माओ बाबुजस्तै : दलाई लामा

लन्डन, १२ असार । निर्वासित तिब्बती नेता दलाई लामा र आधुनिक चीनका संस्थापक नेता माओत्सेतुङ विपरीत धारको प्रतिनिधित्व गर्ने व्यक्ति हुन् । खासगरी चीनको स्वशासित क्षेत्र तिब्बतलाई हेर्ने दृष्टिकोणमा उनीहरूबीच आकाश र जमिनको फरक छ । हाल चीन अधीनस्त तिब्बत स्वतन्त्र मुलुक रहेको दलाई लामाको दाबी छ । तर, माओले भने तिब्बतलाई चीनको अविभाज्य क्षेत्र ठानेका मात्रै थिएनन्, उनकै पालामा चिनियाँ फौजले तिब्बतमाथि नियन्त्रणसमेत कायम गरेको थियो ।
यस्तोमा दलाई लामाले माओले आफूलाई छोराजस्तै मान्थे भन्ने सुन्नुभयो भने तपाईंंलाई आश्चर्य लाग्न सक्छ । सबैलाई चकित बनाउँदै दलाई लामाले आफूलाई माओले छोरोजस्तै ठान्ने गरेको खुलासा गरेका छन् । भारतीय समाचार ऐन्जेन्सी पिटिआईका अनुसार दलाई लामाले आइतबार यस्तो खुलासा गरेका हुन् । आफूले माओलाई बाबु मानेको उल्लेख गर्दै उनले माओले पनि आफूलाई छोरोलाई जस्तै गर्ने गरेको जनाएका छन् ।
बेलायत भ्रमणमा रहेका दलाई लामाले बिबिसीसँगको कुराकानीमा माओसँग आफ्नो ज्यादै राम्रो सम्बन्ध रहेकोसमेत खुलासा गरेका छन् । ‘मलाई उनी आफ्नै पिताजस्तै लाग्छ । उनी पनि मलाई छोरोजस्तै गर्थे । हामीबीच ज्यादै राम्रो सम्बन्ध थियो । राजकीय भोज भएका बेला अध्यक्ष माओले मलाई सधैँ आफ्नो छेउमा राख्नुहुन्थ्यो ।’
माओले भोजमा आफूलाई छेउमा राखेर सम्मान दिएको भए पनि आफूले अप्ठेरो महसुस गर्ने गरेको उनले बताए । ‘चिनियाँ संस्कृतिअनुसार अध्यक्ष माओले चपस्टिकले उठाएर आफ्नो भागको खानेकुरा मेरो प्लेटमा हालिदिनुहुन्थ्यो । त्यो ठूलो सम्मान थियो तर मलाई कताकता डर लाग्थ्यो । उहाँ असाध्यै खोक्नुहुन्थ्यो । नटुटाई चुरोट खाने उहाँको आदत थियो, त्यसैले कीटाणु सर्ने डर मलाई भइरहन्थ्यो,’ दलाई लामाले भने । माओकै आदेशमा चिनियाँ जनमुक्ति सेनाले सन् १९५९ मा तिब्बतमाथि नियन्त्रण कायम गरेपछि दलाई लामा तिब्बतबाट भागेर भारत पुगेका थिए । त्यसयता उनले भारतबाट निर्वासित तिब्बती सरकार चलाउँदै ‘स्वतन्त्रताको आन्दोलन’ को नेतृत्व गर्दै आएका छन् । (एजेन्सी)

प्रतिक्रिया