काठमाडौं । सिके राउतसँग केपी शर्मा ओली सरकारले राष्ट्रिय सभागृहमा आज गरेको सहमतिपत्र हस्ताक्षर भएसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र असन्तुष्टि देखिएको छ । स्वतन्त्र मधेसका लागि पृथकतावादी अभियान चलाइरहेका सिके राउतसँग सरकारले ११ बुँदे सहमतिपत्रमा हस्तक्षर गरेको छ ।
सरकारले शुक्रबार राउतको स्वतन्त्र मधेस गठबन्धनसँग ११ बुँदे सहमति गरेको हो । नेकपा स्रोतका अनुसार सिके राउतसँग भएको सहमतिमा नेताहरुले प्रश्न उठाएको बताइएको छ । सहमति गर्नभन्दा अगाडि नै पार्टी भित्र छलफल नभएको र जेलबाट छुट्ने बित्तिकै सहमति गरेर अदालतलाई प्रभावमा पारेको भन्दै नेकपाका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशपछि सिके राउत सेन्ट्रल जेलबाट रिहा भएका हुन् । सिके राउतसँग वार्ताका लागि प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलसहितका केही नेतालाई खटाएका थिए । तर, यस बारे भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाईसमेत केही अत्तो पत्तो नभएको बताइएको छ । यस सहमतिका बारे आफूलाई पूर्वजानकारी नभएको अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
प्रतिक्रिया