काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले सातौँ नेपाल फर्मा तथा हेल्थ एक्स्पोमार्फत सामाजिक अभियान सुरु गरेको छ । एक्स्पोमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मरणोपरान्त अंगदान अभियानको शुभारम्भ गरेका थिए ।
‘जिउँदोमा रक्तदान, मरेपछि अंगदान’ भन्ने मूल नाराका साथ सुरु गरिएको अभियानमा नौ सय बढीले मरणोपरान्त अंगदान फाराम भरी साथ दिएका हुन् । राजधानी बाहिर र सामाजिक अभियान स्वरूप पहिलोपटक आयोजना गरिएको हेल्थ एक्स्पोबाट आयोजकले १ हजारभन्दा बढीलाई मरणोपरान्त अंगदान गर्ने फारम भराउने लक्ष्य राखेको र सोही अनुसार नौ सय बढीले मरणोपरान्त अंगदान फाराम भरेका हुन् ।
पाँच सयले मन्जुरनामामा हस्ताक्षर गरेको भन्दै एक्स्पोका मिडिया कोअर्डिनेटर विप्लव अधिकारीले थप चार सयले अभियानलाई स्वीकार गर्दै फारम लिएर गएको बताए । उनले भने, ‘चार सय बढीले मन्जुरीका लागि फारम लिएर जानुभएको छ, आशा छ उहाँहरूबाट पनि हस्ताक्षर हुन्छ ।’
संघका अध्यक्ष दीपकप्रसाद दाहाल आफँैले अंगदान गर्ने फारम भरेर सामाजिक अभियानको सुरुआत गरेका थिए । सामाजिक अभियानसहित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ‘नेपाल फर्मा तथा हेल्थ एक्स्पो २०१९’ आइतबार सम्पन्न भएको छ । तीन दिने एक्स्पो ३० हजारभन्दा बढीले अवलोकन गरेको आयोजक नेपाल औषधि उत्पादक संघले जनाएको छ ।
एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागितामा औषधि उत्पादन र प्रविधिका क्षेत्रमा भएका विकास, उपलब्धि र नयाँ–नयाँ प्रविधिबारे जानकारी दिन पहिलोपटक काठमाडौं बाहिर आयोजित एक्स्पो पूर्णरूपले सफल भएको एक्स्पोका मिडिया संयोजक अधिकारीले बताए ।
सातौँ संस्करणको एक्स्पोमा स्वदेशी र विदेशी गरी दुई सय स्टल राखिएको थियो । एक्स्पोमा विभिन्न ३० बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय, १० चिनियाँ कम्पनीको सहभागिता रहेको थियो । हरेक दुई–दुई वर्षमा आयोजना हुँदै आएको एक्स्पो पहिलोपटक सामाजिक अभियानसहित राजधानी बाहिर गरिएको हो ।
एक्स्पोको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरेका थिए । एप्पोनका अध्यक्ष दाहालले स्वदेशमै उत्पादन भइरहेका र आत्मनिर्भर भइसकेका औषधिमा सरकारले आयात रोक लगाउनुपर्ने बताए ।
किन अंग दान ?
‘दान आफैँमा राम्रो हो, चाहे त्यो जेसुकै होस् । त्यसमा पनि मृत्युपछि खेर जाने अंग दान गर्दा धेरैको ज्यान जोगाउन सकिन्छ । यो असाध्यै पुण्यका काम पनि हो, जिउँदो रहँदा रगत दान गरेजस्तै मरिसकेपछि खरानी भएर जाने अंग पनि दान गरौँ’ भन्ने चेतना फैलाउन यो सामाजिक अभिघयान सुरु गरिएको अध्यक्ष दाहालले बताए ।
नेपालमा बर्सेनि एक हजार व्यक्तिले सडक दुर्घटनामा ज्यान गुमाउने भन्दै उनले भने, ‘जसको मस्तिष्क मृत्यु हुन्छ, उनीहरूको अंग दान गर्ने व्यवस्था गर्न सके बिरामीलाई बचाउन सकिन्छ भनेर यसमा लागेका हौँ ।’
कुन–कुन अंग दान दिन मिल्छ ?
मरणोपरान्त अंगदान गर्न मिल्छ, तर नेपालमा त्यसको व्यवस्था छैन । खरानी बनाएर सकिने अंगहरू अन्य कसैलाई दिँदा ज्यान बच्छ भने किन नदिने त ? मरणोपरान्त आठ अंग दान गर्न मिल्छ । कलेजो, दुई मृगौला, मुटु, छाला, दुई आँखा, सानो आन्द्रा मरणोपरान्त निकाल्न मिल्छ ।
मृत्युपछि छाला ६ घण्टाभित्र निकाल्न मिल्छ भने यदि शवलाई फ्रिजमा राखिएको छ भने २४ घण्टाभित्र दान गर्न पनि सकिन्छ । छालालाई विभिन्न जाँचपछि औषधिमा राखेर न्यून तापक्रममा पाँच वर्षसम्म भण्डारण गरेर राख्न पनि सकिने छाला विषेशज्ञहरू बताउँछन् ।
प्रतिक्रिया