पेरिस । प्राणघातक एड्स रोगको एचआइभी भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरूले उनी माथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मंगलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिँदै छ ।
एचआइभी संक्रमित ती व्यक्तिलाई १० वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो । उनलाई ‘लन्डन बिरामी’ को उपनाम दिइएको छ । विगत १९ महिनादेखि उनको शरीरमा एचआइभी नपाइएको नेचर जर्नलमा समाचार छ । १० वर्षअघि पनि यस्तै एक व्यक्तिलाई रोगमुक्त भएको घोषणा गरिएको थियो ।
रगतको क्यान्सर उपचारका लागि बिरामीको हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण गरिएको थियो । एचआइभी संक्रमण नहोस् भन्नका लागि दाताबाट प्राप्त मूल कोषिका (स्टेम सेल्स) लाई पनि जेनेटिक उपचार गरिएको थियो ।
‘उपचार सफल देखिएकाले बर्लिन बिरामीको पनि सफल उपचार हुनेछ,’ क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर एवं मुख्य लेखक रवीन्द्र गुप्ताले भने । विश्वमा लाखौँ मानिस एचआइभीबाट पीडित छन् । लाखौँ बिरामीले एन्टिरेट्रोभाइरल थेरापी (एआरभी) औषधि सेवन गरिरहेका छन्, तर कुनै पनि बिरामी पूर्ण रूपमा निको हुन सकेका छैनन् ।
‘अहिले एचआइभीको उपचार गर्ने एक मात्र विधि औषधि सेवन मात्र हो । जसले भाइरसको फैलावटलाई रोक्ने काम गर्छ । उक्त औषधि बिरामीले आजीवन सेवन गर्नु पर्दछ’ गुप्ताले भने, ‘यसले विकासशील मुलुकहरूलाई ठूलै चुनौती सिर्जना गरिरहेको छ । यी देशमा अझै पनि धेरै मानिसले पर्याप्त उपचार प्राप्त गर्न सकेका छैनन् ।’
विश्वमा हाल करिब ३ करोड ७० लाख मानिसमा एचआइभी छ, तर करिब ५९ प्रतिशतले मात्र एआरभी सेवन गर्न पाएका छन् । एचआइभीसँग सम्बन्धित कारणहरूबाट हरेक वर्ष झण्डै १० लाख मानिसको मृत्यु हुने गरेको छ ।
एचआइभीकै स्वरूपमा एउटा नयाँ औषधि (प्रतिरोधी परिस्थिति सिर्जना भइरहेको वैज्ञानिकहरूको भनाइ छ । गुप्ता र उनको टोलीले हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण उपचार विधि एचआइभी उपचारका लागि उपयुक्त विकल्प नरहेको पनि बताएको छ । यो विधि निकै डरलाग्दो र पीडादायी हुने गर्दछ ।
तर, यो प्रत्यारोपणले विज्ञानिकहरूलाई उपचारमा नयाँ खोज गर्न र सानोभन्दा सानो विधिबाट बिरामीको उपचार गर्न सकिने बाटो देखाउने गुप्ताको भनाइ छ ।
प्रतिक्रिया