लादेनको घरमा बाइबल

इस्लामावाद, १८ फागुन । इसाइ साम्राज्यविरुद्ध जिहाद छेडेका अलकायदाका पूर्व नेता ओसामा बिन लादेनको घरमा बाइबल थियो भन्ने सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, पाकिस्तानको एबोट्टावाद सहरमा वर्षांसम्म लादेनले आश्रय लिएको एउटा घरमा दुईवटा बाइबल फेला परेको छ । गत वर्ष अमेरिकी सेनाको विशेष टोलीले सोही घरलाई घेरा हाली कारबाही गर्दा लादेनको मृत्यु भएको थियो ।
लादेनको मृत्युपछि उनले आश्रय लिएको घर  भ्रमण गर्न जाने मानिस बढेका थिए । यही क्रम जारी रहने हो भने उक्त घर लादेनका समर्थकहरूका लागि तीर्थस्थल बन्न सक्ने सम्भावना देखेर केही दिनअघि पाकिस्तानी सेनाले घर भत्काएको थियो । घर भत्काउँने क्रममा बाइबलका दुईप्रति फेला परेका हुन् । बाइबलभित्र भविष्यमा गरिने आतङ्कवादी हमलाको फेहरिस्त साङ्केतिक भाषामा लेखिएको बताइएको छ ।
अङ्ग्रेजी भाषाको बाइबलका धेरै पाना ‘फोल्ड’ गरिएका छन् । कतिपय अक्षरमा मार्करले कोरिएको छ । पाकिस्तानी गुप्तचर निकाय आइएसआईले बाइबलमा थप नयाँ कुरा भेटिन्छ कि भनी गहन अध्ययन गरिरहेको छ । बाइबलका कतिपय पानामा विभिन्न सङ्केत कोरिएका छन् । विगतमा गरिएका र आगामी दिनमा गरिने अलकायदाका क्रियाकलाप साङ्केतिक भाषामा लिपिबद्ध गरिएको हुनसक्ने पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआईका अधिकारीहरूको आशङ्का छ ।
लादेनको घरमा फेला परेका बाइबललाई के
गरिन्छ भन्ने जिज्ञासा राख्दा पाकिस्तानका आन्तरिक मन्त्री रेहमान मल्लिकले भने, ‘लादेनको कुनै
पनि सामाग्री अरूलाई दिइने छैन । प्रयोजन समाप्त भएपछि जलाइनेछ । बाइबल फेला परेको रहेछ भने कुनै पुस्तकालय अथवा चर्चको जिम्मा लगाउन सकिन्छ ।’ (मिरर)

प्रतिक्रिया