रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाअन्तर्गत रहेका हेल्थपोस्टहरूमा निःशुल्क पाइने औषधिको चरम अभाव भएको छ ।
यस नगरपालिकाका सन्तपुर दोस्तिया, शीतलपुर, टेंग्राहा, विजयपुर लक्ष्मीनिया र दुधियाबामा रहेको स्वास्थ्य चौकीमा सरकारद्वारा निःशुल्क पाइने औषधि पाइनै छाडेको स्थानीयहरूले बताएका छन् ।
सरकारले ३६ प्रकारका औषधि नागरिकले निःशुल्क पाउनुपर्ने व्यवस्था गरेको छ । तर, फतुवा विजयपुर नपाको हेल्थपोस्टहरूमा निःशुल्क पाइने सिटामोल, मेट्रोन, जीवनजल लगायतका औषधिको अभाव भएको छ । स्वास्थ्यचौकीहरूमा औषधि सकिएपछि यहाँका नागरिकहरूलाई समस्या भएको छ । स्वास्थ्यचौकीमा औषधि सकेर औषधि लिन स्वास्थ्यचौकीमा जाने स्थानीयहरू औषधि नलिकनै रित्तै हाथ फर्कन बाध्य भएका छन् ।
औषधि अभावको कारणले यहाँका स्थानीयहरूलाई बिरामी पर्दा औषधि उपचारको लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ । सम्बन्धित निकायले औषधि उपलब्ध नगराउँदा औषधिको अभाव भएको हेल्थपोस्टका इन्चार्जहरूले बताएका छन् । आफूहरू नगरपालिकामा औषधि सकेको कुराको जानकारी पटकपटक गराए पनि नगरपालिकाले कुनै चासो नदेखाएको इन्चार्जहरूले बताए ।
यस्ता समस्या फतुवा विजयपुरमा मात्रै होइन जिल्लाका प्रायः सबै हेल्थपोस्टमा सरकारले उपलब्ध गराउने निःशुल्क औषधिको अभाव देखिएको छ । लामो समयदेखि औषधिको अभाव रहे पनि सम्बन्धित निकायले यस विषयमा चासो नदेखाएकोले आफूहरू गाउँमा निःशुल्क स्वास्थ्य उपचार गराउनबाट वञ्चित भएको स्थानीयहरूले गुनासो गरेका छन् । स्वास्थ्यचौकीमा निःशुल्क औषधि नपाएपछि स्थानीय नागरिकले निजी औषधि पसलमा चर्को मूल्य तिरेर औषधि किन्न बाध्य छन् ।
प्रतिक्रिया