले सित्तैमा पाउने र २५ वर्षमा नेपाललाई हस्तान्तरण हुने सम्झौता रहेको छ । तर, आलोचकहरूले भने यस्ता आकर्षक परियोजना नेपाल आफैँले बनाउन सक्ने र नाफा आफँैले पाउन सक्नेमा परियोजना भारतलाई सुम्पेको भन्दै विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया