सबै डेन्टल क्लिनिक अवैध !

काठमाडौं । नेपाल डेन्टल एसोसियसन (एनडिए)ले देशका धेरैजसो डेन्टल क्लिनिक अवैध रूपमा सञ्चालन भइरहेको जनाएको छ । एनडिएद्वारा आयोजित अर्धवार्षीक कार्यक्रम –२०१९ को अवसरमा देशभरका शतप्रतिशत डेन्टल क्लिनिक अवैध रूपमा सञ्चालित रहेको तथ्य बाहिरिएको हो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. प्रविन्द्र अधिकारीले भने, ‘काठमाडौँ उपत्यकामा मात्र ६० प्रतिशत डेन्टल क्लिनिक अवैधानिक रूपमा सञ्चालित छन् । जसलाई मान्यता प्राप्त नभएका व्यक्तिले धमाधम यस्ता क्लिनिक खोलेर चलाइरहेका छन् । ’

यस विषयमा सम्वन्धित निकायले ध्यान दिनुपर्ने उनले बताए । साथै उनले देशभर सञ्चालित सबै डेन्टल क्लिनिकको जतिसक्दो चाडो निगरानी गर्न सरकारलाई आग्रह गरे ।

‘नेपाल मेडिकल काउन्सिलसंग अवैधानिक रूपमा सञ्चालित सबै क्लिनिकको रेकर्ड छैन । तर धेरैजसो दन्त चिकित्सकहरूले त्यस्ता क्लिनिकहरूमा काम गर्दै आएका छन, जुन अवैधानिक छन् ।’ अधिकारीले भने, ‘ त्यसैले सरकारले देशभर सञ्चालित सबै क्लिनिकको निगरानि राखी कानुनी दायरामा ल्याउनु पर्छ । सर्वसाधारणलाई गुणस्तरिय सेवा दिन सक्नुपर्छ । ’

कार्यक्रममा स्वास्थ्य मन्त्री सुरेन्द्रकुमार यादवले दन्त चिकित्सकको लागि डेन्टल क्लिनिक खोल्न निति नियम बनाउनुका साथै उनिहरूको लागि कोटा सिस्टम लागु गर्ने बताए ।

नेपाल मेडिकल काउन्सिलमा हालसम्म ३ हजार ५ सय जनाले सदस्यता लिएका छन् भने नेपाल डेन्टल एसोसियसनमा १ हजार ५ सय ४२ जना दन्त चिकित्सकको नाम दर्ता छ । नेपाल डेन्टल एसोसियसनका कार्यकारि सचिव खगेन्द्र भट्टराईका अनुसार काउन्सिलमा हालसम्म एउटा पनि क्लिनिक दर्ता गराइएको छैन ।

यसको निगरानी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राजस्व विभागले गर्नुपर्ने हो तर यि सरकारी निकायले गरेको वेवास्ताका कारण डेन्टल क्षेत्रमा मनपरि छाएको छ उनले तर्क गरे । उनले भने ‘सरकारी निकायले छानविन तथा निगरानीका लागी अग्रिम जानकारी दिन्छन्, अनि क्लिनिक मालिकले सटर बन्द गरेर बसिदिन्छन् ।’

नेपाल डेन्टल एसोसियसन एक गैरनाफामुखी संस्था हो । यसले दन्त चिकित्सा क्षेत्रका लागि सकारात्मक कामहरू गर्दै आएको छ ।

प्रतिक्रिया