अस्पताल नै गर्छ स्वास्थ्य केन्द्रमा रेफर

संखुवासभा । चिचिला गाउँपालिकाकी एक महिला सुरक्षित गर्भपतनका लागि संखुवासभाको जिल्ला अस्पताल खाँदबारी पुगिन् । तर, दक्षचिकित्सक नभएको भन्दै उनलाई जिल्ला अस्पतालले चैनपुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रेफर गरिदियो ।

ती महिलालाई गर्भपतन गराउन ‘गाउँको स्वास्थ्यचौकीबाट जिल्ला अस्पताल पठाएको थियो । तर, जिल्ला अस्पतालले पनि चैनपुर वा मकालु गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पो जानु भनिदियो’, उनका पतिले भने, । तर उनीहरूका लागि मकालु गाउँपालिका र चैनपुर नगरपालिका पनि टाढा छ ।

‘गाउँबाट जिल्ला अस्पतालमा राम्रो सुविधा छ भन्दै स्वास्थ्यचौकीले पठाइदियो,’ उनले भने, ‘तर, त्यहाँबाट अझै दुई दिन समय खर्चिएर चैनपुर जानुपर्ने बाध्यता आइप¥यो ।’ खाँदबारीसम्मलाई पुग्ने मात्रै खर्च लिएर आएका उनीहरू कसरी चैनपुर पुग्ने भनेर छटपटाइरहेका थिए । उनीहरू भन्दै थिए, ‘अब घर पुगेर आउँदा खर्च तेब्बर हुने भयो ।’

अनुभवी एवं विशेषज्ञ चिकित्सक रहेको आशमा आए पनि जिल्लाकै ठूलो अस्पतालले सानो र कम अनुभवी स्वास्थ्यकर्मी हुने स्वास्थ्य संस्थामा रेफर गरिदिएपछि थप तनाव भएको सञ्चमायाले बताइन् । अस्पतालले केही समयदेखि गर्भपतनको सेवा नभएको जानकारी दिएको छ । जिल्ला अस्पतालजस्तो ठूलो स्वास्थ्य संस्थामा यति सानो स्वास्थ्य सुविधा पनि छैन भन्ने कुरा आफूलाई नलागेको उनको भनाइ छ । १२ हप्ताको गर्भपन गराउन ठूलो अस्पतालको सेवा छाडेर उनी प्राथमिक केन्द्रमा पुग्नुपर्दा तनावमा छिन् ।

जिल्ला अस्पतालले साना स्वास्थ्य संस्थामा रेफर गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, दक्षचिकित्सक नभएको भन्दै अस्पतालले दुई महिनायता गर्भपतनका लागि प्राथमिक स्वास्थ्य केन्द्रलगायत स्वास्थ्य संस्थामा रेफर गरिरहेको छ । उपचार तथा स्वास्थ्य परीक्षणका लागि पुग्ने बिरामीले पनि प्रभावकारी उपचार पाउन सकेका छैनन् । जिल्ला अस्पतालमा तालिमप्राप्त दक्ष चिकित्सक नभएका कारण १० हप्ताभन्दा माथिकालाई सुरक्षित गर्भपतनका लागि रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. लक्ष्मण खड्काले बताए ।

जिल्ला अस्पतालमा सुरक्षित गर्भपतनको सेवा दिँदै आएका डा. युवराज बस्नेतको सुरुवा भएपछि दुई महिनादेखि यस्तो अवस्था आएको खड्काको भनाइ छ । जिल्ला अस्पतालसहित संखुवासभाका ११ वटा स्वास्थ्य संस्थामा निःशुल्क सुरक्षित गर्भपतन सेवा सञ्चालनमा छ ।

प्रतिक्रिया