धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली–कञ्चनपुरमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस वर्ष हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानको स्वरूप परिवर्तन गरी खुवाइने भएको हो ।
विगतमा स्वयम् सेविकाबाट औषधि खुवाउने अभियान सञ्चालन हुने गरिएकोमा यस वर्ष स्वास्थ्यकर्मीबाटै औषधि खुवाइने भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार यस वर्ष स्थानीय तहबाट अभियान सञ्चालन गरिनेछ ।
स्वास्थ्य निर्देशनालयका अनुसार १५ फागुनदेखि सञ्चालन हुने अभियान स्थानीय तहले १५ दिनसम्म सञ्चालन गर्नेछन् । विगतमा थोरै समय सञ्चालन हुने भएकाले औषधि सबै व्यक्तिले खाएको देखिएन त्यसैले यस वर्ष समयावधि थप गरिएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए ।
कैलाली–कञ्चनपुरमा १५ गते सबै स्थानीय तहले अभियानको शुभारम्भ गर्नेछन् र सबैले औषधि सेवन नगरेसम्म सञ्चालन गर्नेछन् । हात्तीपाइले रोग विरुद्धको औषधि वर्षको एकपटक गरी चार देखि ६ वर्षसम्म खुवाउनुपर्ने हुन्छ ।
सुदूरपश्चिम प्रदेशले यस वर्ष दुई जिल्लामा अभियानको निरन्तरता दिएको छ । अन्य सात जिल्लामा भने यस वर्ष अभियान सञ्चालन नहुने निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लामा सरकारले सन् २०१३ देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको थियो । औषधि खुवाउने कार्यक्रम पाँचौ चरण पुरा गरी छैठौं चरणमा प्रवेश गरिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा कार्यक्रमको उपलब्धी निराशाजनक देखिएको निर्देशनालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य सेवा विभागको टोलीले कात्तिकको तेस्रो साता सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लामा रगत परीक्षण गर्दा कैलाली र कञ्चनपुरमा हात्तीपाइले रोगको संक्रमण दर दुई प्रतिशतभन्दा बढी देखिएको थियो । डडेल्धुरा, अछाम, डोटी, बझाङ, बाजुरा, दार्चुला र बैतडीमा हात्तीपाइलेको संक्रमण दर दुई प्रतिशतभन्दा कम देखिएको थियो ।
कैलालीमा सन् २००१ को तुलनामा संक्रमण दर बृद्धि भएको देखिएको थियो । सन् २००१ मा कैलालीमा छ प्रतिशत संक्रमण दर रहेकोमा सो समयमा गरिएको अध्ययन अनुसार छ दशमलव ३३ प्रतिशत रहेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १०, ११ र १२ (साविकको पहलमानपुर गाविस) र लम्की नगरपालिकाको वडा नम्बर ६, ८ र १० (साविकको चुहा गाविस) का छ सय जनाको रक्त परीक्षण गर्दा ३८ जना अर्थात् छ दशमलव ३३ प्रतिशतमा हात्तीपाइले पोजेटिभ देखिएको तथ्यांकमा उल्लेख छ ।
परीक्षणले कञ्चनपुरमा सन् २००१ को तथ्यांकअनुसार हात्तीपाइलेको संक्रमण दर २० प्रतिशत थियो भने सो समयमा गरिएको सर्वेक्षणले संक्रमण दरमा सुधार भएको देखाएको छ । कञ्चनपुरमा अहिले दुई दशमलव आठ प्रतिशत संक्रमण दर रहेको छ ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले हात्तीपाइले विरुद्धको औषधिबारे विभिन्न खालका गलत प्रचार गरिएका कारण पनि औषधि सेवन कार्यक्रम अपेक्षा गरेअनुरूप उपलब्धीमूलक हुन नसकेको बताए ।
प्रतिक्रिया