न चिकित्सक न औषधि

काभ्रे । घर छेउ सरकारी अस्पताल छ तर त्यो नेपाली उखान ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैँ भएको छ । सरकारी अस्पताल जहाँ बिरामीका लागि एम्बुलेन्स सञ्चालनमा छैन ।

जहाँ अस्पतालका लागि एक जना पनि सुरक्षा गार्ड छैनन् । सरकारले तोकेको ७० थरिका निःशुल्क औषधि पर्याप्त नहुँदा अस्पतालका बिरामी निजी क्लिनिकमा उपचार गराउन विवश छन् । जिल्लाको एक मात्र सरकारी अस्पतालको रूपमा सञ्चालित रहेको नमोबुद्ध नगरपालिका–४ मा रहेको मेथिनकोट अस्पतालमा औषधिको हाहाकार हुँदै आएको छ । सहज रूपमा उपलब्ध हुने सामान्य औषधिसमेत अस्पतालमा छैन ।

अस्पतालमा एक जना मेडिकल सुपरिटेन्ड हुनुपर्ने व्यवस्था रहेको छ । तर, ६ महिना अघि अस्पतालमा कार्यरत सुपरिटेन्ड मुक्तिराम श्रेष्ठले राजीनामा दिएर आन्दोलनमा गएपछि यो पद खालि रहेको छ । स्वास्थ्य विभागले यस आवका लागि अस्पताललाई २५ लाख औषधि खरिदमा छुट्याए पनि सुपरिटेन्डको अभावले उक्त रकम ल्याउन नसकिएको हेल्थ सहायक गंगा मरासिनीले जानकारी गराइन् । उनले भनिन्, ‘सुपरिटेन्ड हुनुहुन्न अरूलाई आर्थिक कारोबारका लागि अधिकार दिइएको छैन त्यसैले अस्पतालमा औषधी अभाव भएको हो ।’

प्राथामिक स्वास्थ्य केन्द्रबाट सञ्चालित जिल्लाको एक मात्र १५ शय्याको यो अस्पतालमा दैनिक ५० जनाको संख्यामा बिरामी आउने गरेको बताइन्छ । आइतबार र बिहीबार अस्पतालमा बिरामीको विशेष चाप भए पनि औषधि अभावका कारण चिकित्सकलाई काम गर्न त्यति उत्साह नआउने एक चिकित्सकले बताएका छन् ।

तीन जना डाक्टरहरूले ओभरटाइम गर्छन् तर पैसा पाउँदैनन् । एक जना डाक्टरले हप्तामा ४२ घण्टा सेवा दिनुपर्ने हुन्छ । त्यसले नपुगेर हामी सबैले मिलेर ओभरटाइम गर्छौं तर थप तलब केही पाउँदैनौँ स्कलरसीपअन्तर्गत करारमा रहेका डाक्टर शशिकुमार यादवले बताए । यादवले भने, ‘औषधिहरू कतिपय सकिसकेको छ, नगरपालिकाबाट ल्याउँदा पनि पर्याप्त पाइँदैन, अबको दुई महिना भित्रमा सबै औषधी सकिन्छन् । तर, त्यसका लागि केही तयारी कसैले पनि गरेका छैनन् ।’

२५ जनाको दरबन्दी भएको सो अस्पतालमा सात जना मात्रै कार्यरत छन् । त्यसमध्ये पनि केही करारका छन् । डा.निद्रीत बोहोरा, डा.लिसा यादव स्थायी हुन् भने शशिकुमार यादव र अस्मिता हुमागार्इं करारमा कार्यरत छन् ।

मेडिकल सुपरिडेन्ट एक जनाको दरबन्दी भए पनि श्रेष्ठ गएदेखि नै खाली छ । अस्पतालमा मेडिकल अधिकृत दुई, हेल्थ असिस्टेन्ट एक, नर्सिङ अधिकृत दुई, स्टाफ नर्स चार, अनमी तीन, अहेब दुई, ल्याब टेक्निसियन दुई, डार्क रुम असिस्टेन्ट एक, फार्मेसी एक, खरिदार एक, कार्यालय सहयोगी तीन, ड्राइभर एक, चौकिदार एक, मेडिकल अधिकृत करारमा दुई जना र चार जना डाक्टरमा एक जनाले मात्रै ड्युटी गर्दै आएका छन् । त्यस्तै तीन जना पारामेडिक्समा एक जना, दुई नर्सिङ अधिकृतमा एक, चार स्टाफनर्समा एक र अनमी एक जना मात्रै हाल कार्यरत छन् ।

अस्पतालमा प्रमुख व्यक्ति नै नहुँदा समयमा तलब आउँदैन । नगरपालिकाको स्वास्थ्य खानेपानी तथा सरसफाई समितिका संयोजकसमेत रहेका वडा–४ का वडाध्यक्ष उद्धवप्रसाद काफ्ले गरेको गत २ फागुनमा उक्त अस्पतालको अुनगमन गरेका थिए । अनुगमनका क्रममा अस्पतालमा कार्यरत चिकित्सकहरू हप्तामा एकपटक आएर हाजिरी गर्ने गरेको र कोही महिनौँ बिदामा बस्दै आएकाले भेटिएकाले तलब रोक्का गरेको बताउँदै आएका छन् ।

यता जिल्ला स्वास्थ्य प्रमुख नन्दराज अवस्थी भन्छन्, ‘प्राथामिक स्वास्थ्य केन्द्रहरू खोपासी, धुलिखेल, सुनथान, पाँचखालमा सञ्चालित छ त्यो मध्ये एक मात्रै १५ शय्याको अस्पताल हो मेथिनकोट अस्पताल, अहिले जिल्लाले गर्ने काम सबै स्थानीय निकायले गर्छ । काभ्रेको चौरिदेउराली गाउँपालिकाको धुसेनीमा अर्काे अस्पताल बन्ने प्रक्रिया सुरु गरिएको छ । सबै सरकारी स्वाथ्स्य संस्था प्रदेश सरकारको मातहतमा रहने भएकोले मेथिनकोट अस्पतालबारे पहिले नमोबुद्ध नगरपालिका जिम्मेवार हुनुपर्छ ।’

कुराकानी सिलसिलमा एक स्थानीयले भने, ‘गाउँमा अस्पताल छ भन्दा छ मात्रै भएको छ हामीलाई यो भएनभएको कुनै मतलब हुँदैन केही परे सिधै प्राइभेट र जिल्लाका अरू अस्पताल पुग्छौँ । यो हाम्रा लागि कागलाई बेल पाकेको उखान बराबर सावित हुँदै गएको छ ।’

प्रतिक्रिया